PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पर्वतको चितुवा सामाजिक सञ्जालमा भाइरल, बजारमा कसरी आइपुग्यो?



कमलराज भट्ट

पर्वतको चितुवा सामाजिक सञ्जालमा भाइरल, बजारमा कसरी आइपुग्यो?

काठमाडौं: सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भइरहेको छ। सुरक्षाकर्मी र स्थानीय मिलेर एउटा सानो चितुवालाई सडकमा डोर्‍याएर हिँडाइरहेका छन्।

चितुवाको डोरी प्रहरीले समातेका छन्। स्थानीयहरु पछिपछि देखिन्छन्। चितुवासँग सेल्फी खिच्नेको भीड छ। चितुवा घरपालुवा जनावरजस्तै हिँडिरहेको छ। आक्रमण पनि देखिँदैन। सर्वसाधारण मात्र होइन प्रहरीले समेत पोजमा सेल्फी लिएका छन्। यी क्रियाकलापहरु कैद भएको भिडियो फेसबुक, ट्वीटर, युट्युबलगायत सबैतिर चर्चाको केन्द्रमा छ।

कसरी आयो सडकमा चितुवा?

यो घटना हो पर्वतको। यहाँको जलजला गाउँपालिका ७ स्थित लामागरामा सोमवार साँझ चितुवा देखापर्‍यो। सामुदायिक वनमा घाँस काट्न गएका स्थानीयले साँझ ५ बजेतिर चितुवा देखेपछि गाउँले, जनप्रतिनिधि र प्रहरीलाई खबर गरे। मिलनचोक चौकीबाट प्रहरीहरु घटनास्थल पुग्दा स्थानीयले घेरा हालेर चितुवालाई नियन्त्रणमा लिइसकेका थिए। संयोगवश चितुवा आक्रामक रहेनछ। कसैलाई पनि आक्रमण गरेन। प्रहरी आइपुगे। वडाध्यक्षसहित जनप्रतिनिधि पनि आइपुगे। प्रहरीले चितुवालाई लामागराबाट बाख्राजस्तै डोर्‍याएर हिँडाउँदै मिलनचोकस्थित प्रहरी चौकी पुर्‍याए।

सदरमुकाम कुश्माबाट सहायक वन अधिकृत रविआनन्द गोपालीको टिम गाडी लिएर मिलनचोक पुग्यो।  चितुवालाई गाडीमा हालेर २३ किलोमिटरको दुरीमा रहेको डिभिजन वन कार्यालय लग्यो। चितुवाको स्वास्थ्य परीक्षण गरेर वनमा छोड्ने कार्यालयले जनाएको छ।

कसरी बन्यो भिडियो?

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार लामागराबाट हिँडाएर चितुवालाई ३ किलोमिटर परको मिलनचोक प्रहरी चौकी लगियो। हिँडाएर लैजाँदा स्थानीयले तस्बिर र भिडियो खिँचे। सामाजिक सञ्जालमा शेयर गरे। चितुवा आक्रामक नदेखिएपछि मानिसहरुको ध्यान खिच्यो। चितुवाले आक्रमण नगरेपछि स्थानीय निर्धक्कका साथ तस्विर र भिडियो खिँचिरहे। 

पर्वतको चितुवा सामाजिक सञ्जालमा भाइरल, बजारमा कसरी आइपुग्यो? https://pahilopost.com/content/20200623141144.html

Posted by PahiloPost on Tuesday, June 23, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell