PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

नागरिकको उद्धारमा खटिँदा संक्रमित बनेका वडाध्यक्ष १४ दिनमा भए निको, ‘कोरोना लुकाउनु सबैभन्दा घातक’



एम बम

नागरिकको उद्धारमा खटिँदा संक्रमित बनेका वडाध्यक्ष १४ दिनमा भए निको, ‘कोरोना लुकाउनु सबैभन्दा घातक’

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका पहिलो कोरोना संक्रमित व्यक्ति कोरोना जितेर आइतबार घर फर्किएका छन्। वडा नम्बर एकका वडाध्यक्ष शर्मानन्द भट्ट १४ दिनको आइसोलेसन बसाइपछि कोरोना जितेर घर फर्किएका हुन्।

नगरपालिकाको कोरोना सचेतना तथा उद्धारका लागि बनाइएको टास्क फोर्सका संयोजक समेत रहेका उनी आइतवार कोरोना जितेर घर फर्किए। भारतबाट आउने तथा बाहिरी जिल्लाबाट आउने नगरवासीको उद्धारमा खटिँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना जितेर घर फर्किँदै गर्दा उनले संक्रमितहरूमा उच्च मनोबल हुन आवश्यक रहेको बताए। त्यसका लागि सबैले प्रेरित गर्नुपर्ने पनि उनको भनाइ छ।

आफूलाई कोरोना जित्नको लागि मनोबल बढाउन हौसला दिने सम्पूर्णलाई धन्यवाद दिँदै उनले भने, ‘अरूको उद्धारमा खटिएकै समयमा म पनि संक्रमित हुन पुगेँ। अहिले संक्रमण मुक्त हुँदा आफूलाई उच्च मनोबल राख्न प्रेरित गर्ने नगरप्रमुख, उपप्रमुख, स्वास्थ्य शाखालगायत मिडिया, फोन तथा सामाजिक सञ्जाल मार्फत हौसला दिने सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु।’

उनले कोरोना संक्रमण भइहालेको खण्डमा पनि यसलाई लुकाउन खोजियो भने त्यो सबैभन्दा घातक बन्न जाने बताए।

‘यदि संक्रमण भइहालेको खण्डमा पनि स्वास्थ्यकर्मीको सम्पर्कमा नआउनु र लुकाउन खोज्नु सबै भन्दा घातक विषय हो। त्यो आफ्ना लागि मात्र नभएर परिवारका लागि र समुदायका लागि समेत घातक बन्न जान्छ,’ उनले भने।

उनले कोरोना जित्नको लागि सबैभन्दा ठूलो कुरा उच्च मनोबल नै भएकाले कोरोना लाग्दैमा नआत्तिन आग्रह गरे।

उनी भन्छन्, ‘मैले उच्च मनोबलका साथ आइसोलेसन बसाइँका क्रममा नियमित शारीरिक अभ्यास गर्ने गरेको थिएँ। हामीले यसलाई जित्न रोगलाई नलुकाइकनै समयमै स्वास्थ्य संस्थामा गएर यसको जाँच गर्न र उच्च मनोबल राख्न आवश्यक छ।’

उनले अहिले कोरोना संक्रमणको अवस्था भयावह अवस्थामा बढिरहेकाले सुरक्षित भएर बस्न सबै नगरवासीमा आग्रह समेत गरे।

आइसोलेसनमा बस्दा खासै स्वास्थ्य समस्या नदेखिएको र एक दिन मात्रै श्वास फेर्न अलिकति गाह्रो भएको उनले बताए। श्वास फेर्न गाह्रो भएपछि लामो श्वास लिने र तातो पानी खाने गरेपछि त्यो समस्या आफै निको भएको उनको अनुभव छ।

२ पटक गरिएको कोरोना परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएका उनलाई नगरपालिकाले स्थापना गरेको आइसोलेसनबाट नगरप्रमुख हरि सिंह साउद, उपप्रमुख रत्ना कडायत, नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी लगायतकाले आइतवार फूल दिएर बिदाइ गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell