PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भर्चुअल मिटिङमा भद्रगोल : अश्लिल भिडियो हाल्नेलाई कारवाहीका लागि एनटीएले प्रहरीसँग मिलेर काम गर्ने



वसन्तराज उप्रेती

भर्चुअल मिटिङमा भद्रगोल : अश्लिल भिडियो हाल्नेलाई कारवाहीका लागि एनटीएले प्रहरीसँग मिलेर काम गर्ने

काठमाडौं : सोमवार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न भर्चुअल बैठक आयोजना गर्‍यो। पर्यटन क्षेत्र दुरावस्थामा पुगेकाले बैठकमा सबैको चासो थियो। तर, एउटा भिडियोका कारण बैठक नै भड्कियो।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको संयोजकत्वमा भएको यो भर्चुअल बैठकमा नेपाल संस्कृति पर्यटन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए।

बैठकमा मन्त्री भट्टराईले आफ्नो मन्तब्य राख्न सुरु गरेको केही बेरमै अश्लिल चलचित्र देखिन थाल्यो। र, त्यसमा प्रयोग भएको आवाज पनि।

'ह्यारिस' नाम गरेका प्रयोगकर्ताले अश्लिल चलचित्र सार्वजनिक रुपमा राखिदिएपछि संचालकले एक्कासी बैठक रद्ध गरेका थिए। जुम मार्फत् भएको भर्चुअल बैठक यसपछि रोकियो।

मन्त्री भट्टराईले मुलुकमा तत्काल कोभिड-१९ का कारण पर्यटन उद्योग, व्यवसायी, कामदार लगायतको दैनिक जिविकोपार्जनमा आएको समस्यालाई सम्बोधन गरेका थिए। तर, अश्लिल चलचित्र नै भर्चुअल बैठकमा सार्वजनिक भएपछि बैठक रद्ध गरिएको थियो।

'म छलफलबाट बाहिरिसकेको थिएँ। त्यसपछि यस्तो भयो भन्ने जानकारी पाएँ,' संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव अधिकारीले पहिलोपोस्टसँग भने।

बैठकमा नेपाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, सचिव केदार बहादुर अधिकारी, बोर्डका सिइओ रेग्मी लगायत विभिन्न क्षेत्रका दुई सय जना सहभागी थिए। बोर्डका अनुसार अश्लिल भिडियो सार्वजनिक गर्ने प्रयोगकर्ताको खोजी सुरु गर्न लागिएको छ।

लकडाउन सुरु भएदेखि शैक्षिक, कर्पोरेट लगायत विभिन्न क्षेत्रमा अधिक प्रयोगमा आइरहेको जुम एपमा पछिल्लो समय ह्याकरमार्फत् दुरुपयोग भइरहेको पाइएको छ।

हामी आइएसपी ट्रेसिङ गरेर प्रहरीसँगको सहकार्यमा दोषीको पहिचान हुने नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell