PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

असफलता लुकाउन छिमेकीसँग सीमा विवाद चर्काउँदै मोदी, चिनियाँ विश्लेषक भन्छन् : तीन तिरबाट सैन्य दबाब व्यहोर्नुपर्ला



पहिलोपोस्ट

असफलता लुकाउन छिमेकीसँग सीमा विवाद चर्काउँदै मोदी, चिनियाँ विश्लेषक भन्छन् : तीन तिरबाट सैन्य दबाब व्यहोर्नुपर्ला

  • याङ सङ/लिउ स्वानचुन -

पछिल्लो पटक भारत र चीनबीच सीमा विवाद चर्किँदै जाँदा गत सोमवार २० जना भारतीय सैनिकको मृत्यु भयो। चीनले भारतलाई सीमामा भएको घटनालाई छानविन गर्न तथा दोषीमाथि कारवाही गर्दै जवाफदेही बनाउन तथा भारतीय अग्रपंक्तिमा रहेका सेनालाई अनुशासनमा राख्न भन्यो। त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्रीसँगको टेलिफोन संवादका क्रममा यस्ता घटना पुन: दोहोरिन नदिनका लागि भारतीय पक्षलाई सचेत गराए।

अहिले भारतीय र चिनियाँ सैन्य अधिकारीहरुबीच पछिल्लो विवाद समाधानका लागि वार्ता चलिरहेको छ। गलवान उपत्यकामा भएको घटनाक्रमले पुन: एक पटक भारतीय सैनिक लाइन अफ एक्चुअल कन्ट्रोल पार गर्दै चिनियाँ सैन्य अधिकारीलाई उक्साउँदै आक्रमण गरेपछि घटना भएको भन्दै चिनियाँ विदेशमन्‍त्री वाङले भारतीय समकक्षीलाई त्यसतर्फ सचेत गराएका थिए।

'भारतीय सैनिकका यस्ता घातक कदमले यसअघि दुई देशबीच सीमा विवाद समाधानका लागि भएका सहमति तथा अन्तर्राष्ट्रिय सम्बन्धका सामान्य मान्यताहरुलाई उल्लंघन गरेका छन्,' चिनियाँ विदेश मन्त्रीले भनेका थिए, 'भारतले यस्ता घटना पुन: नदोहोरिउन भन्ने विश्वास दिलाउनुपर्छ। भारतले अवस्थालाई गलत मुल्यांकन गर्न नहुने र भौगोलिक सम्प्रुभता रक्षाका लागि चिनियाँ शक्तिको अवमूल्यन गर्न हुँदैन।'

सो संवादमा भारतीय विदेशमन्त्री जयशंकरले भारत सीमा विवाद शान्तिपूर्ण तरिकाले चीनसँग संवाद गरी समाधान गर्न चाहेको बताएका थिए।

चिनियाँ विश्लेषकहरुले घटनालगत्तै दुई देशका उच्च कुटनीतिक नेतृत्वबीच भएको टेलिफोन संवादले अवस्थालाई समाधान गर्नका लागि चीनले इमान्दारिता प्रदर्शन गरेको बताएका छन्। उनीहरुले अब भारतको कोर्टमा बल पुगेको र समस्या समाधान खोज्ने कि अवस्थालाई भट्काउने भन्ने उनीहरुमै निहित रहेको जनाएका छन्। चीन जस्तोसुकै अवस्थाका लागि पनि तयार रहेको बताएका छन्।

चिनियाँ विश्लेषकहरुले गलवानमा २० भारतीय सैनिकको ज्यान जाने गरी भएको घटनाले तनावलाई नबढाउने विश्वास गरेका छन्। उनीहरुले दुबै पक्ष संवादबाट समस्याको समाधान गर्न सहमत भएको भन्दै यस्तो विश्वास व्यक्त गरेका छन्। 'यदि भारतले सीमा क्षेत्रमा रहेका आफ्ना सैनिकलाई नियन्त्रणमा लिन सकेन भने कोभिड-१९ ले क्षति पुर्‍याएको भारतीय अर्थतन्त्रले ठूलो मूल्य चुकाउनुपर्ने छ। भारतको अविकसित सैन्य शक्ति चीनसँग विवाद बढाउन सक्षम छैन,' चिनियाँ विश्लेषकले भनेका छन्।

घटनामा एलएसीको चिनियाँ भूमिमा भएको भन्दै यसको जिम्मेवारी चीनले नलिने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले घटना भएको अर्को दिन मंगलवार भनेका थिए।

सांघाइ एकेडमी अफ सोसल साइन्सको इन्स्टिच्यूट अफ इन्टरनेशनल रिलेसनका रिसर्च फेलो हु चियोङले सीमासम्बन्धी विषयलाई परिवर्तन गर्नुपर्ने चीनसँग कुनै स्वार्थ नभएको भन्दै घटना चिनियाँ क्षेत्रमा भएको र भारतीय पक्षको उक्साहटका कारण २० भारतीय मृत्यु भएको पिपल्स डेलीलाई बताएका छन्।

'हाल भारतभित्र सरकारमाथि कोरोना भाइरसलाई नियन्त्रण गर्न नसकेको तथा अर्थतन्त्र तहनहस पारेको आरोप लागिरहेको छ। त्यसैले भारतलाई आफ्ना छिमेकीविरुद्ध कदम चाली आन्तरिक ध्यानलाई भड्काउँदै राष्ट्रवादीको नाराले मोदीको पक्षमा समर्थन बढाउने प्रयास आवश्यक छ,' हुले भनेका छन्।

अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान सैक्सले गरेको प्रक्षेपणले भारतीय अर्थतन्त्र धारासाही हुने कोभिड-१९ नियन्त्रणका लागि गरिएको लकडाउनले थप अर्थतन्त्रलाई कमजोर पारेको उल्लेख छ। सन् २०२०-२१ मा भारतीय अर्थतन्त्रमा पर्ने प्रभावबारे गोल्म्यान गरेको यो तेस्रो प्रक्षेपण हो जसमा भारतीय अर्थतन्त्रमा अत्याधिक गिरावट आउने बताएको छ।

यही समयमा भारत चीन, पाकिस्तान र नेपालसँग एकैपटक सीमा विवादमा व्यस्त रहेको हुले बताएका छन्। पाकिस्तान चीनको रणनीतिक साझेदार हो भने नेपालको पनि चीनसँग नजिकको सम्बन्ध छ र दुवै चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनसिएटिभका साझेदार हुन्।

'यदि भारतले सीमा विवादलाई बढायो भने उसले दुई तिरबाट अथवा तीन तिरबाट पनि हुन सक्छ, सैन्य दबाब बेहोर्ने छ। जुन भारतको सैन्य क्षमता भन्दा बाहिरको कुरा हो र यसबाट भारतले विनाशकारी हार व्यहोर्ने छ,' हुले भनेका छन्, 'र, यो हार हिन्दु राष्ट्रवादका लागि स्वीकार्य विषय होइन। यसको नतिजा मोदी प्रशासनले शक्ति गुमाउने छ।'

उनले भारतीय नीति निर्माताहरुले यस अवस्थालाई कम रुपमा आँकलन गर्न नहुने बताएका छन्। उनीहरुले चीन र अमेरिकाबीच सम्बन्ध खराब हुँदा भारतले चीनलाई चुनौती दिने अवसरको रुपमा हेरेको बताएका छन्।

चिनियाँ विज्ञहरुले मोदी प्रशासनले भारतमा चीनलाई भड्काउने गतिविधि तथा प्रो-अमेरिकी शक्तिलाई नियन्त्रण गर्नुपर्ने सुझाव दिँदै यसले नकारात्मक नतिजा निम्त्याउने बताएका छन्।

भारतीय पक्षले सार्वजनिक गरेको मानवीय क्षतिलाई हेर्दा यो विवाद भारत र चीनबीच भएको दशकौँ यताको खराब र खतरनाक झडप हो। र, भारतका लागि उत्तम विकल्प भनेको चीनलाई भड्काउने गतिविधिलाई रोक्दै सम्बादको माध्यमबाट सीमा विवाद समाधान गर्नु नै हो। यस घटनालाई सन् १९६२ मा जस्तै गरी गलत ढंगले व्याख्या गर्नु उसको भूल हुने चिनियाँ विश्लेषकहरुले बताएका छन्।

चीनले अहिलेसम्म घटनामा आफ्नो तर्फबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन। बेइजिङस्थित मिलिट्री एकेडेमीका सैन्य विज्ञले चीनले घटनालाई उचाल्न नचाहेको बताएका छन्। उनले दुवै देशका नागरिकमा यसको प्रभाव नपरोस् भन्नका कारण नै घटनाको क्षति सार्वजनिक नगरेको ग्लोबल टाइम्ससँग भनेका छन्। घटनाको क्षति सार्वजनिक गर्दा दुवै देशमा राष्ट्रवादी भावना बढ्ने र जुन विवाद समाधानका लागि सहयोगी नहुने उनले बताएका छन्।

'अर्को शब्दमा भन्नुपर्दा यदि भारतीय राष्ट्रवादीहरुले चिनियाँ जनमुक्ति सेनाका तर्फ भारतीय सैनिकतर्फ भन्दा कम क्षति भएको जानकारी पाए भने मोदी प्रशासन र भारतीय सैनिकमाथि ठूलो दबाब पर्ने छ र यसले सीमा विवाद भड्काउन मद्दत पुग्ने छ। त्यसैले यस विषयमा मौन रहनु नै वुद्धिमत्ततापूर्ण निर्णय हो,' नाम नबताउने शर्तमा ती सैन्य विज्ञले बताएका छन्।

विश्लेषक हुले भारतले मृत्युको विवरण सार्वजनिक गरेर अन्तर्राष्ट्रिय सद्भाव बटुल्न खोजेको आरोप लगाए। 'तर, अहिले सबै पश्चिमा शक्तिहरु आफ्नो आन्तरिक समस्या समाधानका लागि व्यस्त छन्। त्यसैले कसैले पनि ठोस रुपमा भारतलाई सहयोग गर्ने छैनन,' हुले भनेका छन्।

गोली प्रहार नगरी १७ भारतीय सैनिकको मृत्यु हुनु भनेको त्यस क्षेत्रमा परिचालनका लागि भारतीय सैनिक योग्य नभएको प्रमाणित नभएको पुष्टि भएको एक पीएलएका पूर्व अधिकारीले बताए। 'हिउँ जम्ने उचाई वास्तवमै अप्रेसन सञ्चालनका लागि चुनौतीपूर्ण हो,' उनले भनेका छन्।

त्यस्तै, भारतीय सैनिकलाई स्वास्थ्य तथा अन्य बन्दोबस्तीका सामग्री पुर्‍याउनका लागि असक्षम रहेको प्रमाणित गरेको उनले बताएका छन्।

'यदि उनीहरुलाई समयमै उपचार गरिएको भए उनीहरु मर्ने थिएनन्,' ती पूर्व सैन्य अधिकारीले भनेका छन्, 'हुनसक्छ उनीहरुसँग राम्रो फिल्ड अस्पताल थिएन। र, यातायातको प्रबन्ध राम्रो थिएन। अक्सिजन ब्याग र न्याना कपडा पनि थिएनन् कि।' उनले यी विवरणले भारतीय सैनिकको सैन्य क्षमता सीमित छ भन्ने प्रमाणित गरेको बताएका छन्।

चीन र भारतीय सीमा सुरक्षाका लागि परिचालित फौजले घातक हतियार तथा गोलीको प्रयोग नगर्ने सहमति गरेका छन् जसले सीमामा विवाद बढाउने गतिविधि कम गर्छ।

चीन र भारतले सीमा विवादलाई बुद्धिमत्ततापूर्ण ‌ढंगले समाधान गर्दै आएका छन्। यस्ता घटना पछि पनि अवस्था नियन्त्रण हुँदै आएको छ। यदि हतियारको प्रयोग गर्नुपर्ने अवस्था आयो भने थप मृत्युलाई रोक्न कसैले नसक्ने चिनियाँ विश्लेषकहरुले बताउँदै आएका छन्।

चिनियाँ जनमुक्ति सेनाले भारतसँग सीमा जोडिएको तिब्बतमा यसबीच अनेक सैन्य अभ्यास गरेको छ। यसले चिनियाँ सेना जस्तोसुकै खराब अवस्था आए पनि सामना गर्न तयार अवस्थामा रहेको संकेत गर्दछ।

(ग्लोवल टाइम्समा प्रकाशित याङ सङ र लिउ स्वानचुनद्वारा लिखित आलेखको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell