PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सबै जिल्लामा संक्रमण फैलिँदा चीनसँग नाका रहेको रसुवा भने 'ग्रिन जोन'मै : प्रजिअ भन्छन्, 'चुनौती थपिएको छ'



प्रकाश भण्डारी

सबै जिल्लामा संक्रमण फैलिँदा चीनसँग नाका रहेको रसुवा भने 'ग्रिन जोन'मै : प्रजिअ भन्छन्, 'चुनौती थपिएको छ'

काठमाडौं : पहिलो कोरोना संक्रमित देखिएको झण्डै पाँच महिनाको अवधिमा ७६ जिल्लामा संक्रमण फैलिएको छ। भारतसँग सिमाना जोडिएका तराइका जिल्ला हुँदै पहाड पुगेको संक्रमण पछिल्लो समय हिमालसम्मै पुगेको छ। हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमासमेत संक्रमित भेटिसकेका छन्।

सवा दुई लाख बढीको पीसीआर परीक्षण गर्दा ९ हजार २६ लाई हालसम्म संक्रमण पुष्टि भयो। संक्रमितमध्ये २३ जनाको मृत्यु भएको छ। पाँच महिनासम्म पनि वागमती प्रदेशको एक हिमाली जिल्ला कोरोनबाट अछुत छ।

संक्रमणले नेपाल छपक्कै हुँदा रसुवा कसरी अछुत रह्यो त?

कम जनसंख्या, चुस्त व्यवस्थापन

रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले संक्रमण नभित्रिनुमा चुस्त व्यवस्थापन नै पहिलो कारण भएको दावी गरे। थोरै जनसंख्या भएकाले प्रशासनले चुस्त व्यवस्थापन गर्न सकेको र त्यसको कारण संक्रमण नभित्रिएको उनको भनाई छ। जिल्लाभरको जनसंख्या ५० हजारको हाराहारी मात्रै छ। उनका अनुसार चीनमा संक्रमण फैलिँदा नै रसुवागढी नाका बन्द गर्नुले पनि रसुवामा संक्रमण नफैलिएको हो। नेपालमा संक्रमण भित्रिनुअघि नै चीनको सीमानाका बन्द गरिएको पन्तले बताए।

रसुवाबाट विदेशभन्दा काठमाडौं जाने चलन भएकाले पनि संक्रमित नदेखिएको पन्तले बताए। नागरिक अनुशासित हुँदा संक्रमण नभएको हुनसक्ने आँकलन छ, उनको। 'स्थानीय प्रशासनको कडाइ र नागरिकको अनुशासनको पालनाले पनि संक्रमण नभित्रिएको होला,' पन्तले भने।

विदेशबाट आउनेको संख्या पनि न्युन छ। प्रशासनसँग १९ सय मात्रै विदेशमा भएको आँकडा छ। त्यसमध्ये ४ सय जना आउने अनुमान थियो। 'सबैजना विदेशबाट फर्कन्छन् भन्ने छैन। अहिले कुवेत र भारतबाट आएकामा संक्रमण देखिएको छैन्। विदेश जाने चलन पनि रसुवामा कमै छ,' पन्तले भने। हालसम्म विदेश तथा अरु जिल्लाबाट ३ सय जना मात्रै आधिकारीक बाटो हुँदै रसुवा फर्किएका छन्। उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेको पन्तले बताए।

३२ जनाको रिपोर्ट कुर्दै

हालसम्म ५ सय ६ को आरडीटी र ३३ जनाको पीसीआर परीक्षण गरिँदा जिल्लामा संक्रमण नदेखिएको हो। फेरि ३२ जनाको स्वाब संकलन गरी पीसीआरका लागि पठाइएको छ। उनीहरुको रिपोर्ट कुरिरहेको छ, रसुवाले। २ सय ९९ जना क्वारेन्टाइनबाट र ७ जना जना आइसोलेसनबाट घर फर्किसकेका छन्। अरु ठाउँमा क्वारेन्टाइनबाट भागे भन्ने समाचार आए पनि आफूले चुस्त व्यवस्थापन गरेकाले त्यो अवस्था नआएको पन्तको दावी छ। 'क्वारेन्टाइनमा चुस्त ब्यवस्थापन छ। यो भन्दा कम जनसंख्या भएको जिल्लामा पनि संक्रमित देखिँदा हाम्रोमा देखिएको छैन। क्वारेन्टाइनबाट भाग्नुपर्ने अवस्था पनि छैन्,' उनले भने। रसुवामा ३ सय २ जनाका लागि क्वारेन्टाइन बेड छ। तर धेरैजसो क्वारेन्टाइन बेड खाली छन्। अहिले विदेश तथा अरु जिल्लाबाट आएकालाई परीक्षण गरेर घर पठाएकाले बेड खाली भएका हुन्।

आवागमन व्यवस्थित

आवागमनलाई ठप्प पार्ने भन्दा पनि ब्यवस्थापन गर्दा संक्रमण भित्रिन नपाएको पन्तले अनुभव छ।

'आवागमन नै बन्द गर्ने भन्ने कोरा कल्पना हो। त्यसो गरेको भए झन् अरु बाटोबाट संक्रमित आउ नसक्ने सम्भावन रहन्थ्यो हामीले त्यसो गरेनौं। जिल्लामा प्रवेश गर्नेको निगरानी बढाएँ,' उनले भने।

देशभर संक्रमित फैलिदा रसुवामा संक्रमण नफैलिएको खुसी भएपनि अब कसरी जोगाउने भन्नेमा चिन्तित भएको पन्तले बताए। संक्रमण वढदै गएकाले संक्रमित नागरिक जिल्लामा आउने चुनौती बढेको पन्तको आँकलन छ। 'सबै जिल्लामा संक्रमण फैलिएको छ। त्यसैले संक्रमित नागरिकहरु आउनसक्ने सम्भावना धेरै छ। चुनौति त अवश्य नै बढ्यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell