PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

स्वास्थ्य सामाग्री खरिदबारे छानविन गर्दै लेखा समितिः ओम्नी तथा सेनाको खरिद आशंकाको दायरामा



पहिलोपोस्ट

स्वास्थ्य सामाग्री खरिदबारे छानविन गर्दै लेखा समितिः ओम्नी तथा सेनाको खरिद आशंकाको दायरामा
फाइल फोटो

काठमाडौँ: प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको छानविन गर्ने भएको छ। सोमबार बिहान ११ बजे बस्ने बैठकमा स्वास्थ्य सामग्री खरिद प्रक्रियाले प्रवेश पाउँदैछ।

लेखा समितिका सभापति भरत शाहले भोलिको बैठकमा ओम्नी ग्रुप र नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितताको विषय एजेण्डा रहेको जानकारी दिए। शाहका  अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बमा भएको अनियमितताको विषयमा पनि छलफल प्रारम्भ हुनेछ। 

छलफल गर्न लेखा समितिले स्वास्थ्य मन्त्रालयका सचिव र सहसचिवलाई बोलाएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार लेखा समितिमा उठेका प्रश्नको सामना गर्न सचिव लक्ष्मण अर्यालको नेतृत्वमा मन्त्रालयको टोली उपस्थित हुनेछ।

ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणमा सदनदेखि सडकसम्म अनियमितता भएको भन्दै छानविनको माग उठ्दै आएको छ। नेपाली सेनाले खरिद गरेको स्वास्थ्‍य सामग्री पनि बजार मूल्यभन्दा महंगो भएकाले अनियमितता भएको आशंका गरिएको छ।

यी विषयमा छलफल प्रारम्भ गर्नुअघि संसद सचिवालयले सम्बन्धित निकायबाट सबै कागजात झिकाएको छ। सचिवालय स्रोतका अनुसार ती कागजातले खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन र नियमावलीभन्दा बाहिर छन्।

‘स्वास्थ्य मन्त्रालयले सल्लाहकारलाई मुख्य जिम्मेवारी दिएको छ। मुख्य जिम्मेवारीमा रहेका महानिर्देशक सदस्यमा बसेका छन्। ओम्नीसँग ठेक्का रद्ध पनि गरिएको छ। भुक्तानी पनि दिइएको छ। उसले ल्याएका सामान पनि प्रयोग गरिएको छ। कालोसूचीमा राख्ने प्रकिया अघि बढाउँदा भुक्तानी दिइएको छ। जबकि लाइसेन्स खारेज गरेर क्षतिपूर्ति भराउनुपर्ने हो। यी कुराले खरिद प्रक्रियामा नियतमाथि नै खोट देखिन्छ,’ सचिवालय स्रोत भन्छ, ‘लेखा समितिले भोलिदेखि यी विषय हेर्छ।’

उपसमिति गठन हुने

सचिवालय स्रोतका अनुसार यी विषयमा छानविन गर्न उपसमिति नै गठन गर्ने तयारी छ।

‘महामारीको मौकामा प्रचलित नियम कानुनभन्दा बाहिर गएर खरिद प्रक्रिया अगाडि बढाएको देखिन्छ। दोषी को को छन् लेखा समितिले बाहिर ल्याउँला,’ स्रोत भन्छ, ‘छिट्टै उपसमिति गठन हुन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell