जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा असन्तुष्टि जनाउने वडाध्यक्षहरुलाई उपमहानगरभित्रै थुनिएको छ।उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्न बोलाइएको बोर्ड बैठकमा मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भएको थियो। त्यसपछि बैठक हुन सकेको थिएन।
सोमबार राति भने असन्तुष्ट वडाध्यक्षहरुलाई नगर प्रहरीले उपमहानगरपालिकाको गेटमा ताला लगाएर बन्द गरिदिएका छन्। गेटभित्र थुनिएका वडाध्यक्षसहितका प्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहविरुद्ध नाराबाजी गरिरहेका छन्।
उपमहानगरपालिका ३ का अध्यक्ष दीपेन्द्र साहले नगर प्रमुखको आदेशमा गेटमा ताला लगाएर आफूहरुलाई बन्धक बनाएको बताए।
‘भित्र कुर्सी फालाफाल भएको छ। तिमीहरुले नमाने पेलेर अघि जाने हो भन्दै हामीलाई थुनिएको छ’ उनले भने।
नगर प्रमुखको गैर लोकतान्त्रिक कार्य गर्दै आफूहरु माथि हातपात भएको उनले बताए। वडाध्यक्षहरू जानकीराम साह,दीपेन्द्र साह जगदीश महासेठ,सुदर्शन सिंहमाथि हातपात भएको बताइएको छ।
नगर प्रमुख साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाअध्यक्षहरुले विरोध जनाएपछि मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भएको थियो।
वडाध्यक्षहरुले साहले छलफल नै नगरी तयार पारेको विवरण तथा नीति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेको आरोप लगाएका छन्। विवाद लम्बिदै जाँदा उपस्थित वडाध्यक्षहरुले माइन्युट समेत च्यातेका थिए।