PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगंजमा जसपाको प्रदर्शन



राधेश्याम पटेल

भारतमा नेपालको झण्डा जलाइएको विरोधमा वीरगंजमा जसपाको प्रदर्शन

वीरगंज : नेपालको झण्डा जलाउने दुई भारतीयविरुद्धमा वीरगंजमा आइतवार प्रदर्शन भएको छ। मधेशवादी दल जनता समाजवादी पार्टी नेपालको मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजको अगुवाईमा बिहान ११ बजेदेखि १२ बजेसम्म विरोध प्रदर्शन भएको हो।

मालपोत चोकबाट करिब ५० जनाको समूहमा निस्केका प्रदर्शनकारीले घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको तत्कालिन राजपा नेपाल निकट मुस्लिम विभाग केन्द्रीय समिति वीरगंजका अध्यक्ष खैरुद्दीन हवारीले बताए। कोण सभापछि भारतीयहरुको पुतला जलाउने क्रममा दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ।

पक्राउ पर्नेमा मुस्लिम आयोगका सदस्य एवं तत्कालिन राजपा वीरगंज नगर कमिटि अध्यक्ष लियाकत अन्सारी र मेहसिन राजा रहेका छन्। ४ दिनअघि नक्सासहितको संशोधन प्रतिनिधि सभाबाट पारित भएपछि भारतको हैदरावादस्थित असुदुद्दीन ओबैसीका दुई जना नेताहरुले नेपालको झण्डा जलाएका थिए। भिडियो सामाजिक सञ्जालमा फैलिएपछि नेपालका विभिन्न ठाउँमा त्यसको विरोध शुरु भएको छ।

ओबैसीको पार्टीका ईसरार अहमद र सलिम अहमद नाम गरेको दुई नेताहरुले घरभित्र झण्डा जलाएर समाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। प्रदर्शनको क्रममा ‘नेपाली आमा जिन्दावाद, नेपाली झण्डा जिन्दावाद’, ‘ईशरार अहमद मुर्दावाद, सलिम अहमद मुर्दावाद’ भन्दै नारालगाइएको जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell