काठमाडौं : नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयले देश राजनीतिक दुर्घटनातर्फ जाने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतवार गरेको उक्त निर्णयप्रति आपत्ति जनाउँदै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले सांप्रदायीक दंगा फैलाउन खोजेको आरोप समेत लगाए।
'यो निर्णय अत्यन्त अपरिपक्व, मुलुकमा सांप्रदायिक दंगा भड्काउने। प्रकारान्तले नेपाललाई विभाजनतिर लैजाने निर्णय हो,' उनले भने।
उनले दुई वर्षको अवधिलाई हेर्दा नेकपाको नीति एकपाखे भएको बताए। उनले भारत र चीनसँग मित्रतको सम्बन्ध राख्नुपर्ने बताउँदै सत्ताधारी पार्टीको निर्णयले प्रजातन्त्रपछि स्थापना भएको जगमा एकपछि अर्को प्रहार गरेको उनको भनाइ छ।
उनले सांस्कृतिक सम्बन्धमाथि आक्रमण गर्ने अधिकार कसैलाई नभएको बताए। बिहार र यूपीमा मधेशको वैवाहिक सम्बन्धले राष्ट्रिय एकता खतरामा जान्छ भन्ने सोचले बिस्तारै त्यसलाई समाप्त गर्ने दिशामा नेकपा लागेको उनको आरोप छ।
सांसद जितेन्द्रले कुनै पनि पार्टीले नेपाल र भारतको सम्बन्ध नजोडेको र त्यसलाई कसैले तोड्न नसक्ने बताए।
उनले भने, 'भारतसँगको सम्बन्धलाई बाइकट गरेर चिनियाँको झोलामा नेपाललाई लैजाने भन्ने मानसिकता पालेर पुरानो आइडियोलोजीमा जुन काम गर्दै हुनुहुन्छ। त्यसले राजनीतिक दुर्घटना भयो भने तपाईँ हामी मिलेरै जेलमा जानुपर्ने हुन्छ।'
सांसद जितेन्द्रनारायणले नेकपाको अपरिपक्व निर्णय भएको भन्दै उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरे। उनले मधेशवादी दल र कांग्रेसलाई नेकपाले हेप्ने भन्दै प्रश्न पनि गरे।
'नेपाली कांग्रेसजस्तो पार्टीलाई हेप्ने। कांग्रेस र मधेशवादी दललाई हेपेर एक्लै मुलुकलाई सञ्चालन गर्ने, सम्भव छ त्यो? पोलिटिकल एक्सिडेन्ट हुन्छ यो मूलुकमा। सहमति नतोड्नुस्। नागरिकताको धारा सहमतिको धारा हो। त्यसलाई उल्टाउन पाइन्छ,' उनले भने।
उनले मुलुकमा द्वन्द्व निम्त्याउने बाटोमा नलाग्न नेकपालाई उनको आग्रह थियो।
त्यस्तै, जनता समाजवादी पार्टीका सांसद मृगेन्द्रकुमार सिंहले नेकपाले राज्य व्यवस्था समितिमा बहुमतको दम्भ देखाएर गरेको निर्णयले मुठभेड निम्त्याउने बताए।
उनले नेपाली पुरुषसँग विवाह गरेर आउने भारतीय महिलाले नै राष्ट्रघात गरेका हुन भन्दै प्रश्न समेत गरे। 'हाम्रो खेत सुख्खा पारेर कोशी बेच्ने, कोशी सम्झौता गर्ने भारतीय चेली हुन?,' उनले प्रश्न गरे।
उनले राष्ट्रघातीतिर ध्यान नदिए एउटा समुदायको संस्कृति, भावनामाथि चोट भएको बताए। उनले राष्ट्रलाई मुठभेडमा नलैजान आग्रह गरे।