
काठमाडौं : सरकारले असार १ गतेबाट लकडाउनको मोडालिटी फेरेको छ। कोरोना सङ्क्रमण कम भएका जिल्लामा जोरबिजोर नम्बर प्लेटका आधारमा निजी सवारी साधनलाई चल्न दिइएको छ। उद्योग, व्यवसाय, कलकारखानादेखि पसलहरूसम्म खुलेका छन्।
लकडाउन खुकुलो हुँदै गएपछि आफ्नो गृह जिल्ला गएकाहरू अहिले काठमाडौँ उपत्यकाभित्र फर्किन थालेका छन्। त्यसैले पनि उपत्यकाभित्र छिर्ने नाकाहरूमा सवारीको चाप बढेको छ। अत्यावश्यक बाहेक अन्य निजी सवारी साधनबाट पनि मानिस फर्किन थालेका छन्।
काठमाडौँ फर्किनको लागि जुन स्थानीय तहमा जानुपर्ने हो त्यसको सिफारिस भए जिल्ला प्रशासन कार्यालयले पास दिएर मात्र आउन पाउन व्यवस्था गरिएको छ।
'धेरै मानिसहरूले प्रक्रिया पूरा गरेर नै आएको भेटिएको छ। प्रक्रिया नपुर्याएका मानिसलाई हामी नाकाबाट नै फर्काउने गरेका छौँ,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने।
अहिले दैनिक औशत ३ हजार भन्दा बढी सवारी साधन काठमाडौँ उपत्यका भित्र छिर्ने गरेका छन्। असार १ गतेबाट यसरी छिर्ने सवारी साधनको सङ्ख्या बढेको हो। सरकारले लकडाउन घोषणा गरेको एक महिनापछि नाकाबाट औशत १५ सय सवारीसाधन भित्रिने गरेका थिए।
असार १ गते देखि ७ गतेसम्म २१ हजार ८ सय २ वटा सवारी साधन भित्रिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। सात दिनमा असार ६ गते सबैभन्दा धेरै सवारी साधन भित्रिएको देखिएको छ। ३७ सय ७५ वटा सवारीसाधन छिरेका छन्।
'धेरैजसो अत्यावश्यक सामाग्री बोकेका सवारी साधन नै हुन्छन्। पास लिएर आउने सवारी त्यस्तै दैनिक २/३ सय भेटिन्छन्,' एसएसपी ढकालले भने। यसरी आएको सवारीमा ८ हजार ५ सय ३१ जना यात्रु आएका थिए।
असार १ गते ३ हजार सवारी साधन आएका थिए। त्यसमा ५ हजार ६ सय ३७ जना मानिस भित्रिएका थिए। असार २ गते २९ सय ७५ सवारी आउँदा ५५ सय ७३ जना मानिससँगै आए। असार ३ गते २९ सय १ वटा सवारी साधन भित्रिए। जसमा ५६ सय २७ यात्रु थिए। असार ५ गते पनि ३७ सय २१ सवारी काठमाडौँको नाकाबाट छिरेका थिए। त्यस्तै असार ८ गते ३२ सय ५७ सवारी साधन भित्रिएका छन्। जसमा ६ हजार ४ सय ७७ यात्रु आएका छन्।