PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

सुदूरपश्चिममा शनिवार १६३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ९४८



एम बम

सुदूरपश्चिममा शनिवार १६३ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या पुग्यो ९४८

कैलाली : सुदूरपश्चिम प्रदेशमा शनिवार एक सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२, धनगढी प्रयोगशालामा ६९ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

यस्तै, शिक्षण अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए। यस्तै धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा शनिवार ६९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुुसार डडेल्धुराका २७, कैलालीमा २४, डोटीका ११, अछाम, बैतडी र बझाङमा दुई/दुई र कञ्चनपुरमा एक जनामा कोरोना पुष्टि भएको हो। संक्रमितमध्ये ५८ पुरुष र महिला ११ रहेका छन्।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ सय ४८ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीमा दुई सय २९, डडेल्धुरामा एक सय ७१, बैतडीमा एक सय ४०, डोटीमा एक सय ३३, कञ्चनपुरमा ९७, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell