PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एमसीसीको विरोधमा ११ पार्टीको संयुक्त मोर्चा, चरणवद्ध संघर्षका कार्यक्रमको घोषणा



पहिलोपोस्ट

एमसीसीको विरोधमा ११ पार्टीको संयुक्त मोर्चा, चरणवद्ध संघर्षका कार्यक्रमको घोषणा
प्रतीकात्मक तस्बिर।

काठमाडौं : संसद बाहिरका विभिन्न राजनीतिक दलहरुले अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)’ विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन्। नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मालेलगायतका विभिन्न ११ वटा राजनीतिक पार्टी तथा संघ संगठनले एमसीसीविरुद्ध चरणवद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

मसालका महामन्त्री मोहनविक्रम सिंह, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, नेकपाका सहसंयोजक लोकनारायण सुवेदी, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराती, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुभासराज काफ्ले, राष्ट्रिय जनजागरण परिषद्का साध्यवहादुर भण्डारी, नेकपा संयुक्तका महासचिव केदारचन्द्र शर्मा र राष्ट्रिय जागरण मञ्चका गुणराज लोहनीले जारी गरेको संयुक्त वक्तव्यमा एमसीसीलाई अमेरिकाको ‘इन्डोा प्यासिफिक स्ट्राटेजी’ अन्तर्गतको सहयोग भन्दै एमसीसी सम्झौतालाई राष्ट्रघाती भनेको छ।

‘राष्ट्रघाती हुनुका साथै नेपाललाई विदेशी शक्तिको क्रिडा स्थल र रणभूमि बनाउने एमसीसी सम्झौताको खारेजीकालागि नेपाली जनता पनि एकतावद्ध भएर संघर्षमा सम्मिलित हुँदै गइरहेका छन्। ठिक यसै समयमा राष्ट्रिय स्वाधिनताका लागि लड्दै आएको ११ दलको बैठक हालै सम्पन्न भएको छ,’ संयुक्त वक्तव्यमा भनिएको छ।

बैठकले असार ९ गते काठमाडौं सहित सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।

एमसीसी सम्झौता खारेजीका  लागि आगामी असार ९ गते काठमाडौंमा संयुक्त जन प्रदर्शन गर्ने र असार ८ गते नयाँ सडकमा ब्यानर प्रदर्शन र विरोध कार्यक्रम गर्ने निर्णय बैठकले गरेको वक्तव्यमा उल्लेख छ।

बैठकले संसदको कार्यसूचिबाट यसलाई नहटाउँदासम्म ‘एमसीसीको खारेजी’लाई एक सूत्रीय माग बनाउने निर्णयसमेत गरेको छ। त्यस्तै, असार १० गते हुन लागेको सत्तारुढ नेकपाको स्थायी समितिको बैठक मूलतः एमसीसीलाई संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीत हुने भन्दै असार ११ गते बैठक बसी पुन संघर्षका कार्यक्रम तय गर्ने देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell