
काठमाडौं : दाङको घोरहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनीहरुको स्वाब परीक्षण गर्दा शुक्रवार संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि २ दिनका लागि अस्पतालको आकस्मिकलगायत सबै सेवा बन्द हुने बताइएको छ। अस्पताल परिसर ‘स्टेरिलाइज’ गर्न सेवा बन्द गरिएको प्रतिष्ठानको भनाइ छ।
त्यस्तै, प्रतिष्ठानले त्यहाँबाट रिफर गरिएका बिरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गर्न सम्बन्धित सरकारी तथा निजी अस्पतालहरुलाई आग्रह गरेको छ। संक्रमण पुष्टि भएका सबै जना प्रतिष्ठानको सम्पर्कमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।