PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार दिने, संक्रमितलाई समेत प्रोत्साहन भत्ता



एम बम

डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेका परिवारलाई ५० हजार दिने, संक्रमितलाई समेत प्रोत्साहन भत्ता
तस्बिर सौजन्य : गणेश मौनी

कैलाली : डोटीको वडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। गाउँपालिकाका कुनै पनि बासिन्दाको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएमा उनका परिवारलाई ५० हजार उपलब्ध गराउने बैठकबाट निर्णय भएको गाउँपालिकाले जनाएको छ। 

वडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले भने, ‘गाउँकार्यपालिका बैठकबाट कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई राहत स्वरूप ५० हजार रुपैयाँ दिने निर्णय गरेका हौँ।’

साथै, संक्रमितलाई समेत प्रोत्साहन र पोसिलो खानाका लागि एक हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको समेत उनले जानकारी दिए।

उनले भने, ‘संक्रमितहरूको आत्मबल बढाउन र उनीहरूलाई पोसिलो खानेकुरा खान मद्दत पुगोस् भनेर १५ सय दिने निर्णय गरेका हौँ।’

उनले अहिलेसम्म गाउँपालिकामा भारतबाट छ सय ६१ जना आएका र आउने क्रम अझै जारी रहेको बताए। भारत तथा अन्य मुलुकबाट समेत आएका व्यक्तिहरूलाई गाउँपालिकाले वडाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको समेत उनले जानकारी दिए।

हालसम्म गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको छ भने बाहिरबाट आएका सबैको स्वास्थ्य परीक्षण नभइसकेको उनको भनाइ छ। संक्रमित चार जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने परीक्षण गरिएका केहीको रिपोर्ट आउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell