PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजधानी छिर्न एम्बुलेन्स सहारा, नागढुंगाबाटमात्रै छिरे ८ दिनमा ८८८ वटा



सविन ढकाल

राजधानी छिर्न एम्बुलेन्स सहारा, नागढुंगाबाटमात्रै छिरे ८ दिनमा ८८८ वटा
नागढुंगामा प्रहरीको चेकिङ।

काठमाडौं : मंगलवार कलंकीबाट नागढुङ्गातिर जाँदा फाट्टफुट्टा निजी सवारीहरु आइरहेका देखिन्थे। ती निजी सवारीसाधनका बीचबीचमा एम्बुलेन्सहरु पनि देखियो। १० मिनेटको अन्तरालमा ७ वटा एम्बुलेन्स नागढुंगाबाट कलंकीतिर झरिरहेको देखियो। काठमाडौं उपत्यकामा लकडाउन केही खुकुलो हुन थालेपछि सीमा नाकामा जसरी सवारीको चाप बढ्न थालेको छ, त्यस्तै चाप बढ्न थालेको छ - एम्बुलेन्समा पनि।

काठमाडौं छिर्ने सवारीसाधन मध्ये एम्बुलेन्सको सङ्ख्या अधिक देखिन्छ। दैनिक १ सय भन्दा बढी एम्बुलेन्स काठमाडौं छिरेको देखिन्छ। असार १ गतेदेखि ८ गतेसम्म ८ सय ८८ वटा एम्बुलेन्स काठमाडौं भित्रिए।

यसरी एम्बुलेन्स भित्रनुको पछाडि कुनै ठूलो रोगब्याधा लागेको हो त? केही विरामी नै हुन् एम्बुलेन्सबाट आउने तर सबै चाहिँ होइनन्।

'अहिले सबैभन्दा कमाउने मौका पाएका छन्,' अनौपचारिक कुराकानीमा थानकोटमा रहेका एक प्रहरी अधिकृतले भने, 'अहिले यिनीहरुकै त छ रजाईँ।'

नाकामा सबैभन्दा प्राथिमकता पाउँछ एम्बुलेन्सले। विरामी ओसार्ने भएकाले यसो हुनु स्वभाविक पनि हो। तर, काठमाडौंका अस्पतालमा जुन रफ्तारमा एम्बुलेन्स भित्रिन्छन्, त्यति विरामी चाहिँ छैनन्।

एम्बुलेन्सबाट कोरोना यात्रा

जेठ १ गते काठमाडौंको चन्द्रागिरी नगरपालिका दहचोकमा एक ७ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भयो। काठमाडौं उपत्यकाभित्र फैलिदै गएको संक्रमणले धेरैलाई त्रासित बनायो। काठमाडौं उपत्यकाभित्र त्यतिखेर थोरै मानिसमा मात्र कोरोना देखिएको थियो।

बालकमा कसरी कोरोना आयो? दोलखा घर भइ काठमाडौं बस्दै आएका बालकको ट्राभल हिस्ट्री खोज्न थाल्यो। अन्ततः पत्ता लाग्यो बाराको निजगढ नगरपालिका १२ स्थित सूर्यटोलबाट उनी काठमाडौं फर्किएका रहेछन्। बारामा कोरोन संक्रमितको सङ्ख्या बढिरहेको थियो।

उनी कसरी काठमाडौं फर्किए? एउटा प्रश्न जन्मियो। त्यतिखेर अहिलेको जस्तो सहज अवस्था थिएन। मानिसलाई घरबाट निस्कन समेत दिएको थिएन। सरकारले अनुमिति दिएका सवारीसाधन बाहेक अन्यलाई गुड्न बन्देज थियो। झन् बाहिरी जिल्लाबाट काठमाडौं छिर्ने झनै कठिन।

आमा सहित मामा घर बारा पुगेका सामान्य परिवारका ७ वर्षीय बालक कसरी काठमाडौं फर्किए? यसको जवाफ सहजै भेटियो - एम्बुलेन्सबाट।

विरामी र उसका आफन्त ३ जना र बाँकी तीनजना यात्रुसँगै एउटै एम्बुलेन्समा आएका थिए ती बालक।

मान्छे ‌ओसार्न एम्बुलेन्स

मोरङ्का १३ वर्षीय अनिष गौतम पढाइको सिलसिलामा काठमाडौंमा नै बस्छन्। उनको परिवार मोरङमा छ। लकडाउनका कारण विद्यालय बन्द भयो। होस्टेल छोडेर उनी आफन्तकहाँ बस्न गए। लकडाउन खुलेन। उनलाई आफन्तकहाँ बस्दाबस्दा पट्यार लाग्यो। उता परिवारलाई पनि छोराको चिन्ता। गर्ने के?

गत शनिवार उनी काठमाडौंबाट मोरङ पुगे। उनलाई मोरङ पुर्‍याउन उही एम्बुलेन्स नै प्रयोग भयो। बिरामी बोकेर आएको एम्बुलेन्स फर्किदा अनिषलाई लिएर गएको थियो। 'पाँच हजार रुपैयाँ तिरेर गएको हो। सजिलै मोरङ पुगिसकेको छ,' अनिषका आफन्तले सुनाए।

लकडाउनको समयमा केही मानिस गाउँ फर्किने साधन एम्बुलेन्स बसेको छ। अत्यावश्यक सवारी भएकाले धेरै चेक पनि नहुने भएकाले मौकाको फाइदा उठाएका छन्।

'विरामी बोक्ने चिज पर्‍यो। धेरै सोधखोज गर्दा कहिले काहीँ रियल विरामी परेर केही भयो भने। हामीलाई नै अपजस आउँछ। त्यसैले पनि धेरै केरकार गर्दिनौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएको छ। निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा संचालन गर्न दिइएको छ। त्यसैले नाकादेखि सडकसम्म सवारीको चाप बढेको छ। अहिले दैनिक ३ हजार सवारी साधन उपत्यकाको नाकाबाट प्रदेश गर्ने गर्छन्। जसमा सबैभन्दा धेरै मालबाहक सवारी साधन हुन्छन्।

एम्बुलेन्सको चाप

लकडाउन सुरु भएपछि काठमाडौं भित्रिने एम्बुलेन्सको सङ्ख्यामा बृद्धि भएको छ। दोब्बरभन्दा धेरै एम्बुलेन्स उपत्यकाभित्र प्रवेश गर्ने गरेको देखिएको छ। लकडाउन सुरु हुनुभन्दाअघि फागुन महिनामा १६ सय एम्बुलेन्स काठमाडौं छिरेका थिए। चैतमा यो सङख्या १८ सय पुग्यो। वैशाखमा झनै थपिए २३ सय ११ पुगेको थियो। लकडाउनको समय धेरै अस्पताल बिरामी नभएर खाली छन्। तर एम्बुलेन्स भने धेरै दौडिएको भेटिन्छ।

यस अवधिमा २५ हजार ५९ वटा अन्य सवारी साधन काठमाडौं छिरेका हुन्। असार १ गते १ सय ११४, दुई गते १ सय १८ वटा, तीन गते १ सय २६ वटा, चार गते १ सय ११ वटा, पाँच गते १ सय ९ वटा, ६ गते ९६ वटा, सात गते १ सय ४५ एम्बुलेन्स भित्रिएका हुन्।

लकडाउनको समयमा एम्बुलेन्समा हतियारदेखि लागूऔषध समेत ‍ओसार पसारमा प्रयोग भएको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell