PahiloPost

Oct 12, 2025 | २६ असोज २०८२

राष्ट्रिय बन अतिक्रमण गरी खेतीदेखि पूर्वाधार निर्माणसम्म, बन कार्यालयको चल्दैन केही



राधेश्याम पटेल

राष्ट्रिय बन अतिक्रमण गरी खेतीदेखि पूर्वाधार निर्माणसम्म, बन कार्यालयको चल्दैन केही

वीरगंज : पर्साको उत्तरी भेगमा राष्ट्रिय बन क्षेत्रलाई अतिक्रमण गरी विभिन्न क्रियाकलाप व्यापक बढेको छ। बन क्षेत्रको जग्गालाई अतिक्रमण गरी स्थानीयले खेती, क्लब घर, भौतिक पूर्वाधार, बाटोलगायत निर्माण गरी अतिक्रमण गरिएको हो।

पर्सागढी नगरपालिकाको वडा नम्बर ३ मा बजारको नाममा क्लब घर, खेलकुद मैदान, बाटोघाटोको बहानामा बन क्षेत्र अतिक्रमण भइरहेको छ। यो अतिक्रमण रोक्न डिभिजन बन कार्यालयहरुले सरोकारवालाहरुमा परिपत्र गर्दा समेत स्थानीय बासिन्दाले नमान्ने गरेको देखिएको छ।

सबैया साझेदारी बन व्यवस्थापन समूहले पटकपटक सूचना जारी गर्दा पनि कसैले त्यो सूचना टेरेका छैनन्। हाल बन क्षेत्रमै सडक निर्माण थालिएपछि डिभिजन बन सक्रिय भएको छ। हाल पर्सागढी नगरपालिकाको स्वरोजगार कार्यक्रमबाट सिर्जन टोलको बाटो मर्मत गर्नको लागि जंगल नै अतिक्रमण गरी १ किलोमिटर दुरीमा बाटो बनाइएको छ।

रातारात बजेट सिध्याउन बाटो बनाएको थाहा पाएपछि प्रहरी प्रशासन तनाबमा आएको छ। यस विषयमा जिल्ला वन कार्यालयले जानकारी पाएपछि अतिक्रमण गरी भौतिक पूर्वाधार निर्माण र अन्य क्रियाकलापमा रोक लगाइएको अर्को परिपत्र जारी भएको छ। तर, स्थानीयले अतिक्रमित जग्गा खाली गर्छन् या गर्दैनन् भन्ने अन्यौलता भने बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell