PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सरकारकै निर्णयले बढ्यो समुदाय-संक्रमणको जोखिम : क्वारेन्टाइनबाट घर गएका डेढ सय बढीमा कोरोना पुष्टि



एम बम

सरकारकै निर्णयले बढ्यो समुदाय-संक्रमणको जोखिम : क्वारेन्टाइनबाट घर गएका डेढ सय बढीमा कोरोना पुष्टि

कैलाली : डोटीको आदर्श गाउँपालिका२ मा ६२ वर्षीय एक पुरुषमा भारतबाट आएको झण्डै तीन सातापछि कोरोना पुष्टि भयो। त्यसबीचमा उनले प्रदेशका तीन जिल्लाको यात्रा गरे। शुरुमा जेठ १३ गते भारतबाट आएर उनी सिधै डोटी पुगे र वडाकै शारदा माविको क्वारेन्टाइनमा १५ दिन बसे र २९ गते आरटीडी गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई घर पठाइयो।

तर, उनको स्वाब भने संकलन भएको थियो। त्यसपछि उनको स्वाबको रिपोर्ट ९ दिन पछि आयो, पोजेटिभ। अब उनको खोजी गनुपर्ने भयो।

खोजी गर्ने क्रममा उनी तीन साता अघि फर्किएको कैलालीकै धनगढीमा पुगेका रहेछन्। छिमेकीको उपचारका लागि धनगढी पुगेका उनी कैलालीको गोदावरी र धनगढी गरी दुई स्थानीय तहमा आफन्तको घरमा बसेका खुलेको छ।

आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्काले भने, ‘उनीसहित हाम्रै गाउँपालिकाका ८ जनामा आरडीटी नेगेटिभ तर पीसीआर पोजेटिभ आएको छ।’

उनीहरु सबैलाई आरडीटी नेगेटिभ आएपछि घर पठाइएको थियो।

यो त एउटा उदाहरण मात्रै हो। प्रदेशमा अहिलेसम्म परीक्षणको दायरा भित्र रहेका १ सय ६१ जनामा घर गएपछि कोरोना पुष्टि भएको छ। परीक्षण नै हुन नसकेका अझै कति छन्, तथ्यांक नै छैन।

समुदाय-संक्रमणलाई सघाउने सरकारी निर्णय

सुदूरपश्चिम प्रदेशमा गत २९ गतेसम्म ९ जिल्लाका विभिन्न क्वारेन्टाइनमा ६६ हजार मानिस बसेका थिए।

१९ गते सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको विज्ञप्ति मार्फत विवादास्पद निर्देशन आयो- स्वास्थ्य सामग्री अभावमा सबैको परीक्षण सम्भव नभएको र नयाँ निर्देशिका अनुसार १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाहरुलाई लक्षण नदेखिए घर पठाउनु।

त्यसपछि अहिले झण्डै ३७ हजार मासिन उक्त निर्देशनपछि घर पुगिसकेका छन्। कतिपयको आरडीटी परीक्षण भएको छ भने कतिपयलाई परीक्षण बिनै घर पठाइयो। आरडीटी परीक्षण भएर नेगेटिभ रिपोर्ट आएकाहरुमा समेत पीसीआरमा कोरोना पोजेटिभ आउन थालेपछि अहिले स्थानीय तहहरु अन्यौलनमा छन्।

बाजुराको बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मी परीक्षणबिनै घर पठाउनु सरकारको समुदाय संक्रमणमा सघाउने निर्णय भएको बताउँछिन्।

प्रदेशमा २९ गतेको निर्देशनपछि घर गएका कैलालीका र डडेल्धुराका ५८/५८, डोटीको शिखर नगरपालिकाका १४, बैतडीको शिवनाथ गाउँपालिकाका १७ र कञ्चनपुरको लालझाडी गाउँपालिकाका १४ जनामा कोरोना पुष्टि भएको हो।

के भन्छन् चिकित्सक?

सेती प्रादेशिक अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा निराजन दत्त शर्मा पौडेल परीक्षण नै नगरी संक्रमित वा लक्षण नदेखिने कसैलाई पनि घर पठाउन नहुने बताउँछन्।

कोरोना विशेष अस्पतालमा संक्रमितको उपचारमा प्रत्यक्ष संलग्न रहेका उनी भन्छन्, ‘संक्रमितहरु सबैमा भाइरसको लोड अथवा असर र सर्ने दर एउटै हुन्छ भन्ने हुँदैन। त्यसैले कसबाट कसरी समुदाय-संक्रमण फैलिने हो भन्ने निश्चित नै छैन। फेरि घरमा र समुदायमा जाने सबैले निर्देशिकाका सबै सर्तहरु पालन गर्छन् भन्ने पनि छैन।’

आरडीटी नेगेटिभ आएर समेत पीसीआर परीक्षणमा पोजेटिभ देखिने गरेको छ। तर, चिकित्सकहरुले भने कोरोनाको उपचारमा आरडीटीको खासै अर्थ नभएको सुरुवातबाटै बताउँदै आएका छन्।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको उपचारका फ्रन्टलाइनर डा पौडेलले भने, ‘आरडीटीले सही नतिजा भन्दा द्वीविधा सिर्जना गर्ने काम गरेकाले पीसीआरको क्षमता बढाउन आवश्यक छ।’

तर, प्रदेशमा एउटा मात्रै प्रयोगशालाले परीक्षणको क्षमता धान्न सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार अहिले पनि १७ हजारको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएकोमा ६ हजार ६ सय भन्दा बढी मानिसको रिपोर्ट आउन बाँकी छ।

निर्देशनालयका निर्देशक डा गुणराज अवस्थिले एउटा प्रयोगशालामा दैनिक २ सय ५० भन्दा बढीको परीक्षण गर्न सम्भव नरहेको भन्दै अहिले तत्काल प्रदेशमा प्रयोगशाला विस्तारको अवश्यकता रहेको बताए।

प्रदेश सरकारले एक महिनाअघिबाटै डोटी, बैतडी र कैलालीमा थप एक/एक पीसीआर मेसिन थप्ने बताए पनि त्यो प्रक्रिया अझै पूरा हुन सकेको छैन।

निर्देशक अवस्थिका अनुसार असार १५ गतेभित्र प्रदेशमा तीन वटा आरटी पीसीआर मेसिन आइपुग्ने छन्। तर, त्यसमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन नहुँदा तीन वटै मेसिन अहिले नै सञ्चालनमा आउनेमा भने आशंका गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell