PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्पताललाई ‘रिफर सेन्टर’को पहिचानबाट ‘रिङ आउट’ गरेका बक्सर जोशीको प्रेरणादायी जोश



कमलराज भट्ट

अस्पताललाई ‘रिफर सेन्टर’को पहिचानबाट ‘रिङ आउट’ गरेका बक्सर जोशीको प्रेरणादायी जोश

कञ्चनपुरमा लोकप्रिय छ रामायणमा आधारित ‘रामलीला’ महोत्सव। महोत्सवमा नाटक देखाइन्छ। कोही मर्यादा पुरुष रामको रुपमा देखिन्छन् कोही रावणको। रामायणका अर्का महत्वपूर्ण पात्र ‘हनुमान’का रुपमा भने केही वर्ष यता खुब रुचाइएका छन् कृष्णदत्त जोशी।

केही वर्ष अघिसम्म 'बक्सर'को नामले चिनिन्थे उनी। अब उपनाम थपिएको छ। कसैका लागि 'हनुमान’ दाइ। कसैका लागि हनुमान भाइ। धेरैले त ‘बक्सर हनुमान’ नै भनेर सम्बोधन गर्छन् उनलाई।

रामायणमका अनुसार, त्रेता युगमा शक्ति वाणबाट बेहोस भएका लक्ष्मणलाई बचाउन हनुमानले पर्वत नै उठाएका थिए, सञ्जीवनी बुटीका लागि। जुन बुटी लक्ष्मणको जीवन रक्षाको औषधी थियो। त्यही घटनाका कारण आज पनि हनुमानको चर्चा छ।

उस्तै, चर्चा कलियुगमा मञ्चन भइरहेको रामलीलाका 'हनुमान' कृष्णदत्तको पनि।

+++

संसारभर कोरोना भाइरसको महामारी छ। महामारीका बीच कञ्चनपुरका नागरिकलाई सुरक्षित राख्ने, सुविधा दिने भूमिका तथा जिम्मेवारीमा छन् कृष्णदत्त, महाकाली उपप्रादेशिक अस्पतालको अध्यक्षको रुपमा। जिम्मेवारी यसरी निभाइरहेका छन् कि अस्पतालमा सेवा लिन आउनेदेखि अन्यले उनलाई हनुमान पात्रसँग तुलना गरेका छन्। अस्पतालमा उपलब्ध उपचार सेवालाई सञ्जीवनी बुटीका रुपमा प्रशंसा गरेका छन्।

कृष्णदत्त खेलाडी पनि हुन्। सुरुमा कबड्डी खेल्ने उनी बक्सिङका राष्ट्रिय खेलाडी। ४ पटक नेशनल गेम खेले। अन्तर्राष्ट्रिय क्याम्पसम्म पुगेर बाहिरिए। सुदूरपश्चिममा उनको परिचय बन्यो रिङमा फाइट खेल्ने मुक्केबाज।

कृष्णले १८ वर्ष त शिक्षण पेशामा बिताए। करिव २ हजार विद्यार्थीलाई पढाएका छन् उनले। नेकपा निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन सुदूरपश्चिमका इन्चार्ज समेत रहिसकेका उनी प्रदेशको खेलकुदको सदस्य सचिव बन्न चाहन्थे। तर, उनलाई पार्टीले स्वास्थ्य क्षेत्रको जिम्मा दियो। उनले गत वर्षको साउनमा महाकाली अस्पतालको जिम्मेवारी पाए।

'वैज्ञानिक ढंगले पार्टीले खेलकुदकै जिम्मेवारी दिनुपर्छ भन्ने मेरो भनाई थियो। तर, लेखराज भट्टजीले अहिले यहीँ जिम्मा लिनुस् भन्नुभयो। फरक क्षेत्र भएपछि चुनौतीलाई स्वीकार गरें,' उनी भन्छन्।

सुरुमा जिम्मेवारी लिँदा कठिन नलागेको होइन। ‘शिक्षा क्षेत्रको मान्छे। अध्ययन तथा अनुभव थिएन। स्वास्थ्यको जिम्मेवारी दिँदा सुरुमा गाह्रो लागेको थियो,’ उनी सम्झिन्छन्।

सुरुमा अस्पताल जाँदा रिफर सेन्टरजस्तो महसुस भएको थियो उनलाई। बिरामीको उपचार कम रिफर ज्यादा हुने। मेडिकल माफियाको कमाई खाने भाँडोमात्र भएको पत्ता लगाउन समय लागेन। तर जिम्मेवारीले पुर्‍याएको ठाउँलाई स्वीकारे र सुधारको लक्ष्यसहित अघि बढे।

त्यसैबीच हो कोरोना भाइरसको महामारी सुरु भएको। जसले उनको योजनामा धक्का त पुर्‍यायो नै साथसाथै अवसरका थप ढोकारु पनि खुल्यो।

विगतमा रिङमा लड्ने उनी कोरोना भाइरसविरुद्धको लडाईको मैदानमा अग्रपंक्तिमा छन्। जुन जोश हिम्मत र साहसका साथ उनी बक्सिङ रिङमा लड्थे त्यहीँ स्पिरिटमा उनी कोरोनाविरुद्ध लडिरहेका छन्।

५० बेडको प्रिफ्याक्स भवन

कोरोनाविरुद्धको लडाईंमा बक्सर जोशीको नेतृत्वमा ५० बेडको प्रिफ्याक्स भवन निर्माण गरिएको छ। जसलाई कोरोना विशेष अस्पतालका रुपमा विकास गरिनेछ। सुदूरपश्चिम प्रदेश सरकारको एक करोड बजेटमा डेढ महिनामा ५ कोठा र हलसहितको ५० बेड बराबरको भवन निर्माण गरिएको हो। जसमा कोरोनाका विरामी राख्ने तयारी छ। अहिले अस्पतालमा ४७ जना संक्रमित आइसोलेसन वार्डमा छन्। नयाँ भवन निर्माणसँगै अब अस्पतालको आइसोलेसन क्षमता सय जना पुगेको छ।

जोशीका अनुसार सुरुमा प्रदेश सरकारले सेती प्रादेशिक अस्पताल र अछामको अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने भन्यो। अरुलाई क्लिनिकल अस्पताल भनियो। क्लिनिक भनिएपछि सुरुवाती चरणमा खासै तयारी गरिएन। तर, जब विरामी बढ्न थाले प्रदेश स्वास्थ्य निर्देशनालयले महाकाली अस्पताललाई तयारी गर्न भन्यो। सेतीको आइसोलेसनमा ठाउँ नहुने भएकाले कञ्चनपुरका विरामी महाकालीमै राख्नेगरी तयारी गर्न निर्देशन आयो। सुरुमा अस्पतालको पोषणगृहलाई आइसोलेसन बनाइयो। पछि प्रदेश सरकारको बजेटमा भवन बन्यो।

कोरोना विशेष अस्पतालका लागि डाक्टरदेखि कर्मचारीसम्म २१ जना जनशक्ति खटिएका छन्।

विरामी बढे सञ्चालनमा नरहेको निजीस्तरको सेफर अस्पतालको भवन, सय बेडको अनमी भवनलाई आइसोलेसन बनाउने बक्सर जोशीको योजना छ। आइसोलेसनका लागि जनशक्ति भीमदत्त नगरपालिकाले सहयोग गर्नेछ।

पीसीआर मेसिनका लागि पहल

महाकाली उपप्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमण परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याउन पहल भइरहेको छ। जिल्लाका सबै सरोकारवाला मेसिन खरिदका लागि कस्सिएका छन्। भीमदत्त नगरपालिकाले नेतृत्वदायी भूमिका खेलेको बक्सर जोशी बताउँछन्।

‘किट र जनशक्तिमा स्थानीय र प्रदेश सरकारले आर्थिक सहयोग गर्ने कुरो छ,’ उनले भने, ‘संघीय सरकारबाट उद्योगमन्त्री लेखराज भट्टले अन्य उपकरण सहयोग गर्ने भन्नुभएको छ। मेसिनबाहेक अन्य उपकरणकै डेढ करोड पर्छ।’

महाकालीमा एक दिनमा २ सय स्याम्पल परीक्षण क्षमताको मेसिन ल्याउने तयारी छ। जसको मूल्य ६० लाखसम्म पर्छ। पीसीआर मेसिनलाई ७ वटा नगरपालिका र २ वटा गाउँपालिकाको संयुक्त कोष बनाएर सञ्चालन गर्ने निर्णय सर्वदलीय बैठकबाट भइसकेको छ।

अस्पतालमा सुधारको प्रयास

बक्सर जोशी आउँदा अस्पतालमा डाक्टर नआउने र आए पनि नटिक्ने समस्या थियो। उपकरणहरु थिएनन्। भएका पनि काम नलाग्ने भइसकेका थिए। भौतिक संरचनाको पनि अभाव। आधुनिक सुविधाको त कुरै भएन। अस्पताल निरन्तर खस्किँदै गएको थियो। आम नागरिकको विश्वास गुमाउँदै गएको थियो। यसलाई जगाउने प्रयासमा छन् बक्सर जोशी। उनले सुधारको सुरुवात जनशक्ति व्यवस्थापनबाटै गरे। अस्पतालमा उनले इन्ट्री गर्दा एकजना मात्र डाक्टर थिए।

२०२४ सालमा खुलेको अस्पतालमा ५३ वर्षयता एनएसएसीसीए (अर्थो) डाक्टर थिएनन्। उनले ल्याए। प्याथोलोजिस्ट पनि ल्याएका छन्। सर्जन र फिजिसियन कोरोना महामारी तथा लकडाउनले आउन पाएका छैन। अर्को महिनासम्म आइपुग्ने विश्वास छ।

‘अस्पतालमा डाक्टर बस्यो भने मेडिकल नचल्ने। डाक्टर बस्न नदिन चलखेलहरु हुन्थे। सुधारको अहिलेको अवस्थामा पुग्न सबैले सहयोग गरेका छन्,’ उनले भने।

अस्पतालमा २८ जना डाक्टरको दरबन्दी छ। एक वर्षे कार्यकालमा बक्सरले २० जना डाक्टर ल्याएका छन्।

‘मेरो कार्यकालमा अस्पतालले डाक्टरमा पूर्णता पाउँछ। सर्जन, फिजिसियन आउँदैछन्। ११ औं तहको मेसु पनि ल्याउन प्रयासरत छु,’ उनले भने।

+++

जोशीले उपकरण व्यवस्थापनलाई पनि महत्व दिएका छन्। उनका अनुसार अस्पतालमा एसडीयू सञ्चालन भइसकेको छ। भेन्टिलेटर आएपछि आइसीयू सञ्चालनमा आउनेछ।

हाल पोस्टमार्टमका लागि आउने शव राख्ने गृहमा मर्करी च्याम्बर सञ्चालनमा ल्याइएको छ। जसका कारण महिनौं राखिने शव पनि सुरक्षित रहन्छन्।

तर, उपकरण ल्याउँदा झेल्नुपरेको झन्झटिलो प्रक्रिया, सरकारी ढिलासुस्तीले पनि उनी चिन्तित छन्। ‘निजी अस्पतालले तुरुन्तै ल्याउन सक्छ। सरकारी प्रक्रिया लामो र झन्झटिलो भयो। एउटै मेसिन ल्याउन तीन महिना लाग्ने स्थिति छ। काम गर्न सकिँदैन कि भन्ने चिन्ता लाग्छ,’ उनी भन्छन्।

निकट भविष्यमा इण्डस्कोपी, सिटी स्क्यानजस्ता सुविधा सम्पन्न उपकरण सञ्चालनमा ल्याउने उनको योजना छ।

महाकालीमा पहिला सर्पदंशका विरामी भारत र धनगढी रिफर हुन्थे। भारत लैजाँदा बाटोमै वित्ने सम्भावना धेरै हुन्थ्यो। तर, अहिले महाकालीमै सफल उपचार भइरहेको छ, त्यो पनि ७ हजार रुपैयाँमै।

महाकाली अस्पतालमा ४ करोडको ३ तले नयाँ भवन पनि ‘मास्टर प्लान’मा छ। जसमा आकस्मिकदेखि अपरेशन थियटरसम्म सञ्चालनमा आउनेछ। कर्मचारीलाई छात्रावासको व्यवस्था, तालिम पनि दिने तयारी छ।

+++

यति हुँदाहुँदै पनि आफ्नो कामप्रति उनी सन्तुष्ट छैनन्। ‘जति सोचेको त्यति गर्न सकेको छैन। यसमा प्राविधिक कारण र सरकारी ढिलासुस्ती कारक छन्,’ उनले भने।

उनको प्रयासलाई प्रशासनदेखि नागरिक समाजसम्म सबै पक्षले सहयोग गरेका छन्। भित्र कर्मचारीले पनि साथ दिएका छन्। उनी भन्छन्, ‘सिस्टम बसाउने प्रयासमा छु। अस्पतालले एउटा गति लिएको छ।’

उनी आउनुभन्दा पहिला व्यवस्थापन समिति ऋणमा थियो। अहिले अस्पतालको सेवा बढेपछि आम्दानी बढ्यो अनि समितिको कोषमा ३५ लाख रुपैयाँसम्म जम्मा भएको छ। यो पैसा जनशक्ति र विरामीको मनोबल बढाउनेतर्फ खर्च गर्ने बताउँछन् उनी।

‘६० प्रतिशत विरामी रिफर हुन्थे। भारत, धनगढी र कोहलपुर जान्थे,’ अध्यक्ष जोशी भन्छन्, ‘६० मध्ये ४० प्रतिशतको अस्पतालमै उपचार हुन थालेको छ।’

सुधारका प्रयासअन्तर्गत एक्स-रे मेसिन नयाँ ल्याएको छ। पहिला १२ घण्टामात्रै एक्सरे सेवा भएकामा अब २४ घण्टा नै सञ्चालनमा छ। अल्ट्रासाउण्ड हप्तामा दुई दिन हुने गरेकोमा अब ६ दिन सञ्चालन हुन थालेको छ। ल्याब २४ सै घण्टा सञ्चालनमा आएको छ।

त्यस्तै आफ्नो ड्युटी सकिएपछि बाहिर क्‍लिनिकमा काम गर्ने डाक्टरले अब अस्पतालमै ओभरटाइम गर्न पाउने भएका छन्। यसका लागि उनीहरुले थप पारिश्रमिक पाउनेछन्। डाक्टरहरुको मनोबल बढाउन अतिरिक्त सुविधा पनि दिइरहेको अध्यक्ष जोशी बताउँछन्।

बक्सिङ रिङको अनुभूति

बक्सिङका राष्ट्रिय खेलाडी जोशी कुनै काममा साहस र आत्मविश्वास चाहिने बताउँछन्। प्रतिद्वन्द्वीलाई कमजोर ठान्यो भने सुरुमै रिङआउट हुने उनको अनुभव छ।

जोशीले २०४७ सालमा राष्ट्रिय खेलकुदमा महेन्द्र पुलिस क्लवका ७५ केजी समूहका रणबहादुरसँग रिङमा पहिलो चरणमै नकआउट हुँदा यो अनुभव संगालेका थिए।

त्यतिखेर पेशाले शिक्षक भए पनि उनी खेलकुदमा तालिम लिइरहन्थे। कबड्डी हुँदै बक्सिङतिर आकर्षित भए। जिल्ला, क्षेत्रीय हुँदै राष्ट्रिय स्तरमा पुगे। पहिलो राउण्ड खेल्दा नकआउट भएपछि धेरैले उनलाई ‘क्षेत्रीले खेल्ने बक्सिङ ब्राह्मणले खेलेर हुन्छ, ब्राह्मण डरपोक र कमजोर हुन्छ’ भन्दै खिल्ली उडाए। ‘तर, मैले हार मानिनँ। ममा इख पलायो। निरन्तर ट्रेनिङ र प्राक्टिस गरे,’ उनी भन्छन्, ‘२०५१ को राष्ट्रिय खेलकुदमा रणबहादुरसँग सबै राउण्ड खेले।’ यो नतिजाले उनलाई बक्सरको उपनाम दियो। उनी बाह्रौं दक्षिण एसियाली खेलकुदको छनोटका लागि क्याम्पमा परेका थिए। तर, तेस्रो हुँदा उनी सहभागी हुन पाएनन्।

बक्सिङमा उनका गुरुहरु ओलम्पियनद्वय विष्णुबहादुर सिंह (बझाङ) र डम्मरदत्त भट्ट तथा अन्तर्राष्ट्रिय खेलाडी शेरबहादुर चन्द रहेका छन्। उनले २०४४ सालदेखि नै तालिम लिन सुरु गरेका थिए।
‘खेलकुदमा आत्मविश्वास र ट्रेनिङ गरेर गयो भने सफल भइन्छ। रिङको लडाई आफ्नो लागि गरिने एउटा लडाई हो। टार्गेट एक व्यक्ति हुन्छ। तर, रोगविरुद्धको लडाई हजारौंसँग जोडिएको हुन्छ,’ उनी भन्छन्, ‘यो जिम्मेवारी सम्वेदनशील छ। अरुका लागि ध्यान दिनुपर्‍यो।’एक वर्षे

कार्यकालको अनुभूति

२०४४ सालमा अस्थायी शिक्षकबाट करियर सुरु गरेका जोशी प्राथमिक र निम्म माध्यामिक तहसम्मको शिक्षक भए। बझाङबाट अध्यापन सुरु गरेका जोशी २०५३ सालमा कञ्चनपुर झरेर २०५८ सम्म निरन्तरता दिए। अर्थशास्त्र विषयका अध्यापक जोशी अहिले पीएचडी गर्दैछन्।

हुप्रतिभावान र धेरै क्षेत्रसँग जोडिएका जोशीको नेतृत्वलाई खेलाडीहरुले सहयोग गरेका छन्। शिक्षकले पनि सहयोग गरेका छन्। कतिपय अवस्थामा आर्थिक सहयोग पनि आएको बताउँछन् जोशी। सबैको सहयोगले सफल हुन्छु भन्ने विश्वास छ जोशीलाई।

‘काम गर्न योग्य टिम हुनुपर्ने रहेछ। सजिलो हुन्छ। अस्पताल व्यवस्थापन समितिमा डिग्री होल्डर, पीएचडी गरेका योग्य व्यक्ति भयो भने डाक्टरहरुले पनि राम्रो नजरले हेर्ने रहेछन्। नपढेको, एसएलसी पास गरेका व्यक्ति हुँदा कर्मचारीले नटेर्ने रहेछन्,’ उनले सुनाए।

उनको दुई वर्षे कार्यकालको एक वर्ष सकिसकेको छ। महामारीले गर्दा आफ्नो रफ्तारबाट ब्याक हुनुपरेकोमा उनी चिन्तित छन्। ‘महामारीले गर्दा व्याक भयौं। हेरौं एक वर्षमा अझै कति गर्न सकिन्छ?’ उनले आफैंमाथि प्रश्न गरे।

पहिला अध्यक्षको कार्यकाल ३ वर्षको थियो। अहिले २ वर्ष छ। बढाउन आवाज उठेको छ। विधान संशोधन गरी ४ वर्ष कायम गर्ने गृहकार्य पनि थालिएको छ। अस्पतालको मुहार फेर्न कार्यकालको अवधि थप्ने पक्षमा छन् जोशी पनि।

त्यसो त अस्पतालमा सुधारका लागि जोशीले पूर्व अध्यक्षहरुसँग परामर्श तथा सहयोग लिने गरेका छन्। प्रशासनसँग सुमधुर सहाकार्यमा छन्।

अहिले अस्पतालमा सुधारको सन्देश गाउँ गाउँ पुग्न थालेको बताउँछन् अध्यक्ष जोशी। ‘केही विरामी निको भएर गएपछि गाउँघरमा प्रचार भयो। मिडियाको पनि भूमिका छ। जनप्रतिनिधिले पनि अस्पतालको सेवाबारे प्रवर्द्धन गरिरहेका छन्,’ उनी भन्छन्, ‘महाकालीलाई जिल्लामात्रै प्रदेशमै नमूना अस्पताल बनाउने लक्ष्य छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell