
काठमाडौं : सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले नेपाल-चीनको १ नम्बर सीमा पिल्लरमा गस्ती गरेको छ।
गत महिना छाङरुमा स्थापना भएको बोर्डर आउट पोस्ट (बीओपी)बाट इन्सपेक्टर लिली चन्दको एपीएफ टोलीले लिपुलेक नजिकैको १ नम्बर सीमा स्तम्भमा फोर्स मार्च गरेको हो। एक नम्बर पिल्लरबाट लिपुलेक ७ किलोमिटर टाढा छ। जुन अहिले भारतको कब्जामा छ। सो क्षेत्रमा भारतले सडक बनाइरहेको छ।
नेपाल-चीनको एक नम्बर पिल्लर भने तिंकरमा पर्छ। तिंकर वस्तीबाट १० किलोमिटर टाढा छ सीमा स्तम्भ। असार ३ गते छाङरुबाट एपीएफ टोली गस्तीका लागि तिंकर सीमातर्फ गएको थियो।
असार ३ गते बीओपीको एपीएफ टोली तिंकरतर्फ गएकै दिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र प्रधान सेनापति पूर्णचन्द्र थापा सीमा तथा सडक निरीक्षणका लागि हेलिकोप्टरबाट छाङरु पुगेका थिए। उनीहरुले तिंकरको हवाई निरीक्षणसमेत गरेका थिए।
दार्चुलाको खलंगास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डीएसपी डम्बरबहादुर विष्टले छाङरुबाट एपीएफ टोली एक नम्बर पिल्लर पुगेर आइतवार फर्किएको जानकारी दिए।
‘छाङरुको टोली फोर्स मार्च गरेर हिजो फर्किएको छ। तिंकरको एक नम्बर पिल्लरमा हाम्रो नियमित गस्ती हुँदै आएको छ,’ उनले भने।
उनका अनुसार एक नम्बर पिल्ल रमा यसअघि गुल्मबाट थुप्रैपटक गस्ती भइसकेको छ। बीओपीबाट भने पहिलोपटक हो।
डीएसपी विष्टले फोर्स मार्चका क्रममा तिंकरका गाउँवस्ती, तिकंर पास, पिल्लरको अवस्था, जनताको सुरक्षा, चोरीपैठारी तथा निकासी लगायतका विषयमा जानकारी तथा निगरानी गरिएको बताए। उनका अनुसार भारतले लिपुलेकमा बनाइरहेको सडकबारे पनि सशस्त्रले जानकारी लिएको छ।
स्थानीयले भत्काए काठेपुल
यता गुञ्जीका स्थानीय बासिन्दाले कालापानी जान भारतीय पक्षले बनाएको अस्थायी काठेपुल भत्काइदिएका छन्। सशस्त्र प्रहरी गस्तीमा आएका बेला स्थानीयले नेपाली भूमिमा बनाएको पुल हटाएका हुन्। गुञ्जी नेपाली गाउँ हो। कालापानीमा कब्जा जमाएको भारतले नेपाली गाउँहरु गुञ्जी, नाभी र कुटीलाई पनि आफ्नो नियन्त्रणमा राखेको छ।