PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आज बिहान बस्दै नेकपाको सचिवालय बैठक



पहिलोपोस्ट

आज बिहान बस्दै नेकपाको सचिवालय बैठक

काठमाडौं : अहिले बिहान ९ बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ।

वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी विषयबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक ९ बजे बस्ने जानकारी दिएका छन्। यसअघि पटक पटक बैठक बस्ने भनिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठीक नभएको भन्दै रोकिँदै आएको छ।

बहुचर्चित एमसीसीमा पार्टीभित्र चर्को किचलो भएपछि त्यसका लागि डाकिएका बैठक अवरुद्ध हुँदै आएको छ। तर, आज भने नागरिकताको विषयमा छलफल हुने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए।

प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकलाई लिएर महासचिव विष्णु पौडेल, दलका उपनेता नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, राज्य व्यवस्थापन तथा सुशासन समितिका सभापती शशी श्रेष्ठ र समितिमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई बोलाएर बालुवाटारमा छलफल गरेका थिए।

छलफलमा अध्यक्षद्वयले नागरिककता विधेयकका विषयमा उठेका विवादका बारेमा जानकारी लिएको नेम्वाङले बताए। बिहीवार कांग्रेससँग भएको छलफल र उसको अडानबारे पनि जानकारी गराइएको थियो। दुई अध्यक्षले विवाद सुल्झाउने जिम्मा लिएका छन्।

'दुई अध्यक्षले सल्लाह गर्छौं भन्नुभएको छ। शनिवार बिहान बस्ने सचिवालय बैठकमा यसबारे छलफल होला,' नेम्वाङले भने।

नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा अलपत्र छ। राज्यव्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा निरन्तर ७ वर्ष बसोबास गरेपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने प्रस्ताव गरेको छ। तर, कांग्रेसले विद्यमान कानुनमा संशोधन परिवर्तनको आवश्यकता नरेहेको अडान लिँदै आएको छ।

नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्रीले बुधबार संसदीय समितिमा ५ दिन समय माग गरेका थिए। बिहीवारको नेकपा नेताहरुसँगको छलफलमा कांग्रेसले बैवाहिक अंगीकृत नागरिकताका सम्बन्धमा हाल विद्यमान कानुनमा कुनै संशोधन र परिवर्तनको आवश्यकता नभएको पुरानै अडान प्रस्तुत गरेको थियो। कांग्रेसको अडानपछि प्रधानमन्त्री ओलीले पार्टीमा छलफल गरेका हुन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell