
काठमाडौं : सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण समुदायमा नफैलिएको बताएको छ। सबैजसो संक्रमित विदेशबाट आएकोले नेपालमा समुदाय स्तरमा संक्रमण नफैलिएको बताइएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डेले करिब ९५ प्रतिशत संक्रमित विदेशबाट आएकाले संक्रमण समुदायमा नफैलिएको जानकारी दिए। संक्रमितमध्ये धेरैजसो भारतबाट आएको उनको भनाइ छ।
अहिले क्वारेन्टाइनमा बसेकाको परीक्षण बढाएमा केही समयपछि संक्रमतिको संख्या कम हुँदै जाने उनको तर्क छ।
‘सबै ठाँउको क्वारेन्टाइनको जाँच पड्ताल बढाउदै जान्छौं। संक्रमितको संख्या घटदै जान्छ,’ उनले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस ब्रिफिङमा उनले नेपालमा हप्ता दिनमा नै संक्रमितको संख्या दोब्बर भएको बताए।
‘करिब ६ देखि ८ दिनमा केस डबल भएको देखिन्छ,’ उनले भने।
केही दिन कोरोना भाइरस संक्रमितको संख्या बढ्न सक्ने उनको भनाइ छ। नेपालमा मृत्यु भएकामध्ये अधिकांश अरु नै रोगका बिरामी भएको उनको तर्क छ। हालसम्म ९ हजार २६ संक्रमित छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ।