PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुई महिनादेखि सत्तलमा रातो मछिन्द्रनाथ, ‘लकडाउनका कारण ढिला भए पनि रथयात्रा हुन्छ’



सहयोग रञ्जित

दुई महिनादेखि सत्तलमा रातो मछिन्द्रनाथ, ‘लकडाउनका कारण ढिला भए पनि रथयात्रा हुन्छ’

ललितपुर : कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै गरिएको लकडाउनका कारण उपत्यकाका विभिन्न जात्रापर्वहरु प्रभावित भए। हजारौंको संख्यामा मानिसहरु भेला भइ गरिने जात्राहरु यसपटक स्थगित गरियो। लकडाउनको पालना गर्दै उपत्यकामा वसन्त ऋतुको आगमनसँगै मनाइने कयौं जात्राहरु नित्य पुजामा सिमित गरियो।

नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा समेत लकडाउनका कारण अनिश्चित बनेको छ। लकडाउन नभएको भए अहिलेसम्म रातो मछिन्द्रनाथको रथयात्रा सकिएर उनलाई पाटनबाट बुंगमती लगिसकेको हुने थियो।

ललितपुरको त:बहास्थित मन्दिरबाट बुंगद्य:लाई बैशाख १२ गते पुल्चोकमा पुर्‍याएर रथमा राखिनु पर्थ्‍यो। र त्यसपछि रथयात्रा सुरु हुनथ्यो। तर लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ निर्माण भएको छैन। कोरोनाको कहरसँगै रथ निर्माण नहुँदा मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीकै फल्चा (सत्तल)मा राखियो।

दुई महिना भयो रातो मछिन्द्रनाथ सत्तलमा छन्। न रथ बनेको छ न रथयात्राको टुंगो। लकडाउन खुकुलो भएसँगै रथयात्रालाई संचालन गर्ने बारे छलफल नभएको पनि होइन तर निर्णय हुनसकेको छैन।

यता जात्रा हुने निश्चित नहुँदा टंगालमा भने  मीननाथको रथको अघिल्लो भागमा राख्ने घ:मा: निर्माण कार्य भइरहेको छ। हालसम्म रथ बनाउने कुनै खबर नआएपनि घ:मा: तयार गरिरहेको स्थानीयले बताए।

दुईमहिनायतादेखि बुंगद्य: रहेकै स्थानमा बस्दै आएका पानेजु (पूजारी) पूर्णराज शाक्य ढिला भएपनि रथयात्रा हुनेमा विश्वस्त छन्।

भन्छन्, ‘कुरा धेरै आइरहेको छ। जात्रा हुने नहुनेबारे अहिले भन्ने सकिँदैन। तर ढिलै भएपनि यो जात्रा हुन्छ। हालसम्म जस्तो परिस्थितिमा पनि रथयात्रा रोकिएको छैन। ६ महिना ढिला भएपनि जात्रा गर्नुपर्छ। बैशाखमा जात्रा गर्नुपर्ने जात्रा ६ महिनापछि जात्रा गरेको पनि इतिहास छ।’

अहिले बुगंद्य:लाई मन्दिरबाट निकालेर पूर्व दिशामा फर्काएर राखिएको छ। पानेजु शाक्य भन्छन् ‘बैशाख १२ गते मन्दिरमा उत्तर फर्काएर राखिएको करुणामयलाई रथमा लगेर पूर्व फर्काएर राख्नु पर्थ्यो। तर त्यसो हुन सकेन। त्यसैले सत्तलमा नै पूर्व फर्काएर राखियो।’

स्थानीयले पनि सतर्कता अपनाएर जात्रा संचालन गर्न सक्ने बताएका छन्। रथयात्रा हुने समयमा मानिसहरुलाई बाहिर निस्कन नदिने र घरबाटै दर्शन गर्ने व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुले दिएका छन्।

हालै, भारतमा समेत जगन्नाथ रथयात्रा गर्ने नगर्ने भन्ने विवाद भएको थियो। कोरोनाको महामारी फैलिँदै गर्दा रथयात्रा नगर्ने निर्णय गरिएको थियो। पछि यो विषय सर्वोच्च अदालतसम्म पुग्यो। सोमबार अदालतले रथयात्रा गर्न आदेश दियो। तर रथयात्रा गर्दा निश्चित शर्तहरु पालना गर्नुपर्ने बाध्यात्मक आदेश दिइयो।

रथ यात्राहुने स्थानमा कर्फ्यू लगाएर मानिसहरुलाई भेला हुन नदिने, रथ यात्रा हुने बेला शहर प्रवेश गर्ने सडकहरु सिल गर्ने, निश्चित व्यक्तिले मात्रै रथ तान्न पाउने र उनीहरुको अनिवार्य कोरोना परीक्षण हुनुपर्ने, रथयात्राको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्ने लगायतका निदर्शेन अदालतले दिएको थियो।

यता पनि  लकडाउन थपिँदै गए र संक्रमणको अवस्था कायम नै रहे सतर्कता अपनाउँदै छोटो समयमा रातो मछिन्द्रनाथको रथयात्रा सम्पन्न गर्न सकिने बारेमा गुठी संस्था र सरोकारवालाबीच छलफल भइरहेको छ। यद्यपि, रथ निर्माण थाल्ने र जात्रा संचालन गर्ने बारे भने कुनै निर्णय हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell