- दुर्गा पंगेनी -
संसारभर मेडिकल प्राक्टिसमा एउटा चलन छ - एक व्यक्तिले आफ्नो उपचारमा एक जना डाक्टरले गरेको निर्णय चित्त नबुझे वा त्यो ठिक छ कि छैन भनेर बुझ्न अर्को डाक्टरसँग परामर्श लिन सक्छन्। यसरी सल्लाह लिनुलाई ‘सेकेन्ड ओपिनियन’ भन्ने गरिन्छ।
डाइग्नोसिस गर्ने क्रममा कुनै डाक्टरले शल्यक्रिया गर्ने निर्णय गर्यो तर बिरामी या बिरामीका आफन्तलाई त्यसमा चित्त बुझेन। या उनीहरू त्यस निर्णयप्रति विश्वस्त हुन सकेनन्। यस्तोमा अर्को विशेषज्ञसँग यसबारेमा राय लिन पाउँछन्। यो अन्तर्राष्ट्रिय प्रचलन हो।
नेपालको हकमा भने ‘सेकेन्ड ओपिनियन’को कुरा गर्ने हो भने केही डाक्टरहरूको ‘इगो हर्ट’ हुन्छ। उनीहरू अरु डाक्टरसँग सल्लाह लिएको कुरा पचाउनै सक्दैनन्। त्यसलाई आफ्नो विशेषज्ञताको अपमान भएको ठान्छन् र बिरामीका आफन्तसँग रिसाउँछन् या बिरामीलाई ‘डिस्चार्ज गर्दिन्छु’, ‘त्यै डाक्टर कहाँ गएर उपचार गराउनु’ भनेर धम्क्याउँछन्।
‘दोस्रो राय’ केवल मनोवैज्ञानिक रायमात्र पनि हुन सक्छ या पूरै सेवा नै दोस्रो राय दिने डाक्टरसँगै लिन्छु भन्न पनि सेवाग्रहीको नाताले बिरामीले पाउनु पर्ने हो। तर, नेपालको हकमा त्यस्तो सम्भव छैन। एउटै अस्पतालमा समेत एकजना विशेषज्ञले जाँचेको बिरामी त्यही फ्याकल्टीको अर्को डाक्टरले छुँदैनन्। यो अझ फरक पाटो हो।
चिकित्सकसँग राय लिने हकमा मेलै पनि धेरै तीतो अनुभव गरेको छु। एक दिन अचानक मेरो दिदीको ढाडमा असह्य पीडा भयो । रातारात एम्बुलेन्स लिएर नर्भिक अस्पताल लिएर आइयो। चर्चित न्युरो सर्जन डाक्टर वसन्त पन्तले जाँचे र एमआरआई गराए। एमआरआई हेरेपछि ल अपरेसन गर्नुपर्छ भने। अर्को दिन पैसा रगत लगायत आवश्यक चिज जोहो गरियो। अपरेसन भयो। सानो बोतलमा अलिकति हड्डी पलाएर नसो च्यापेको र त्यसलाई अपरेसन गरेर निकालेको भनेर केही मासुका टुक्रा दिए। उपचार सकियो, चार दिनमा डिस्चार्ज गरे।
नर्भिक अस्पतालको उपचार सस्तो थिएन। बाहिर पसलमा किन्ने मूल्यसँग तुलना गर्दा अत्याधिक देखियो।
अपरेसनको घाउ निको हुन्जेल ढाड खासै दुखेन। तर, जब अपरेसन गरेको २०/२२ दिन भयो तब पुरानो ढाडको दुखाई आफ्नै लयमा फर्कियो। दिदी फेरि उठबस गर्नै नसक्ने भइन्। उनलाई ह्विलचेयर चाहिने अवस्था आयो।
फलो-अपका लागि उनै डाक्टर पन्तलाई भेट्न खोज्दा कहिल्यै पालो पाइएन। उनले अपरेसन गरेपछि बिरामीलाई फर्केरै हेरेनन्। ड्रेसिङको लागि जाँदा या यसै दुख्यो भन्दै पुनः जाँदा पनि उनका जुनियरले मात्रै परीक्षण गरे। डाक्टर पन्तसँग भेट्न सकिएन।
जुनियर डाक्टरले ‘तातो पानीले सेक्नुस्, समस्या समाधान भएको छ बिस्तारै निको हुन्छ’ भन्दै गए। तर, त्यो अपरेसनले दिदीको रोग एक रत्ती घटेन।
टिचिङ अस्पतालमा चिनेका एक जना न्युरोलोजिष्ट थिए। उनीसँग भेटेँ। उनले पुरानो एमआरआई हेरे। फेरी एकपटक एमआरआई नगरी अपरेसन पछाडिको अवस्था के छ यसै केही भन्न नसकिने सुझाव दिए। हामीले दिदीको अर्को एमआरआई गरायौं।
दुवै एक्स रे हेरेपछि डाक्टरले सुनाएको निर्णय अत्यन्तै दु:खद् थियो। जहाँ पुरानो एक्सरेमा समस्या देखिएको थियो त्यो समस्या नयाँ एक्स रे मा पनि यथावत् नै रहेको उनले बताए। जहाँ अपरेसन हुनु पर्थ्यो त्यहाँ केही गरिएको छैन तर त्यसको दश एमएममाथि इलामेन्ट खुर्केर निकालिएको रहेछ। यो निर्णय उनले निकै बोझिलो पाराले सुनाए।
‘यो अपरेसन गर्नेको मिस्टेक हो। यसो गरिनु हुँदैनथ्यो,’ उनले आफ्नो राय सुनाए।
ती डाक्टरले भने, ‘सुरुमै यहाँ आएको भए म यो अपरेसन नै गर्ने थिइन। तपाईँको हड्डी बढेर नसा च्यापिएको होइन। तपाईँको हड्डीको बीचमा रहेको इलामेन्ट च्यातिएको छ। त्यो कम्प्लिट बेड रेष्ट ले निको हुन्छ। रेष्ट लामो तिन या चार महिना लामो पनि हुनसक्छ तर अहिले भएको अपरेसन जस्तो केस हुँदै होइन।’
हामीलाई अत्यन्तै रिस उठ्यो। रिस उठेर के गर्नु? ठुलो अस्पतालसँग झगडा गर्ने सामर्थ्य थिएन। फेरि पनि गयौं नर्भिकमा।
डा पन्तसँग अपोइन्टमेन्ट त पाइएन। फेरि पनि जसोतसो भेट्यौं। र, दुइवटै एमआरआई देखाएर मैले बुझेसम्मको कुरा डाक्टर पन्तलाई भनेँ। समस्या नै समाधान भएको रहेनछ, अब के गर्ने? सोधेँ।
डक्टर पन्त मसँग यती नराम्रोसँग रिसाए कि यो सुझाव कसले दियो? कसले अर्को डाक्टरलाई देखाउन भन्यो? मेरो विश्वास नभएको? मैले टाउको जोडिएर जन्मिएका बच्चाको अपरेसन गरिसकेको छु। मेरो काममा शंका गरेर अरूलाई सोध्दै हिँड्ने? जाउ जसले जे सुझाव दिन्छ त्यै अनुसार उसैसँग उपचार गर। अब म तिम्रो बिरामी छुँदैछुन्न भनेर हिँडे।
हामीसँग हातमा दुई थान एमआरआईका झोलाबाहेक केही थिएन। अब टिचिङका डाक्टरले भने झैँ नै गर्ने निधो गर्यौं। घर जाने, कम्प्लिट बेड रेस्ट गर्ने। निको हुने अनि स्याङ्जा फर्कने।
गल्ती पनि उनैको, गलत अपरेसन गर्ने पनि उनै, अरूलाई सोधेको भनेर रिसाउने पनि उनै। अन्यायमा परेका बिरामीको सुनुवाइ कतै नहुने रहेछ।
दोस्रो राय त कानुनले नै दिएको अधिकार हो। बिरामीले लिन चाहेको दोस्रो रायमा आफ्नो कमजोरी देखिन्छ जस्तो गरेर डाक्टरहरू किन तर्सिन्छन्? मैले कहिल्यै बुझ्न सकिन। हामी यसै घर फर्कियौं र केही घरेलु उपचार गरियो। क्रमश : दिदीको रोग पनि टिचिङका डाक्टरले भने जसरी नै निको भयो।
अलि पुरानो अर्को घटना। मेरो बुबाको मिर्गौलामा पत्थरी देखियो। उपचारबारे बुझ्दै जाँदा भर्खर आर्मी अस्पतालमा ‘मेसिनले फोरेर मिर्गौलाको पत्थरी निकाल्ने उपचार पद्धति’ सुरु भएको रहेछ। बुबाले अपरेसन गर्न भन्दा अपरेसन नगरी निस्कन्छ भने त्यही तरिकाले उपचार गर्ने रहर गर्नुभयो। हामीले महिनौँ हण्डर ठक्कर खाएपछि त्यो पद्धतिले पत्थर ननिस्कने निर्णयमा डाक्टर आफैँ पुगे। हाम्रो पैसा सकियो।
त्यस समयमा वीर अस्पतालमा मिर्गौला रोग विशेषज्ञ थिए डाक्टर अर्जुन देव भट्ट। बुबाको मिर्गौलाको असफल ‘स्टोन ब्लाष्ट’ पछि वीर अस्पतालका मिर्गौला विशेषज्ञ डा अर्जुनदेव भट्टले दिएको राय सुन्दा यसभन्दा अगाडि भएको खर्च व्यर्थै सकिएको थाहा भयो। किनकि यो साइजको स्टोनमा ब्लाष्टको असर नै नहुने रहेछ। त्यसपछि डाक्टर भट्टले अपरेसन गरेर पत्थर निकालेपछि अहिलेसम्म बुबाको मिर्गौलामा कुनै समस्या आएको छैन। त्यो अपरेसन भएको २५ वर्ष भन्दा बढी भइसकेको छ।
त्यस्तै अर्को घटना - भाइको मुटुमा प्वाल परेछ। डाक्टरलाई देखाइयो। एउटा नयाँ प्रविधि आएको छ काट्नु चिर्नु पर्दैन, त्यो प्वाल लाई कुनै ढक्कनले बन्द गराइदिने नयाँ पद्दती हो नेपालको लागि। म प्राक्टिस गरिराछु, भाइ बल्ल २१ वर्षका भएछन्। बिहे पनि नभको केटाको छातीमा यति ठूलो घाउ किन पार्नु? ओपन हर्ट सर्जरी रिस्की हुन्छ त्यसैले चिरेर अपरेसन नगरौँ त्यै यन्त्रको सहायताले प्वाल बन्द गर्दिम सजिलो छ भन्नुभयो।
खासै विश्वास लागेन। एक त भर्खरै सुरु भएको प्राक्टिस त्यसमाथि अपरेसन भन्दा खर्चिलो। मेरो बुबाको मुटुमा समस्या हुँदा अपरेसन गरेका डाक्टर भगवान् कोइराला मनमोहन कार्डियो सेन्टर टिचिङ अस्पतालमा रहेछन्। त्यहाँ गएर दोस्रो राय लिइयो। पहिलो डाक्टरको रायको ठीक विपरीत भगवान् कोइरालाको राय आयो।
'त्यो प्राक्टिस मैले पनि गरिराछु तर अपरेसन जस्तो भरपर्दो नहुने रहेछ। अस्ति एक जनाको त्यही गरेको सेप्टिक भएर झन्डै बिरामी गएनन्। पछि फेरी त्यो निकालेर अपरेसन नै गर्नुपर्यो,' कोइरालाले भने।
भाइ उमेरकै छन्। देखिने घाउको भन्दा पनि भित्रको समस्याको समाधान बलियोसँग हुनु पर्यो भनेँ।
‘चिन्ता नगर्नु, भर्ना हुनु। म एक दुई दिनमा ल्याब रिपोर्ट आएपछि ओटी डेट निकाल्दिन लगाउँछु। निको हुन्छ, चिन्ता नगर्नु,’ भाइको छातीमा स्टेथेस्कोप लगाउँदै डा. कोइरालाले भने।
उनले भनेजस्तै हामीले भाइको अपरेसन गरायौं। शल्यक्रिया सफल भयो। मुटुको अपरेसनको छ महिना नियमित औषधी खाएको भाइले त्यसपछि प्रेसर या हर्ट सम्बन्धी कुनै औषधी खानु परेको छैन। र डाक्टरले औषधि सिफारिस पनि गरेका छैनन्। सेकेन्ड ओपिनियन नलिएर प्लास्टिकको ढक्कनले मुटुको प्वाल बन्द गरेको भए जिन्दगीभर औषधी खानुपर्ने बताएका थिए डाक्टरले।
मलाई पछुतो यही छ कि आमाको मिर्गौलाको उपचार गर्दा मैले सेकेन्ड ओपिनियन लिने मौका पाइन। त्यसबारे फेरि पछि लेख्नेछु।