
रियो दि जेनेरियो : कोरोना भाइरसको विश्वकै दोस्रो हटस्पट ब्राजिलमा शनिवारमात्रै १ हजार २२ जनाको मृत्यु भएको छ। करिब ५० हजार जना मानिसले यहाँ कोरोनाका कारण ज्यान गुमाएका छन्।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४९ हजार ९ सय ७६ जना मानिसको मृत्यु भएको छ। कोभिड १९ का संक्रमित संख्या यहाँ १० लाख ६७ हजार ५ सय ७९ पुगेको छ। विश्वमा संक्रमित र मृत्यु दुवैमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा छ।
फेब्रुअरी २६ मा ब्राजिलमा कोरोनाको पहिलो केस देखिएको थियो। शुक्रवार यो संख्या १० लाख पुगेको हो। ब्राजिलमा संक्रमतिको संख्या अहिले देखिएको भन्दा ज्यादै रहेको दावी गरिएको छ किनकि त्यहाँ पर्याप्त परीक्षण हुन सकिरहेको छैन।
पछिल्ला वर्षहरुमा अर्थतन्त्रको व्यापक विस्तार गर्न सफल ब्राजिल कोरोनाको तीब्र फैलावटका कारण चरम संकटको अवस्थामा पुग्न सक्ने अवस्थामा छ। दक्षिणपन्थीको समर्थनमा राष्ट्रपति भएका जैर बोलसोनारो अर्थतन्त्र चौपट हुने त्रासमा छन्।
कोरोना क्राइसिसलाई सहि रुपमा मूल्याङ्कन गर्न असफल नेता भन्दै बोलसोनारोको आलोचना हुँदै आएको छ। कतिले त उनलाई 'ट्रपिकल ट्रम्प'समेत भन्दै आएका छन्। राष्ट्रपतिसँग कुरा नमिलेपछि अप्रिल यता दुईजना स्वास्थ्य मन्त्री फेरिइसकेका छन् यहाँ।
उनले सामाजिक दुरी कायम राख्नुपर्ने विषयलाई रोजगार समाप्त गर्ने रणनीति भएको र यस्तो विषय भाइरसभन्दा खतरनाक रहेको तर्क गरेका थिए। अमेरिकी राष्ट्रपतिजस्तै उनले पनि मलेरियाविरुद्धको औषधि प्रयोगमा ल्याउन प्रवर्छन गरेका थिए।
ब्राजिलमात्र होइन ल्याटिन अमेरिकामा संक्रमणले भयावह अवस्था निम्त्याइसकेको छ। शनिवारसम्म मात्र ल्याटिन अमेरिकामा २० लाखभन्दा बढी संक्रमित दर्ता भइसकेका छन्।