PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालमा कोरोना संक्रमित संख्या एक लाख नजिकै पुग्ने आँकलन, अस्पतालले नथेग्ने भन्दै होम आइसोलेसनको कार्यविधि तयार



खेमराज श्रेष्ठ

नेपालमा कोरोना संक्रमित संख्या एक लाख नजिकै पुग्ने आँकलन, अस्पतालले नथेग्ने भन्दै होम आइसोलेसनको कार्यविधि तयार

काठमाडौं : सरकारले नेपालमा कोभिड १९ का संक्रमित संख्या एक लाख नजिक पुग्ने अनुमान गरेको छ। संक्रमितहरुको अहिलेको दरलाई आधार मानेर स्वास्थ्य मन्त्रालयले एक लाख संक्रमित पुग्न सक्ने भन्दै त्यसअनुसार तयारी अगाडि बढाएको छ।

देशभर हिजो साँझसम्म ९ हजार २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। दैनिक ‍औशत ४ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेको छ। सीमित परीक्षणका कारण संख्या कम देखिएको हो। सरकारले लकडाउन मोडालिटी परिवर्तन गरेयता संक्रमण थप बढेको छ।

स्वास्थ्य मन्त्रालयले नेपालमा ९१ हजार मानिसमा कोरोना पोजेटिभ देखिन सक्ने आँकलन गरेको छ। र, त्यही अनुसार तयारी भइरहेको स्वास्थ्य मन्त्रालयलका सचिव लक्ष्मण अर्यालले जानकारी दिए। संसदको सार्वजनिक लेखा समितिमा औषधी खरीदको विषयको छलफलका लागि डाकिएका सचिव अर्यालले यस्तो जानकारी दिएका हुन्। '९१ हजार मानिसमा संक्रमण देखिन सक्ने अनुमान गरिएको छ। त्यही अनुरुपको तयारी गरिरहेका छौं,' सचिव अर्यालले भने।

अहिले देशभर ९४ हजार ९ सय मानिस क्वारेन्टाइनमा छन्। त्यस्तै ७ हजार २ सय कोरोना संक्रमितिलाई विभिन्न अस्पतालको आइसोलेसनमा राखिएको छ। यसैबीच सरकारले कोरोना संक्रमणको परीक्षणको लागि पीसीआरको दायरा बढाउने तयारी गरेको छ। तर, पर्याप्त प्रयोगशाला र मेसिनको अभावमा समयमा नै परीक्षण हुन सकेको छैन। साथै, भारतबाट नेपाल भित्रने नेपालीहरुको संख्यामा कमी आए पनि रोकिएको भने छैन। भारतको महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै संक्रमण फैलिएको छ। नेपालीहरु धेरैजसो यिनै दुई राज्यबाट स्वदेश फर्किएका छन्।

कतिपय अवस्थामा मृत्युपछि मात्र कोरोना भाइरस रहेको रिपोर्ट आइरहेको छ। अहिले पनि १८ हजार मानिसको स्वाब संकलन गरिएको छ। तर, परीक्षण तीब्र गतिमा हुन सकिरहेको छैन। सचिव अर्यालले सोमवार समितिमा १८ हजार स्वाव संकलन गर्न बाँकी रहेको जानकारी दिए।

संक्रमतिको सङ्ख्या थपिदै जाँदा कसरी व्यवस्थापन गर्ने समस्या भइरहेको छ। सरकारले विदेशबाट ल्याएकालाई समेत कसरी व्यवस्थापन गर्ने भन्ने स्पष्ट नीति बनाइसकेको छैन। त्यसैले अहिले सरकारले होम आइसोलेसनलाई बढी प्राथमिकतामा राख्ने तयारी गरेको छ। मन्त्रालयले होम आइसोलेसन बन्ने कार्यविधि तयार पारेर मन्त्रिपरिषद बैठकमा लैजाने तयारी गरिरहेको सचिव अर्यालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell