PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

कोरोना संक्रमण : चार प्रदेशमा संक्रमितको संख्या हजार नाघ्यो, कुन प्रदेशमा कति?



विधुर ढकाल

कोरोना संक्रमण : चार प्रदेशमा संक्रमितको संख्या हजार नाघ्यो, कुन प्रदेशमा कति?

काठमाडौं : कोभिड-१९ को चपेटमा सबै प्रदेशहरु परेका छन्। ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्‍टि भइसकेको छ। संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश २, प्रदेश ५ र कर्णाली प्रदेशमा छ। त्यस्तै सबैभन्दा कम प्रभावित प्रदेश वागमती, प्रदेश १ र गण्डकी रहेका छन्।

पछिल्लो पटक ओखलढुंगामा एक जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७६ पुगेको छ। रसुवामात्र हालसम्म त्यस्तो जिल्ला हो जहाँ संक्रमण पुष्टि भएको छैन।

 

कुन प्रदेशको अवस्था कस्तो?

प्रदेश १ मा ४४८

पछिल्लो तथ्यांकअनुसार प्रदेश १ का १४ जिल्लामध्ये सबै १४ जिल्लामा संक्रमण पुष्टि भएको छ। ओखलढुंगामा पहिलोपटक आइतवार एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले आधिकारिक रुपमा जानकारी गराएको छैन

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या ४४८ पुगेको छ। यो तथ्यांकमा हिजो अवेर पुष्टि भएका ओखलढुंगाका संक्रमितलाई समावेश गरिएको छैन।

संक्रमितमध्ये महिला ४१ र पुरुष ४०७ रहेका छन्। यहाँ १८ हजार ६०४ नमुना परीक्षणका लागि संकलन गरिएका छन्।

त्यस्तै संक्रमितमध्ये हालसम्म २३५ जना डिस्चार्ज भइसकेका छन्। जसमध्ये महिला १७ र पुरुष २१८ जना रहेका छन्। हाल आइसोलेसनमा १८ महिला र १८१ पुरुष गरी १९९ जना संक्रमित आइसोलेसनमा रहेका छन्। प्रदेश १ मात्र यस्तो प्रदेश हो जहाँ कोरोना भाइरसका संक्रमितको मृत्यु भएको पुष्टि छैन।

यता स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आइतवार साँझसम्म प्रदेश १ मा ४५४ जना संक्रमित पुष्टि भएका छन्।

 

प्रदेश २ मा सबैभन्दा बढी संक्रमित

सबैभन्दा बढी संक्रमण पुष्टि भएको प्रदेश हो प्रदेश २।  त्यहाँ कोराना संक्रमितको संख्या २ हजार ९ सय २ पुगेको  छ। त्यस्तै डिस्चार्ज हुनेमध्ये आधा यही प्रदेशबाट छन्। प्रदेशका संक्रमितमध्ये ९ सय ५२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रदेश २ मा हालसम्म २ हजार ७ सय ४३ पुरुष र १ सय ६० जना महिलामा कोराना संक्रमण देखिएको छ। हालसम्म प्रदेश २ को सबैभन्दा बढी रौतहटमा ९ सय ९९ पुरुष र ४६ जना महिला गरी कुल १ हजार ४५ जनामा कोराना संक्रमण देखिएको छ भने २ सय ४७ जना डिस्चार्ज भइसकेका छन्।

सर्लाहीमा ५ सय २१ पुरुष र ३० महिला गरी ५ सय ५१ जनामा संक्रमण देखिएको छ भने १ सय ६३ उपचारपश्चात निको भएर घर फर्केका छन्। महोत्तरीमा ५ सय १३ जना पुरुष र २१ जना महिला गरी कुल ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ। धनुषामा २ सय ३३ जना पुरुष र १५ जना महिला गरी कुल २ सय ४८ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

वागमती प्रदेश मृत्यु बढी

वागमती संक्रमितको संख्याको हिसाबले पुछारमा रहेको प्रदेश हो। तर मृत्युका घटना हेर्दा अगाडि छ। यहाँ आइतवार साँझसम्मको अपडेटअनुसार संक्रमितको संख्या ३०१ छ। जुन नेपालको कुल संक्रमितको ३.३ प्रतिशत हो। मृत्यु हुनेको संख्‍या ४ छ। जुन नेपालमा भएको कुल मृत्युको १७ प्रतिशत हो। त्यस्तै यहाँ संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ५६ छ। नेपालमा कुल डिस्चार्ज भएको संख्याको ३.२ प्रतिशत मात्र हो।

 

गण्डकीमा ५३९ मा संक्रमण

गण्डकी प्रदेशका सबै जिल्लामा संक्रमण पुष्टि भएको छ। ११ जिल्लामा संक्रमण पुगेको प्रदेशमा संक्रमितको संख्या ५३९ पुगेको छ। त्यस्तै यहाँ डिस्चार्ज हुनेहरुको संख्या ४८ पुगेको छ। यहाँ एक जनाको मृत्यु भएको छ।

हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा पनि एक एक जनामा संक्रमण पुष्टि भएको छ।

 

 

प्रदेश ५ संक्रमणमा दोस्रो

प्रदेश ५ कोरोना भाइरसको संक्रमणको हिसाबले दोस्रो प्रभावित जिल्ला हो र मृत्युको तथ्यांकमा पहिलो जिल्ला हो। यहाँ दुई हजार ४५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ९८६ जना उपचारपछि डिस्चार्ज भएका छन्।

यहाँ १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये २ जनाको भारतमा मृत्यु भइ नेपालमा परीक्षण भएको हो भने एक जनाले आत्महत्या गरेका हुन्। त्यस्तै हालसम्म एक हजार ४५६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ। प्रदेशमा हाल २१ हजार ७२६ जना क्वारेन्टाइनमा रहेका छन्।

 

 

कर्णालीमा २५६

सबैभन्दा पछिल्लो पटक जेठ ५ मा संक्रमण पुष्टि भएको कर्णाली प्रदेशमा यो एक महिनामा एक हजार २५६ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा मृत्यु हुनेको संख्या ४ पुगेको छ। यहाँका संक्रमितमध्ये ५३१ जना डिस्चार्ज भएका छन्।

यहाँ संक्रमितमध्ये एक हजार १५३ जना पुरुष र १०३ जना महिला छन्। यहाँ संक्रमण पुष्टि भएकाहरु मध्ये १६ जना अन्य प्रदेशका छन्। जसमध्ये अछामका १० बझाङका १ बाजुरा गोरखा दोलखा रामेछाप र काठमाडौंका एक/एक जना छन्।

 

 

सुदुरपश्चिममा १००६

सुदुरपश्चिम प्रदेशमा संक्रमितहरुको संख्या १००६ पुगेको छ। संक्रमितको संख्या एक हजार कट्ने सुदुरपश्चिम चौथो प्रदेश हो।

यहाँका संक्रमितमध्ये १३८ जना डिस्चार्ज भएका छन्। यहाँ चार जनाको मृत्यु भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell