
काठमाडौं : सरकाले असार १ गतेबाट लकडाउन थप खुकुलो बनाएको छ। काठमाडौं उपत्यका भित्र अहिले मानिसको चहलपहल सुरु भएको छ। व्यापार व्यवसाय पनि खुलेका छन्। बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्र आएर व्यापार व्यवसाय गर्दै आएका केही मानिस लकडाउनको समयमा आफ्नैं जिल्ला फर्किएका थिए। तर, ती मानिसहरु अहिले लकडाउन खुकुलो भएपछि काठमाडौं फर्किन थालेका छन्।
काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा अहिले सवारीको बाक्लो उपस्थित देखिन थालेको छ। त्यस्तै प्रहरीले थप सक्रियता बढाएको छ।
'हामी सबै कागजपत्र नहेरिकन छिर्न दिँदैनौं। धेरै मानिसलाई नाकाबाट फर्काएका पनि छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।
अहिले नाकाबाट झन्डै २ हजार भन्दा बढी सवारी साधन काठमाडौं उपत्यकाभित्र छिर्ने गरेका छन्। यसमा पास लिएका मात्र २/३ सय सवारी साधन छन्। बाँकी अत्यावश्यक सवारीका साधनहरु पर्ने गरेको एसएसपी ढकालले जानकारी दिए। के नाकाबाट भित्रिने मानिसको सङ्ख्या बढेको हो?
'खासै बढेको छैन। तर, प्रकृया पूरा गरेर आएका मानिसलाई हामीले रोक्न मिल्दैन,' एसएसपी ढकालले भने।
खुकुलो मोडालिटीको मौका छोपी केही सवारी साधनले मानिस लिएर काठमाडौं छिर्ने समेत गरेको पाइएको छ। आइतवार प्रहरीले महँगो भाडा लिएर आएका ४ वटा सार्वजनिक सवारी साधनलाई नियन्त्रणमा लियो। नेपालगञ्ज र झापाबाट काठमाडौँ आएको ४ वटा सार्वजनिक भाडाका बसहरूका साथै चालकहरूलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त चेकिङ टोलीले विभिन्न मितिमा नागढुङ्गाबाट नियन्त्रणमा लिएको थियो ।
नेपालगञ्जबाट आएको बा ४ ख ७३६३, ना ७ ख ५३९५ नम्बरको बस, बा ४ ख ४५८० नम्बरको हाइस र त्यस्तै झापाबाट आएको ना ५ ख ५८३४ नम्बरको बसले यात्रुसँग महँगो भाडा लिएर आएका थिए। चालक विकाश शर्मा, राहुल डगर, राकेश शाक्य र रूद्र बहादुर घर्तीलाई समेत पक्राउ गरेको छ।
झापा र नेपालगञ्जदेखि नाकासम्म चाहिँ कसरी आइपुगे भन्ने प्रश्न उठेको छ। के अन्य जिल्लामा सार्वजनिक सवारी साधनलाई रोकटोक छैन? अहिले विदेशबाट आएका मानिसलाई आफ्नो जिल्लासम्म पुर्याउन सार्वजनिक सवारी साधन प्रयोग भएका छन्। बाहिरी जिल्लाबाट गाडी मगाएर लगिने गरिएको छ। 'यसरी मगाएको गाडी खाली आउनुपर्छ। कसैले मानिस बोकेर आयो भने कारबाही गर्छौं,' एसएसपी ढकालले भने।