
काठमाडौं : सरकारले असार १ गतेबाट लकडाउन खुकुलो गर्यो। करिब साढे दुई महिनाको लकडाउनमा खुकुलो गर्दै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान नपाउने नियम बनायो। काठमाडौं उपत्यकालाई एकै जिल्लामा पनि उपत्यका प्रवेश गर्नेलाई स्थानीय तहको सिफारिस चाहेन नियम बनाइयो।
एक सातामा ५४ हजार मानिस उपत्यका भित्रिएको रेकर्ड छ। तर, लकडाउन खुकुलो भएको १० दिन पुग्न लाग्दासम्म लुकीछिपी उपत्यका भित्रिने क्रम पनि बढ्दै गएको छ।
उपत्यका प्रवेश गर्ने क्रम बढेसँगै भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ।
कोठा भाडामा लिएर बस्दै आएकाहरु फर्किएसँगै घरधनी र वडाले समेत पीसीआर परीक्षण गरेको रिपोर्ट माग्न थालेको छ। दैनिक करिब एक हजारभन्दा बढी मानिस परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन्।
यसरी परीक्षण गराउनेको भिड लागेपछि गृहले सबैको परीक्षण गर्न सम्भव नभएको देखेर उनीहरुलाई होम क्वारेन्टाइनमा राख्न भनेको हो।
हाल उपत्यकामा प्रवेश गर्ने मानिसहरु निर्वाध रुपमा हिँडडुल गरिरहेका छन्। बाहिर जिल्लाबाट फर्किएकाहरुले पसलदेखि होटल समेत खोलिसकेका छन्। बाहिरबाट फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न भने पनि उनीहरु आफू व्यवसाय गर्न आएको भन्दै पसल खोल्न क्रम बढेपछि कतिपय स्थानमा स्थानीयले विरोध समेत गरेका थिए।