PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संकल्प प्रस्ताव छलफलका लागि अघि नबढाएको भन्दै कांग्रेसले गर्‍यो प्रदेश सभा बैठक अवरोध



पी बी खड्का

संकल्प प्रस्ताव छलफलका लागि अघि नबढाएको भन्दै कांग्रेसले गर्‍यो प्रदेश सभा बैठक अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभा बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध गरेको छ। प्रदेश सभाका पदाधिकारी, सदस्य तथा प्रदेश सरकारका पदाधिकारीहरुले लिँदै आएको सवारी साधनको सुविधा फिर्ता गरेर कोरोना भाइरस नियन्त्रणमा प्रयोग गर्ने विषयको सार्वजनिक महत्वको संकल्प प्रस्ताव संसदमा  छलफलका लागि अघि नबढाइएको भन्दै शुक्रवार बसेको संसद बैठक कांग्रेसले अवरुद्ध गरेको हो।

संसदमा कोरोना महामारी सामान्य अवस्थामा नर्फकने बेलासम्म फजुल खर्च नगरी कोरोना नियन्त्रणको काममा प्रयोग गर्नु पर्ने भन्दै १७ बुँदे संकल्प प्रस्ताव दर्ता भएको थियो। प्रमुख प्रतिपक्ष दल कांग्रेसका ६ जना सांसदले संसद सचिवालयमा दर्ता गराएको सार्वजनिक महत्वको संकल्प प्रस्ताव कार्यव्यवस्था परामर्श समितिले संसदमा छलफलका लागि नलगेको भन्दै प्रतिपक्ष कांग्रेसका सांसदले बैठकमा उठेर अवरोध गरेका हुन्।

प्रतिपक्ष दलका सचेतक हिमबहादुर शाहीले छलफलका लागि अघि नबढाएसम्म संसद अघि बढ्न नसक्ने भन्दै विरोध गरेका थिए।

प्रतिपक्षले उठेर संसद अवरोध गरेपछि सभामुख राजबहादुर शाहीले पटकपटक बस्नका लागि अनुरोध गरे। सभामुख शाहीले प्राविधिक हिसाबमा पुनर्लेखन गर्नुपर्ने भन्दै सांसदलाई बस्न आग्रह गरेका थिए।

त्यसलगत्तै सचेतक शाहीले पुनर्लेखन गर्नुपर्ने भनेर प्रदेश सभाको कुनै पनि नियमावली नभएको उल्लेख गरे।

‘सिंगो कर्णालीका जनताको हितका लागि रोगबाट ग्रस्त रहेको अवस्थामा, कोरोनाले थिलोथिलो बनाएको अवस्थामा सरकारको ध्यानाकर्षण गराएका थियौँ’, उनले भने, ‘सरकारको ध्यानाकर्षण गराउनु के हामीले अपराध गरेका हौँ? सरकारलाई अन्तरघात गरेका हौँ?’ उनले प्रश्न गरे। 

उनले थपे, ‘जनताको हितमा ल्याएको सार्वजनिक महत्वको प्रस्ताव दुई तिहाई सरकारको उन्मादले प्रस्ताव हटाइन्छ भने संसद चल्न सक्दैन।’

कोरोना संकटको बेला फजुल खर्च कटौती गरी दोहोरो खर्चमा कमी गर्न र आर्थिक मितव्ययिताका लागि प्रदेश सभा नियमावली–२०७४ को नियम ८४ बमोजिम संकल्प प्रस्ताव दर्ता गराएको कांग्रेसको भनाइ छ। बलजफ्ती गरेर सत्ता पक्षले संकल्प प्रस्तावको भु्रण हत्या गरेको कांग्रेसको आरोप छ।

संसद बैठक शनिवार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell