
अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि बलिउडमा नातावाद 'नेपोटिज्म' र 'ग्रुपिज्म' बारे वहस चर्किएको छ। ३४ वर्षीय अभिनेता नातावादकै कारण आत्महत्याको लागि प्रोत्साहित भएको आरोप कंगना रनावतले लगाइन्।
उनले एक भिडियो संदेश सार्वजनिक गरे पछि यस विषयमाथि बलिउडकर्मी देखि आम दर्शक वहसमा उत्रिएका छन्। विशेषगरी सामाजिक सञ्जालमा 'नेपोटिज्म'विरुद्ध चर्चा भइरहेको छ। यसैबीच एक सामाजिक सञ्जाल प्रयोगकर्ताले अभिनेता इरफान खानका छोरालाई 'स्टार किड'लाई 'ब्वाइकट' गर्न सुझाव दिएका छन्।
इरफानका छोरा बबिलको एक इन्स्टाग्राम पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन् : स्टार किडलाई अन्फलो गरिदेउ। आम दर्शकले हो उनीहरुलाई चर्चित बनाउने। दर्शकले नै बलिउडमा व्याप्त नातावादविरुद्ध बोल्नुपर्छ। हामी उनीहरुको फिल्म 'ब्यान' गर्न सक्दैनौं। तर, उनीहरुको सामाजिक सञ्जाल ब्वाइकट गर्न सक्छौं।
उनले आफूहरु मिलेर न्यायका लागि लड्नु पर्ने र कंगना रनावतलाई साथ दिनु पर्ने जनाएका छन्। उक्त कमेन्टमा बबिलले संयमित भएर प्रतिक्रिया जनाएका छन्। सोधेका छन्,'भाइ, भारतमा अभिनयको धार बदल्ने एउटा अभिनेताको छोरा हुनुको दवाव बुझ्नु हुन्छ?'
आफूले नातावादविरुद्ध मानिसहरुको निराशालाई बुझेको जनाउँदै लेखेका छन्,'हरेक सिक्काको दुई पाटा हुन्छन्।'
उनले आफू मिहेनत गर्ने र दर्शकको मन जित्न कोशिश गर्ने बताएका छन्।