PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

सीमाबारेको त्यो बैठक : जहाँ भारतीयले हिन्दी बोल्दा बुद्धिनारायणलाई चल्यो जंग, त्यसपछि निस्के लिम्पियाधुरा चुचुरोको खोजीमा



प्रकाश भण्डारी

सीमाबारेको त्यो बैठक : जहाँ भारतीयले हिन्दी बोल्दा बुद्धिनारायणलाई चल्यो जंग, त्यसपछि निस्के लिम्पियाधुरा चुचुरोको खोजीमा

काठमाडौं : नेपाल-भारतका १३/१३ जना आमनेसामने। लहरै नेपालीको बसाई। अगाडि भारतीयको बसाई लहरै। 'हाइहेल्लो'पछि पालैपालो बोल्दैछन्। नम्र रुपमा भइरहेको कुराकानी बेलाबेला चर्किन्छ। अनि कहिले शुन्यता छाउँछ।

केही बेरको शुन्यतापछि फेरि उठाइन्छ विषय। विषय उठाउने जिम्मा मोडरेटरलाई छ। नेपाली समूहको नेतृत्वमा छन्, नापी विभागका महानिर्देशक बुद्धिनारायण श्रेष्ठ। उनी आफ्नो समूहको सदस्यमार्फत विषयवस्तुको हाइलाइट गराइरहेका छन्, तर अडान आफू लिन्छन्।

+++

मिति: २०४८ चैत २ (१९९२ मार्च १५)

स्थान:  दिल्लीस्थित भारतीय विदेश मन्त्रालयको साउथ ब्लक।

घटना: नेपाल भारत संयुक्त प्राविधिक समितिको १३ औं बैठक।

झण्डै तीन दशकअघि नेपाल -भारत संयुक्त प्राविधिक समितिको बैठकलाई उनी घट्टेकुलस्थित घरमा यसरी सम्झिरहेका छन् बुद्धिनारायण।

८० वर्ष टेकिसकेका उनी झण्डै तीन दशकअघिको घटना सम्झिँदा कुनै बेला मुठ्ठी कस्छन् त कुनै बेला पात्र र विषयवस्तु सम्झन 'पख्नुस है' भन्दै केहीबेर टोलाउँछन्।

भारतीय पक्षले हिन्दी बोल्दा उठेको झोंक

समितिको बैठकमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको अडान राख्यो भारतले। लिम्पयाधुरासम्मै नेपाल भएको अड्डी कस्यो नेपालले पनि। सन् १८२७ र १८५६ को नक्सालाई प्रमाण मान्नुपर्ने नेपालको अडान। भारतले भने १८७९ को नक्सा देखाएर लिपुलेकसम्म भारत भएको दाबी गर्‍यो। चर्काचर्की नै भयो।

'क्या लफडा करेगा भैया। मिलकर जाव न। मिलायंगे-मिलायंगे। नेपाल और भारत भाइभाइ है न,' भारतीय समूहका एक सदस्यले हुकुमी शैलीमा बोले। बैठकमा अंग्रेजीबाहेकको भाषा बोल्ने अनुमति थिएन।

भारतीयले हिन्दीमा बोलेपछि बुद्धिनारायणलाई झोँक चल्यो। हिन्दीमा बोलेको देखेर श्रेष्ठले नेपाली समूहलाई हेपेको ठाने।

'हिन्दी और नेपाली?'

भारतीय टोली नेतालाई सम्झाए श्रेष्ठले। अंग्रेजीमै अघि बढ्यो बैठक। बुद्धिनारायणले त्यो घटनालाई समान्य रुपमा लिएनन्। 'मैले सीमानाकै विषयमा अध्ययन गर्नु यो घटनाको ठूलो भूमिका छ। भारतीयले हिन्दीमा बोलेर दबाउन खोजेका होलान् सायद। मलाई भने जंग चल्यो,' उनले भने।

लन्च ब्रेकमा सुटुक्क नेपाली दूतावास

बैठकको दोस्रो दिन पनि चर्काचर्की नै भयो। वार्ता नै भंग हुने अवस्थामा पुगेपछि उनले प्रधानमन्त्रीलाई वार्ताबारे तत्कालै खबर गर्ने निधो गरे। लन्च ब्रेकका बेला उनी सुटुक्क नेपाली दूतावास पुगे। राजदुत(तत्कालीन) चक्रप्रसाद बास्तोलाई विवादबारे ब्रिफ गरे। बास्तोलाले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाई सीधै फोन सम्पर्क गरे र कोइरालाले श्रेष्ठलाई अर्थराज्य मन्त्री महेश आचार्यले आधा घण्टामा फोन गर्ने वचन दिए। आचार्यले अध्ययन नपुगेको भन्दै अध्ययन गर्नुपर्ने एजेण्डा सार्नु भन्ने निर्देशन दिए।

त्यसपछि श्रेष्ठले वार्तामा त्यही एजेण्डा उठाए। अध्ययन गर्ने सहमतिमा बैठक सकियो। जुन चलाखी आफूले नगरेको भए वार्ता नै विफल हुने श्रेष्ठ बताउँछन्। 'मलाई त रोचक लाग्छ। अहिले पनि म सम्झिरहन्छु। मेरा साथी पुन्यप्रसाद ओली र म दूतावास गएर प्रधानमन्त्रीलाई जानकारी गराएको घटना,' उनले भने।

बैठक सकिएर नेपाल आएपछि छिमेकीले किन हेप्यो? भन्ने प्रश्नले उनको मस्तिस्क खलबलायो। उनले निष्कर्ष निकाले -ज्ञान पुगेन, हाम्रा प्रमाण नै कमजोर छन्। त्यही पछि हो, श्रेष्ठले सीमानकै विषयमा अध्ययन गर्ने निर्णय गरेको। उनका लागि १३ औं बैठक टर्निङ पोइन्ट नै बन्यो।

समय नपुगी जागिरबाट निकाले…

सिमानाकै विषयमा खोज अनुसन्धान गर्ने निचोडमा पुगे पनि सजिलो भएन। नापी विभागको सम्पूर्ण प्रशासन जिम्मेवारी एकातिर थियो भने अर्कातिर सरकारको नीति नियम बाहिर जान नमिल्ने बन्देज।

तर अर्को घटना कोशेढुंगा सावित भयो उनलाई।

२०४९ सालमा सरकारले देशभरका २३ सय सरकारी कर्मचारीलाई अवकाश दिने निर्णय गर्‍यो। अवकाशको सूचिमा बुद्धिनाराकाणको पनि नाम थियो। तर मापदण्ड बिनाको। न जागिरको अवधि पुगेको थियो न त उमेर नै। त्यतिबेला निजामति सेवा नियमावलीमा जागिर खाएको ३० वर्ष पुरा भएमा वा उमेर ६० वर्ष पुरा भए अवकाश दिने व्यवस्था थियो।

'५१ वर्षकै उमेरमा अवकाश पाए। ६० वर्ष पुगेर निकालेको भए त अब ठिकै छ भन्ने हुन्थ्यो तर प्रिम्याच्वर रिटायरमेण्ट भयो। एक हिसाबले मलाई इख पालायो,' उनले भने।

नेपाल भारतका सीमा समस्या समाधानका लागि लागी परेको व्यक्तिलाई किन हटाइयो होला?

'त्यो बेला एक जना उपमहानिर्देशक महानिर्देशकको आंकाक्षी थिए। उनलाई सरकारले यसरी एकै साथ धेरै कर्मचारी हटाउँदैछ भन्ने थाह रहेछ। उनैले मन्त्रीलाई प्रलोभनमा पारे, सायद मलाई काम गर्न नदिने भनेरै होला,' उनी सम्झन्छन्।

सरकारी सेवाबाट विदा भए पनि उनले अर्को अवसर देखे। नापी विभागबाट अवकाश पाएका ७ जना कर्मचारीलाई साथमा लिएर भूमि चित्र नापनक्सा कम्पनी दर्ता गराए। कम्पनीबाटै नापीनक्साका अध्ययन अनुसन्धान गर्ने उद्देश्य थियो श्रेष्ठको। 'जागिरबाट हटाएपछि इख पलायो। कम्पनी दर्ता गराएँ,' उनले भने, 'हामीले थुप्रै रिपोर्टहरु पनि बनाएका छौं कम्पनीबाट।'

त्यसपछि उनको अध्ययन अनुसन्धानको बाटो फराकिलो भयो। उनी देशविदेश पुगे। महिनौं पुस्तकालयमा बिताए, दस्तावेज खोज्न तल्लिन भए।

नाप नक्सांकनमा यसरी बढ्यो सीप

सरकारी सेवामा रहँदै नापनक्सा सम्बन्धी थुप्रै ज्ञान हासिल गरेका थिए उनले। २०२२ पुस १५ मा नापी अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए श्रेष्ठ। उनी सरकारी सेवामा प्रवेश गर्दा नापी विभागको नेतृत्व गर्ने विदेशी रहेछन्। अनौठो लाग्यो बुद्धिनारायणलाई - संयुक्त राष्ट्रसंघबाट आएका युएनडीपीका प्रतिनिधी जे आर जी ह्यारप डाइरेक्टर। ह्यारपले नापी विभागको प्रशासनिक जिम्मेवारीसमेत पाएका थिए। दुई वर्षका लागि आएका उनको कार्यकाल सकिएपछि उपनिर्देशक अर्जुनबहादुर बस्न्यात निर्देशक भए। बस्न्यातकै पालामा विभागमा पहिलोपटक महानिर्देशक रहने व्यवस्था गरियो।

६ वर्ष विभिन्न जिल्लामा नापी अधिकृत भएर काम गरेका श्रेष्ठ निर्देशक, उप महानिर्देशक हुँदै महानिर्देशक भए। भूगोलमा स्नातकोत्तर पढिरहेकै बेला उनीसहित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर पढिरहेका उनको ब्याजका ४ जनाले धरहराको उचाई नापे। जुन उनका लागि ऐतिहासिक अवसर थियो। भुगोल पढ्ने नै त्यो बेला ४ जनामात्रै थिए।

उनी विश्वविद्यालयको डिग्रीबाट प्राप्त ज्ञानको दायरा अझ फराकिलो बनाउन चाहन्थे। सरकारी जागिरे रहेकै बेला पनि उनले नापी, नक्सा तथा सीमानबारेका अवसर सदुपयोग गरे। कलकत्ताको वेस्ट बंगाल सर्भे इन्स्टिच्युटमा नापनक्साबारे पढनेदेखि क्यानडाको युनिभर्सिटी अफ वेस्टमा ल्यान्ड युज म्यापिङमा एक वर्षको ट्रेनिङ हुँदै जापानमा ३ महिनाको, जर्मनीमा पनि ३ महिनाकै ल्यान्ड इन्फर्मेसनको तालिम लिने अवसर पनि पाए श्रेष्ठले।

जापानमा सिकेको सीप उनले क्यानडाको काममा लगाए। भू-उपग्रहको सहयताले खिचिएको तस्विरबाट जमिनको नक्सा कसरी बनाउने भन्ने सिकेका थिए श्रेष्ठले। क्यानडामा उनले ४ महिनामा हावाई फोटोग्राफ भिडाएर नक्सांकन गर्ने काम गरे। त्यो बेलाको त्यो सबैभन्दा नयाँ प्रविधि थियो नाप नक्साका क्षेत्रमा। त्यसपछि नै आफ्नो ज्ञानको दायरा अलि फराकिलो भएको ठान्छन् श्रेष्ठ।

अवकाशपछि लेखन, किताबबाट मदन पुरस्कार

अवकाशपछि लेखनमा पनि सक्रिय भए। उनका ११ वटा पुस्तक प्रकाशन भएका छन्। उनी अहिले १२ औं पुस्तक प्रकाशनको तयारीमा छन्। 'कोरोना भाइरसको संक्रमण नफैलिएको भए आइसक्थ्यो। पाण्डुलिपी तयार छ। अब चाँडै प्रकाशन हुन्छ,' उनले भने। अध्ययनकै सिलसिलामा उनी ठुल-ठुला पुस्तकालय पुगेका छन्।

बेलायतको लण्डनमा ६ दिनको सेमिनारमा भाग लिन गएका श्रेष्ठ सवा महिना बसेर ब्रिटीस लाइब्रेरीमा अध्ययन गरे। त्यहाँबाट नेपालको सीमा काली नदीसम्म भएको र लिम्पियाधुरा नेपालकै हो भन्ने यथेष्ट प्रमाण पनि भेटे। भारतले लिपुलेक उद्गमस्थल भएको नदीलाई काली भनेको भएपनि उनले त्यसलाई चुनौति दिन इस्ट इन्डिया कम्पनीले भारतमा शासन गरेको बेलाको नक्सा फेला पारेर त्यसको कपी नेपाल ल्याए।

त्यही प्रमाणका आधारमा २०५७ सालमा उनले 'नेपालको सीमाना' नामक किताब प्रकाशन गरे। जसले २०५८ सालमा मदन पुरस्कार पाएको थियो। त्यो उनको दोस्रो किताब थियो। त्यसअघिको पुस्तक भने उनले सरकारी सेवामा बढुवा हुन लेखेका थिए। 'किताब लेखेको भए ४ अंक पाइन्थ्यो बढुवा हुन मैले कित्ता नापी भन्ने पुस्तक निकाले,' उनले भने, 'रिटायर भएपछि सिमानाको ज्ञान, भारत नेपाल सीमावत बाँध भन्ने किताब पनि लेखें। २०७६ मा इन्टरनेसनल बाउन्ड्री अफ नेपाल भन्ने लेखें। बोर्डर म्यानेजमेन्ट अफ नेपाल भन्ने पुस्तक पनि अंग्रेजीमा प्रकाशन भयो।'

उनले २०६० सालमा नै बोर्डर म्यानेजमेन्ट नामक पुस्तकमा लिम्पियाधराको चुचुरो भएको नेपालको नक्सा समावेश गरेका थिए। जुन नक्सा अहिले सरकारले निकालेको नेपालको नयाँ नक्सासँग मिल्दो छ। 'मेरो किताबमा भएको नक्सा चुच्चो परेको छ। अहिको फुर्को छ। त्यति हो फरक अरु जस्ताको तस्तै छ,' उनले भने। उनले नेपालका पुराना कुनै पनि नक्सामा अहिलेसम्म लिम्पियाधुराको चुचुरो समावेश नभएको बताए। '२०३० साल यता नेपालले आफैले नक्सा बनाउन थालेको हो। त्यसअघि त भारतले नै हो बनाइदिने।'

उनले बेलायत, अमेरिका र चीनबाट विभिन्न कालखण्डका नक्सा संकलन गरेका छन्। उनले १८५६ मा भारतले निकालेको, १८२७ मा इस्ट इन्डियाले निकालेको र १८ सय १९ मा सर्भे अफ इण्डियाले निकालेको नक्सा संकलन गरेका छन्। लाइब्रेरीमा नक्साबारे प्रमाण भेटाउन भने खुब कठिन भएको श्रेष्ठ सुनाउँछन्। 'क्याटलगबाट नक्सा भेटाउन नै कठिन भयो। हजारौं नक्सा हुन्थ्यो। त्यसमा उपयोगी नक्सा छुट्याउन कठिन। त्यसको फोटोकपी लिन झन् कठिन। नक्सा त ठुल ठुलो हुन्थ्यो। फोटोकपी गर्नलाई सात आठ पाउन्ड पर्थ्यो,' उनले भने, 'अमेरिकाको वासिङटन डिसीको लाइब्रेरी अफ कंग्रेसमा १७ डलर हालेर १८ सय २७ को इस्ट इन्डिया कम्पनीले बनाएको नक्सा ल्याएका थिए। मैले त्यहाँबाट पनि कपी गरेर ल्याएँ। जुन नक्साको केही अंश बजारमा छ्यापछ्याप्ती छ।' आफूले अमेरिकाबाट ल्याएको नक्साले भारतसँग वार्ता गर्ने ठुलो सहयोग हुने उनको दावी छ।

उनी नेपालको सिमानाबारे अध्ययन गर्न चीन पनि पुगे। नेसनल लाइब्रेरी अफ चाइनमा उनले हप्ता दिनभन्दा बढी बिताएका थिए। त्यहाँबाट पनि उनले चीनले प्रकाशन गरेको नक्सा संकलन गरेका छन्। अहिले सञ्चार माध्यममा प्रकाशन भएको धेरै जसो नक्सा आफूले संकलन गरेको नक्सा भएको श्रेष्ठको दाबी छ।

त्यस्तै लिम्पयाधुराको चुचुरो नेपालकै हो भन्ने विषय आफुले नै ब्युताँएको श्रेष्ठको दावी छ।

'मैले घमण्ड त गरेको होइन विनम्रताका साथ भन्छु सञ्चार माध्यममा ८० प्रतिशत मैले नै उजागर गरेको नक्सा हो। घमण्ड गरेको होइन। दावा गरेको होइन,' उनले भने।

'लिम्पियाधुरासहितको नेपालको चुच्चो नेपालकै हो भन्ने म नै पहिलो व्यक्ति हुँ जस्तो लाग्छ। मैले नबुझेको पो हुँ की। हुनत बजारमा अरु पनि आएका छन्। तर मैले मेरो पुस्तक बोर्डर म्यानेजमेण्ट अफ नेपाल नामक पुस्तकमा जुन चुच्चोसहितको नेपालको चुच्चो छ त्यो झण्डै अहिलेको नेपालको नक्सासँग मिल्छ,' उनले भने।

उनी बेलाबेला आफूले पुस्तकमा नक्सा सार्वजनिक गर्दै आएको बताउछन्। '२०६४ मा लेखेको सिमानको ज्ञान भन्ने पुस्तकको आवरणमा पनि हाले। २०६९ सीमा संग्राम भन्ने पस्तकमा पनि समावेश गरे। अन्तिममा फोल्ड गरेर। २०७६ मा इन्टरनेसनल बाउन्ड्री अफ नेपाल नामक पुस्तकमा पनि समावेश गरे,' उनले भने।

त्यति बेला धेरैको घोचपेच, अहिले भने खुसी

सरकारले नयाँ नक्सा निकालेकोमा सबैले अहिले खुसी मनाउन थाले पनि श्रेष्ठले आफ्नो पुस्तकमा दशकअघि चुच्चे नक्सा प्रकाशन गर्दा भने थुप्रैको घोचपेच सहनु पर्‍यो। उनलाई धेरैले पुस्तक प्रकाशन गर्दा नक्सा नै गलत प्रकाशन गरेको आरोप लगाएका थिए। 'बुद्धिनारायणजी तपाइको पुस्तकमा भएको नक्सा मिलेन नी,' पूर्व राजदूतहरु नै यसो भन्थे उनलाई। 'मैले त आफूले जाने बुझेअनुसारको नक्सा यही हो। गलत भएछ भने अर्कै कुरा,' भन्दै जवाफ दिन्थे उनी।

सरकरले अहिले नेपालको नक्सा प्रकाशन गरेकोमा बुद्धिनारायणको खुसीले सीमा नाघेको छ। श्रेष्ठ आफ्नो लामो समयको संघर्ष गन्तव्यमा पुग्न थालेको ठान्छन्। 'नेपाल सरकारले नेपालको नक्सा सार्वजनिक गरेकोमा खुसी छु,' उनले भने।

सीमा प्रमाण समिति गठनले गलत सन्देश

सरकारले पछिल्लो पटक सीमानाबारे प्रमाण संकलन गर्न समिति गठन गरेकोमा भने आक्रोशित छन् श्रेष्ठ। प्रमाण भएरै नक्सा जारी गरिसकेपछि फेरि प्रमाण जुटाउन समिति गठन गर्दा गलत सन्देश गएको र भारतीय मिडियाले प्रमाण नभएकाले समिति गठन गरेको भनेर प्रचार थालेको श्रेष्ठले बताए। अब प्रमाण संकलनका लागि नभइ वार्ताको रणनीति अध्ययन गर्ने समूह चाहिने उनको भनाई छ। 'प्रमाण खोजेर प्रमाण भएर ठोकुवा गरेर नक्सा जारी गरी सक्यो। किन फेरि प्रमाण खोजेको?' उनको सीधा प्रश्न।

समूहका संयोजकले उनलाई सहयोग मागेका छन्। 'मैले  पूर्ण सहयोग गर्छु भनेको छु,' श्रेष्ठले भने।

विज्ञ समूहमा श्रेष्ठ भने परेनन्। राजनीतिक पहुँच नभएकाले आफू समूहमा परेको ठम्याई छ उनको। 

'तर मै हुनुपर्छ त्यो ठाउँमा भन्ने के छ र? मेरैजस्तो विचार भएका मेरा साथीहरु छन्,' उनी ढुक्क सुनिए। तर, म्यान्डेट भने बदल्नुपर्ने सुझाव छ श्रेष्ठको। भने, 'समितिको म्यान्डेड भने बदल्नुपर्छ। अहिले प्रमाण संकलन गर्ने होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell