PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फुटबल ठप्प हुँदा तातेको एन्फाको राजनीति



मुकुन्द घिमिरे

फुटबल ठप्प हुँदा तातेको एन्फाको राजनीति

पछिल्लो समय कोरोना र लकडाउनका कारण फुटबललगायतका खेल रोकिएका छन्। तर, खेल राजनीति भने अझ तातेको छ एन्फामा। पछिल्लो समय एन्फामा हेर्ने हो भने असन्तुष्टि, निलम्बन, नियुक्ति, राजीनामा माग, विधानका कुरा, समिति हेरफेर जस्ता गतिविधिहरु सामान्य बन्दै गएका छन्। अर्थात् फुटबल जति ठप्प छ एन्फा राजनीति त्यति नै तातेको छ।

असन्तुष्टिको पछिल्लो शृङखला सुरु हुन्छ एन्फाको वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङको फरक मतबाट। उनले एन्फा अध्यक्षले एकलौटी ढंगले काम गरेको लगायतका विभिन्न विषयहरुलाई उठान गर्दै आफ्नो असन्तुष्टिलाई 'नोट अफ डिसेन्ट' दर्ता गराउँदै औपचारिकता दिएका थिए। यसअघि बाटै नेम्बाङ र कर्माछिरिङ शेर्पाको दुरी बढेको भन्ने चर्चा परिचर्चा चले पनि माघ २६ को एन्फाको वैठकमा असन्तुष्टि जनाएसँगै यो विषय सतहमा आयो।

त्यसपछि एन्फा डे प्रकरणले एन्फामा अर्को विवाद निम्तायो। त्यस्तै एन्फा डे प्रकरणमा पनि ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले नेम्बाङले एउटा ग्रुपमा दिएको शुभकामना सन्देशमा ‘चोरहरुको श्री गणेश डे’ भनेर अभिव्यक्ति दिएपछि एन्फाले उनलाई स्पस्टीकरण सोधेर उनको स्पस्टीकरण चित्त नबुझेको भन्दै निलम्बन गरेको थियो। थापा पक्षले कार्यसमिति बैठक नबसी जिल्ला फुटबल संघको अध्यक्षलाई कारवाही गर्न नपाउने तर्क अघि सारिरहँदा नेम्बाङ भने थापालाई निलम्बन गर्नु एन्फाको कारवाही अवैधानिक भएको भन्ने लाइनमा देखिए।

त्यसलगत्तै एन्फा अध्यक्ष शेर्पाको पनि मधेसमा राष्ट्रियताको विषयलाई लिएर विवादस्पद अभिव्यक्ति आयो। अझ संसदमै कुरा उठ्यो। समाजवादी पार्टीका दुई सांसदहरुले यो विषयलाई उठाए। प्रदीप यादवले त निलम्बनको माग नै गरे। भलै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले यो विषयमा बेखबर भएको भन्दै पन्छिदिए।

‘अध्यक्षज्युले त्यस्तो बोलेको मिडियामा आउने बित्तिकै मैले त एउटा स्टेटमेन्ट जारी गर्नुपर्छ भनेर भनेको थिएँ तर वहाँले मैले बोलेकै होइन भन्नु भयो,’ पहिलोपोस्टसँग वरिष्ठ उपाध्यक्ष नेम्बाङले भनेका थिए, ‘मिटिङमा पनि यो कुरा के जानकारी गराउनु पर्‍यो भनेर भन्दा मैले बोलेको होइन पुरा अन्तर्वार्ता सुन्नुहोस भन्नु भयो,’

तर शेर्पाको अभिव्यक्तिलाई लिएर विवाद बढ्दै गयो र जेठ २१ गते शेर्पाले आफ्नो आशय कुनै क्षेत्र, वर्ग या समुदायलाई चोट पुर्‍याउने नभएको र आफ्नो भनाइलाई तोडफोड गरिएको दाबी गर्दै शेर्पाले माफी मागे।

तर शेर्पाको स्पस्टीकरणसँगै यो विवाद सेलाएन। फेरि थापा पक्ष र नेम्बाङ पक्षले प्रश्न उठायो : अभिव्यक्तिकै विषयमा कसैलाई माफी कसैलाई निलम्बन कसरी भयो?

ललितपुर एन्फाका अध्यक्ष थापा प्रश्न गर्छन्, ‘मैले सानो गल्तीमा क्षमा माग्दा नपाउने। निलम्बन गर्ने। तपाइँले विधान मिच्दाचाहीँ माफ माग्ने? अनि माफी मिल्यो? यस्तो पनि नाटक हुन्छ? एन्फा अध्यक्ष विधान भन्दा माथि हो?’

त्यस्तै निर्वाचनको पूर्वाग्रहलाई लिएर एन्फाका कार्यक्रममा चार जिल्लालाई एन्फाले छुट्याएको भन्ने आरोप काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्ला अध्यक्षहरुले लगाउँदै आएका छन्।

त्यस्तै ललितपुर एन्फाका अध्यक्षलाई पहिला निलम्बन गरेर पछि कार्यसमितिबाट अनुमोदन गरेको भनेर असन्तुष्टि थापा पक्षको छ।

एन्फाको यो प्रबृतिलाई वरिष्ठ उपाध्यक्ष नेम्बाङले यसअघि नोट अफ डिसेन्ट बुझाउँदा नै पहिला निर्णय हुने अनि पछि समितिबाट अनुमोदन गराउने प्रबृतिको कडा शब्दमा विरोध गर्दै आएका थिए।

अझ शेर्पाको अभिव्यक्तिको विषयमा फिफा, एएफसी, प्रधानन्त्रीको कार्यालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतमा छुट्टाछुट्टै पदाधिकारीहरुले उजुरीसमेत गरिसकेका छन्। फिफामा उजूरी गर्नेमा चार जिल्लाका फुटबल संघ अध्यक्षबाहेक बरिष्ठ उपाध्यक्ष नेम्बाङ र एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठसमेत छन्।

+++

एन्फा अध्यक्ष शेर्पा त्यसबाहेक खासै खुल्न चाहेका देखिँदैनन्। उनी आफ्नो काम गरेर देखाउने भन्ने तर्कमा देखिन्छन्।

मधेशी समूदायलाई होच्याउने अभिव्यक्तिको आरोप लाग्दा आफ्नो अभिव्यक्ति तोडमोड गरेको भन्दै विज्ञप्ति निकालेका उनी अहिले पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाली रहेका छन्। पछिल्लो समय खासै खुल्न नचाहिरहेका शेर्पा वक्तव्य निकालेर आफ्नो आधिकारिक धारणा दिइसकेको बताउँछन्।

आफ्नो १ घन्टा भन्दा लामो भिडियोलाई तोडमोड गरेर छोटो बनाएर आफूलाई विवादमा तानेको गुनासो शेर्पाको छ।

अध्यक्ष शेर्पा भन्छन्, ‘एक्सन स्पीकस् लाउडर देन स्पीच भन्छन् म चाहीँ काम गरेर देखाउने हो।’ बरु उनी फुटबल विकासका लागि के के योजना बनाउँदै छन् त्यसका बारेमा स्पस्ट देखिन्छन्।

+++

त्यसयता पनि एन्फामा गतिविधि सेलाएको छैन। एन्फामा पूर्व मानार्थ अध्यक्ष टासी घलेलाई फिर्ता बोलाउने मुख्य एजेण्डासहित विभिन्न विषयमा छलफलका लागि आपतकालीन समितिको वैठकसमेत बोलाइयो। तर वरिष्ठ उपाध्यक्ष नेम्बाङ त्यो वैठकमा उपस्थित भएनन्, स्वास्थ्यको कारण देखाउँदै। विधानत: एकजना सदस्य अनुपस्थित भएसँगै वैठक गर्न नमिल्ने प्रावधानका कारण वैठक नै स्थगित भयो। एन्फाले त्यसैको भोलिपल्ट कार्यसमितिको आपतकालीन वैठक बोलायो। जसमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि भक्तपुर फुटबल संघ विगठन गरेर तदर्थ समिति गठन गर्नेसम्मका निर्णय भए। त्यस्तै विश्वकप छनोटको तयारीका लागि खेलाडीहरुको अभ्यास पनि २ हप्ताभित्रै सुरु गराउने समेत निर्णय एन्फाले गर्‍यो।

त्यही बैठकले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङको बारेमा छानविनका लागि बनाइएको छानविन समितिका अध्यक्ष रत्नकुमार श्रेष्ठले राजीनामा दिएको उल्लेख गर्दै उक्त समितिको अध्यक्षमा उपाध्यक्ष बीरबहादुर खड्कालाई नियुक्त गर्‍यो।

त्यस्तै खेलाडीको कोभिड १९ बिमा र राहतको बारेमा समेत निर्णय गर्‍यो। त्यस्तै असार २ गतेको उक्त वैठकमा कार्यसमितिको बैठकमा फरकमत राख्दै आएका वरिष्ठ उपाध्यक्ष नेम्बाङ र दावा लामालाई स्पस्टीकरण सोध्नु पर्ने लगायतका कुराहरु उठेको उठेको एन्फा कार्यसमितिकै सदस्यहरु बताउँछन्।

त्यसैको भोलिपल्ट एन्फाको विभिन्न समितिमा जिम्मेवारी हेरफेरसमेत भयो। एन्फाका उपाध्यक्ष शिक्षित पराजुली भ्याकेन्सी फुलफिलमेन्ट कमिटी र बीरबहादुर खड्का समन्वय समितिको संयोजकका रुपमा छानिए। त्यस्तै रत्नकुमार श्रेष्ठ फुटसल कमिटीको संयोजकका रुपमा छानिए।

यसमा पराजुली र खड्काले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई प्रतिस्थापित गरेका थिए भने रत्नकुमार श्रेष्ठले दावा लामालाई प्रतिस्थापन गरेका थिए।

रत्नकुमार श्रेष्ठ उनै हुन जसलाई एकदिन अघिमात्र स्वास्थ्यको कारण देखाउँदै कास्की फुटबल संघका अध्यक्षबारेको छानविन समितिबाट राजीनामा स्वीकृत गरिएको थियो।

पछिल्लो घटना क्रमबारे वरिष्ठ उपाध्यक्ष नियुक्तीदेखि फुटबल संघ विघठनसम्मका कुराहरुमा टिप्पणी गर्दै पत्र आएपछि मात्र यसै भन्ने अवस्था हुने बताउँछन्।

'किन यस्तो भयो? कसरी यस्तो भयो? केही कुरा होला नि त अब। पत्र आउला। हामीलाई पनि त पत्र आउनु पर्‍यो नि त,' नेम्बाङले भने।

त्यस्तै 'चेन्ज एन्फा' को नारा लिएर शेर्पा नेतृत्वमा आउँदै गर्दा महत्वपूर्ण सहयोगीका रुपमा रहेका दावा लामा पछिल्लो घटनाक्रमहरुलाई लिएर सन्तुष्ट छैनन्। नेतृत्वले हिजोको पारदर्शितालगायतका नाराहरु बिर्सिएकाले आफू फरकधारको देखिएको उनी बताउँछन्। यसमा अध्यक्षलाई पनि पटक पटक ध्यानकर्षण गराइसकेको उनी बताउँछन्।

अझ पुरुषोत्तम थापा प्रकरणमा अभिव्यक्तिकै आधारमा कारवाही हुने तर अभिव्यक्तिकै आधारमा शेर्पालाई कारवाही नहुनु जायज नभएकोले यसमा पनि उनले आवाज उठाएको बताउँछन्।

त्यस्तै फुटसल कमिटीबाट उनलाई हटाइएका लामा त्यसमा आफूलाई काम गर्ने वातावरण नै नमिलेको बताउँछन्। फुटसल कमिटीको नेतृत्व आफूलाई दिए पनि अधिकार नदिँदा काम गर्न नपाएको उनको गुनासो छ। कार्यविधि नै नदिए पछि काम गर्न नसकेको उनले बताए।

'विधानअनुसार एन्फाको समितिमा एउटा संयोजक एउटा उपसंयोजक हुन्छ। मेरो कमिटीमा चाहीँ के गरेको थियो भने एउटा संयोजक, दुईवटा उपसंयोजक बनाएको थियो,' उनले भने, 'प्रस्ट कुरा त्यहाँ मलाई काम गर्न नै नदिएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell