बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि भारतमा दुई जनाले उनको नाम लिएर आत्महत्या गरेका छन्।
मध्य प्रदेशको सागर जिल्लास्थित खुरईकी २० वर्षीय एक युवती र उत्तर प्रदेशको बरेलीमा कक्षा १० मा अध्ययनरत छात्रले सुशान्तको नाममा आत्महत्या गरेका हुन्।
युवतीले फासीमा झुण्डिनुभन्दा केही घण्टा अगाडि ‘म पनि सुशान्तसिंह राजपूतजस्तै फासी लगाउनेछु’ भनेकी थिइन्। उनले किन आत्महत्या गरिन भन्ने खुलेको छैन। घरमा भाउजुसँग विवाद भएको बताइएको छ। खुरई थानाका एसआई सुरभि बिलथरेले फासी लगाएर मृत्यु भएकी युवतीबारे जाँच सुरु गरिएको बताए। शव पोस्टमार्टमका लागि पठाइएको छ।
यता बरेलीका छात्रले भने टेलिभिजनमा सुशान्तको आत्महत्याको खबर सुनेर फासी लगाएर आफ्नो ज्यान दिए। छात्रले सुसाइड नोटमा ‘अभिनेता सुशान्त सिंह आत्महत्या गर्न सक्छन भने म किन सक्दिन?’ भनेर लेखेका थिए।
उनले सुसाइड नोटमा आफूमा तेस्रो लिंगीजस्तो लक्षण देखिएको र अनुहार पनि महिलाजस्तो देखिन लागेको र यसै कारण मानिसहरुले आफ्नो मजाक उडाउँदै आएका थिए भन्ने पनि लेखेका छन्।
बलिउडका उम्दा अभिनेता सुशान्त सिंह राजपुतको ३४ वर्षको उमेरमा आइतवार निधन भएको थियो। उनले घरमै आत्महत्या गरेका थिए।