PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

तराईमा गर्मी र वर्षातसँगै बढ्यो सर्पको बिगबिगी पनि, दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी अस्पतालमा



राधेश्याम पटेल

तराईमा गर्मी र वर्षातसँगै बढ्यो सर्पको बिगबिगी पनि, दैनिक १० भन्दा बढी सर्पदंशका बिरामी अस्पतालमा

वीरगंज : तराईमा अहिले गर्मी र वर्षात् दुवै बढेको छ। यसबीचमा सर्पदंशको घटनामा पनि वृद्धि भएका छन्। बारा, पर्सा, रौतहटबाट नारायणी अस्पताल वीरगंजमा दैनिक १० भन्दा बढी सर्पदंशका बिरामीहरू आउन थालेका छन्।

एकसाता भित्र चार जना मृत्युको मुखमा पुगिसकेका बिरामीहरूको ज्यान जोगिएको अस्पतालले जनाएको छ। नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहका अनुसार चार दिनमा चारजना गम्भीर प्रकृतिका बिरामीहरू निको भएर घर जाने तयारीमा रहेको बताए।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-४ बिसौलियाकी ६५ वर्षीया लक्ष्मीनियाँदेवी सहनीलाई बुधवार साँझ ५ बजे घरमा ‘गोमन’ सर्पले डसेको थियो। फूसको घरमा रहेको दुलोलाई खुट्टाले पुर्ने क्रममा उनलाई सर्पले डसेको थियो। तर, त्यतिबेला उनले मुसाले टोकेको भन्दै बेवास्ता गरिन्।

दुई घण्टापछि उनको अवस्था बिग्रियो। श्वास फेर्न अप्ठेरो र कण्ठ अवरूद्ध भएपछि उनी अचेत भइन्। उनको श्वासप्रश्वास र मुटुको ढुकढुकी पनि रोकिएपछि परिवारजनमा तनाव छायो।

लक्ष्मीनियाँकी जेठी बुहारी जानकी देवीले भनिन्, ‘हामीले आशा मारिसकेका थियौँ, आमाको श्वास बन्द भइसकेको थियो, उहाँ होसमा हुनुहुन्थेन। १२ घण्टा चिकित्सकको प्रयासपछि ज्यान जोगिएको छ।’

डा सिंहका अनुसार यस्तो अवस्थालाई ‘कार्डियो पुल्मोनरी अरेस्ट’ भनिन्छ। सर्पदंश भएपछि न्युरो टक्सिन तत्वले मानिसको शरीरको नसालाई असर पार्दै पक्षघात गर्दै जान्छ। समयमा उपचार भएन भने केही घण्टामैं मृत्यु हुने सम्भावना रहन्छ। ५ बजे सर्पले टोकेपछि उनलाई ८ बजे अस्पताल पुर्‍याइएको थियो। त्यसपछि उनको जीवन जोगियो।

त्यस्तै, बाराको बलिरामपुर गाउँपालिका-४ बलिरामपुरका ६० वर्षीय रामविलाश साह सोमवार राति फूसको घरमा सुतिरहेका थिए। उनीसँगै छोरा अर्जुन साह पनि सुतेका थिए। राति सवा १० बजे उनलाई खुट्टामा केहीले टोकेको जस्तो महसुस भयो। उठेर हेर्दा केही थिएन। पछि सर्पले टोक्यो भनेर आशंका भयो। एक घण्टापछि घाँटी अवरूद्ध हुने, बेचैनी र श्वास फेर्न कठिनाइ भएपछि उनले छोरालाई बताए।

राति १ बजे उनलाई नारायणी अस्पताल ल्याइयो। चिकित्सकको निगरानीमा बिनाभेन्टिलेटर इमर्जेन्सी कक्षमा उपचार शुरू भयो। कृत्रिम श्वास दिएर करिब ७२ घण्टापछि उनले बिहीवार दिउँसो १ बजे उनी होसमा आएको डा सिंह बताउँछन्। सर्पदंशबाट वृद्धहरू बाँच्ने सम्भावना कम हुन्छ तर पनि उनको ज्यान जोगियो।

वीरगंज महानगर-१५ भिस्वाकी २७ वर्षीया सुनन्दा सिंह पनि सर्पले टोकेर अस्पतालमा भर्ना भएकी थिइन्। अहिले उनी पनि उपचारपछि घर जाने तर्खरमा छिन्। गत बिहीवार बिहान ११ बजे पूजा गर्न जाने क्रममा बारीबाट निस्केको सर्पले उनको खुट्टामा टोकेको थियो। कुन सर्प हो भनेर चिन्न सकिनन् तर पूजा नगरिकन उनलाई हतारहतारमा नारायणी अस्पताल पुर्‍याइयो। उनको अवस्था पनि अहिले सुधारोन्मुख छ।

यसैगरी, एक जना बालक पनि चार दिनअघि सर्पले टोकेर अस्पताल भर्ना भएका थिए। उनी पनि निको भएर घर फर्केका छन्। चिकित्सकहरूले गर्मी र वर्षायाममा सर्पदंशको घटना वृद्धि हुने भएकोले राति सुत्ने बेलामा र अँध्यारोमा हिँडडुल गर्दा सावधानी अपनाउन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell