
दुवई : साउदी अरब सरकारले कोरोना भाइरसका कारण साह्रै थोरै व्यक्तिलाई मात्र हजका लागि अनुमति दिने जनाएको छ। विश्वभरबाट करबि २० लाख इस्लाम धर्मावलम्बीहरु एकैपटक हजका लागि जाने गरेका छन् तर यसपाला कोरोनाको कहरले यसरी जाने तीर्थालु ज्यादै नियन्त्रित हुनेछन्।
साउदी अरबले हजको कार्यक्रम नै निषेध गर्छ या सांकेतिक रुपमा मात्र कार्यक्रम संचालन हुन्छ भन्ने बहस चलिरहँदा यस्तो निर्णय सार्वजनिक भएको हो। हजका लागि पाँच साता बाँकी रहँदामात्र यस्तो निर्णय सार्वजनिक भएको हो। विश्वभर रहेका मुस्लिमहरुलाई ध्यानमा राख्दै यस्तो निर्णय आएको हो।
हजबाटै मात्र प्रति वर्ष ६ अर्ब डलर साउदी सरकारले संकलन गर्दै आएको थियो। मुस्लिम धर्मावलम्बीहरुका लागि यो सबैभन्दा पवित्र तीर्थस्थल मानिन्छ। पछिल्लो ९० वर्षमा साउदी अरेबियाले हज स्थगित गरेको छैन।
कोरोना संक्रमणलाई ध्यान दिँदै अत्यन्तै थोरै व्यक्तिमात्र सहभागी गराउने साउदीको तयारी छ। र, जोखिम मोल्न कोही पनि तयार छैनन्। सन् २०१५ मा यही दुर्घटना हुँदा २४ सय भन्दा धेरैको मृत्यु भएको थियो। यहाँ हुने धार्मिक भेला संसारकै सबैभन्दा धेरै मानिस जमघट हुने भेलामध्येको एक मानिन्छ।
'जनस्वास्थ्यको दृष्टिकोणलाई ध्यान दिँदै हज कार्यक्रममाथि यस्तो निर्णय लिनु परेको हो,' सरकारले वक्तव्यमार्फत् जानकारी गराएको छ। सीमित संख्याममात्र सहभागी हुन पाउने बताइएको भए पनि अनुमति दिइने संख्या भने तोकिएको छैन।