
नयाँ दिल्ली : भारतमा आज कोरोना संक्रमितको संख्या ४ लाख नाघ्दैछ। शुक्रवार एकै दिन १४ हजार ५ सय ७४ नयाँ संक्रमित थपिएपछि भारतमा संक्रमितको संख्या ४ लाखको सीमामा पुगेको हो। शुक्रवार दिल्लीमा ३ हजार १ सय ३७ र महाराष्ट्रमा ३ हजार ८ सय २७ नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा कोरोना संक्रमितको संख्या ३ लाख ९५ हजार पार भएको छ।
जुनमा मात्र भारतमा २ लाख १० हजार ६ सय ५५ नयाँ संक्रमित थपिएका हुन्। कूल संक्रमितको यो ५३ प्रतिशत हिस्सा हो। त्यसैगरी जुनमा मात्र ७ हजार ४ सय ८४ जनाको मृत्यु भएको छ। भारतमा यससहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ८ सय ८८ पुगेको छ।
मे महिनामा भारतमा १ लाख ५० हजार संक्रमित थपिएका थिए भने ४ हजार २ सय ६७ जनाको मृत्यु भएको छ।
बिहीवार यहाँ १४ हजार ५२ जनामा संक्रमण देखिएको थियो।
नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा शुक्रवारमात्रै ८ सय ९ जना संक्रमित थपिएका छन्। यससहित उत्तर प्रदेशमा संक्रमितको संख्या १६ हजार ५ सय ९४ पुगेको छ।