
काठमाडौं : स्थायी कमिटी बैठक अघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्।
अहिले बालुवाटारमा प्रधानमन्त्री समेत रहेका ओली र प्रचण्डबीच छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईँले जानकारी दिए। ओली र प्रचण्डबीच मंगलवार पनि छलफल भएको थियो।
स्थायी कमिटी बैठक ११ बजेदेखि बस्दैछ। ठोस रुपमा बैठकको ऐजेण्डा तय भइनसकेकाले दुई अध्यक्षबीच सोहि बिषयमा छलफल भइरहेको स्रोतले बतायो। बैठकमा नेकपामा विवादित एमसीसी लगायत समसामयिक विषयमा छलफल हुने भनिए पनि के के विषयमा छलफल हुने भन्ने तय भइसकेको छैन।
नेकपा स्थायी कमिटी ६ महिनामा बस्न लागेको हो। नेकपा विधानमा बैठक ३ महिनामा बस्नुपर्ने व्यवस्था छ। यसअघिको बैठक पुसको पहिलो साता बसेको थियो। त्यसयता स्थायी कमिटीका २० सदस्यहरुले हस्ताक्षर सहित बैठकको माग गरे पनि दुई पटक बैठक बोलाएर स्थगित भएको थियो। वैशाख २५ र ३१ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर बस्न सकेन।
नेकपा कार्यदलले एमसीसीबारे बनाएको प्रतिवेदनबारे छलफल हुन सकेको छैन। सो प्रतिवेदनमाथि छलफल हुनेपर्ने नेताहरुले बताउँदै आएका छन्।