PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

प्रदेश ५ मा थपिए ११५ नयाँ संक्रमित : परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा संक्रमण, संक्रमितमध्ये २५७ लाई मात्र अस्पतालको सेवा



विधुर ढकाल

प्रदेश ५ मा थपिए ११५ नयाँ संक्रमित : परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा संक्रमण, संक्रमितमध्ये २५७ लाई मात्र अस्पतालको सेवा

काठमाडौं : प्रदेश ५ मा थप ११५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेश ५ मा संक्रमितको संख्या दुई हजार ५६७ पुगेको छ।

सोमवार थपिएकामध्ये सबै भन्दा बढी पाल्पामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै पाल्पामा संक्रमितको संख्या १५० पुगेको छ।

त्यस्तै, प्युठानमा सोमवार थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेशका वरिष्ठ स्वास्थ्य प्रशासक डा उमाशंकर प्रसाद चौधरीले जानकारी दिए। योसँगै प्यूठानमा संक्रमितहरुको संख्या १८५ पुगेको छ। त्यस्तै, अर्घाखाँचीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यहाँ संक्रमितको संख्या २५५ पुगेको छ। सोमवार रुपन्दही जिल्लामा थप १० जनामा संक्रमण पुष्टि भएको डाक्टर चौधरीले जानकारी दिए। रुपन्देहीमा संक्रमितको संख्या २६० पुगेको छ।

सोमवार थपिएका संक्रमितमध्ये नवलपरासी पश्चिमका ५ जना र गुल्मीका एक जना छन्। नवलपरासी पश्चिममा संक्रमितको संख्या ७८ पुग्दा गुल्मीमा संक्रमितको संख्या १८१ पुगेको छ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै कपिलवस्तुमा रहेका छन्। कपिलवस्तुमा ७०३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बाँकेमा ३४२, दाङमा २७० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, बर्दियाका १५४ जना, 

संक्रमित मध्ये रोल्पामा ४५ जना छन् भने रुकुम पूर्वका ४ जनामा मात्र संक्रमण पुष्टि भएको छ।

 

संक्रमित मध्ये २५७ जनालाई मात्र अस्पतालको सेवा

प्रदेशमा संक्रमण पुष्टि भएका मध्ये २५७ जनाले मात्र अस्पतालको सेवा लिएको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रदेशमा ४ वटा कोभिड-१९ विशेष अस्पताल सञ्चालनमा छन् भने एउटा कोभिड-१९ लेभल ३ अस्पताल पनि रहेको छ।

संक्रमितमध्ये लुम्विनी प्रादेशिक अस्पतालको धागो कारखानामा अहिलेसम्म ५७ जना भर्ना भएकामा ५० जना निको भएर डिस्चार्ज भएका छन्। यहाँ ६ जना आइसीयूमा राखिएका छन्।

त्यस्तै, भीम अस्पताल भैरहवामा ५५ जना संक्रमित भर्ना भएकामा ५३ जना डिस्चार्ज भएका छन्। बाँकेको खजुरास्थित शुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ६९ जना संक्रमित मर्ना भएकोमा ६० जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, दाङको बेलझुन्डीमा रहेको कोरोना विशेष अस्पतालमा ११६ जना संक्रमित भर्ना भएकोमा हालसम्म ६८ जना डिस्चार्ज भइसकेका छन्। हाल यी अस्पतालमा ७४ जनाको उपचार भइरहेको छ। जसमध्ये ६ जना आइसीयूमा रहेको वरिष्ठ स्वास्थ्य प्रशासक चौधरीले जानकारी दिए।

संक्रमितमध्ये हालसम्म १ हजार ३८२ जना स्थानीय स्तरमा क्वारेन्टाइनमा तयार भएका आइसोलेसन सेन्टरमा रहेका छन्। हाल त्यस्ता आइसोलेसन सेन्टरमा एक हजार ३८२ जना संक्रमित रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

केस पोजेटिभिटी ९ प्रतिशत 

प्रदेशमा हालसम्म परीक्षण गरिएकामध्ये ९ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुन देशकै संक्रमण पुष्टि भएको दर भन्दा ४ प्रतिशतले बढी हो। नेपालमा परीक्षण गरिएका नमुनामध्ये ५ प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएकोमा प्रदेशमा ९ प्रतिशत रहेको चौधरीले जानकारी दिए।

त्यस्तै, प्रदेशमा डिस्चार्ज रेट पनि बढी रहेको उनले बताए। प्रदेश ५ मा डिस्चार्ज रेट ४० प्रतिशत रहेको छ। जुन नेपालमा २० प्रतिशतको हाराहारीमा रहेको छ। यहाँ मृत्यु हुनेको दर पनि बढी छ। प्रदेशमा संक्रमित मध्ये १० जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये अर्घाखाँची र गुल्मीमा तीन/तीन जना, बाँकेमा २ तथा दाङ र पाल्पामा एक/एक जनाको मृत्यु भएको छ।

प्रदेशले मृतकको सूचीमा राखेका दाङका एक र अर्घाखाँचीमा आत्महत्या गरेका एक जनालाई भने केन्द्रीय सररकारले मृतकको सूचीमा समावेस गरेको छैन। दाङका मृतकको मृत्यु भारतमा भएको र दाङमा शव ल्याइ दाङमै परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको छ।

प्रदेशमा संक्रमण पुष्टि भएकामध्ये ९४ प्रतिशत भारत तथा तेस्रो मुलुकबाट आएका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell