PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, गोष्ठी, तालिम र प्रशासनिक खर्च कटौती



पहिलोपोस्ट

काठमाडौँ महानगरले ल्यायो १६ अर्ब ४२ करोडको बजेट, गोष्ठी, तालिम र प्रशासनिक खर्च कटौती

काठमाडौं: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजारको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले सो रकम बराबरको बजेट नगरसभाको सातौँ अधिवेशनमा प्रस्तुत गरेकी हुन्।

उनले प्रस्तुत गरेको बजेटमा आर्थिक बिकास क्षेत्रका लागि १७ करोड २३ लाख बिनियोजन गरिएको छ। यो कुल बजेटको १ दशमलम ५ प्रतिशत हो। त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रको लागि १ अर्ब ७८ करोड २७ लाख ५० हजार बिनियोजन गरेको छ। यो कुल बजेटको १० दशमलब ८५ प्रतिशत हो।

काठमाडौँ महानगरपालिकाले पूर्वाधार बिकास क्षेत्रका लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजारको बजेट बिनियोजन गरेको छ। यो कुल बजेटको ५१ दशमलब ३४ प्रतिशत हो।

सामाजिक बिकास क्षेत्रका लागि २ अर्ब ४९ करोड ९८ लाख बजेट बिनियोजन गरेको छ। जुन कुल बजेटको १५ दशमलब २२ प्रतिशत हो। त्यसैगरी सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि रु ९६ करोड ३० लाख बजेट बिनियोजन गरेको छ।

जुन कुल बजेटको ५ दशमलब ८६ प्रतिशत हो। शसर्त अनुदान तर्फ २ अर्ब ५७ करोड ५१ लाख ५ हजार बिनियोजन गरेको छ। जुन कुल बजेटको १५ दशमलब ६८ प्रतिशत हो।

काठमाडौं महानगरपालिकाको आर्थिक बर्ष २०७७–०७८ का लागि रु १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ। जसमध्ये अन्तरिक श्रोतबाट कुल रु ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरेको छ। यो कुल आम्दानीको ४१ प्रतिशत हो। त्यसैगरी बाह्य श्रोततर्फ निशर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, शसर्त अनुदान बाट रु २ अर्ब ५७ करोड ५१ लाख ५ हजार, सामाजिक सुरक्षा भत्ता बापत रु १ अर्ब २० करोड, जग्गा एकीकरण बाट ९६ करोड ८ लाख २६ हजार गरी कुल रु ६ अर्ब १६ करोड ८ लाख २६ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ। जुन कूल आम्दानीको ३७ दशमलब ५० प्रतिशत हो। कुल आम्दानीमा नपुग हुने रकम रु ३ अर्ब ५० करोड बैंक मौज्दातबाट व्यहोर्ने महानगरपालिकाले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ। यो कूल आम्दानीको २१ दशमलब ३० प्रतिशत हो।

महानगरपालिकाको आम्दानी प्रक्षेपण

आन्तरिक स्रोतबाट महानगरपालिकाले ६ अर्ब ७६ करोड ६५ लाख आन्दानी गर्ने लक्ष्य लिएको छ। जस अन्तर्गत प्रमुख स्रोतका रुपमा रहेको बहाल करबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ भने सम्पत्ति करबाट ८० करोड उठाउने लक्ष्य लिएको छ। त्यसैगरी व्यवसाय करबाट ४० करोड, विज्ञापन करबाट ६ करोड असुली गर्ने लक्ष्य पनि महानगरपालिकाले लिएको छ भने शुल्क आयबाट १ अर्ब ५० करोड असुल गर्ने लक्ष्य लिएको छ। कवाडी करलगायतबाट पनि महानगरपालिकाले आम्दानी गर्ने लक्ष्य लिएको छ। महानगरपालिकाले आन्तरिक स्रोतबाट कुल बजेटको ४१ दशमलब १९ प्रतिशत असुल गर्ने लक्ष्य लिएको छ।

कोभिड–१९ न्युनिकरण प्राथमिकतामा

कोभिड–१९ असर, त्यसको रोकथाम र यसबाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरणका लागि विशेष कार्यक्रमहरु बजेट विनियोजनमा उल्लेख गरिएको छ।

महानगरका लागि बिशेष महत्व मानिने योजनाहरु काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको निर्माण, भर्टिकल पार्किंग भवन निर्माण, पर्यटन पदमार्ग बिकास, कोटेश्वर तीनकुनेमा बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा करिडोर निर्माण, शहरी यातायात ब्यबस्थापन जस्ता कार्यक्रमहरुलाई बजेटमा प्राथमिकतामा राखिएको छ।

सम्वृद्धिका लागि सहकारी अभियान, एकीकृत शिप बिकास कार्यक्रम, मेड इन काठमाडौँ, जीबन निर्वाहका लागी पारिश्रमिक कार्यक्रम, हप अन हप अफ बस संचालन, प्रबिधीमैत्री सिटि लाइब्रेरी, महानगर महिला सहजिकरण केन्द्र स्थापना तथा संचालन, युवासंग मेयर कार्यक्रम र वडा–वडामा मेलमिलाप शिबिर संचालन जस्ता महत्वपूर्ण कार्यक्रमहरुका लागि पनि महानगरपालिकाले बजेट बिनियोजन गरेको छ।

गोष्ठी र तालिमको बजेट कटौती

त्यसैगरी काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक बर्षमा सम्पदा संरक्षण तथा सम्बर्दन र पूर्वाधार बिकासलाई महत्व दिई बजेट बिनियोजन गरेको छ। गोष्ठी, तालिम, सम्मेलन र अन्य प्रशासनिक खर्चमा केही बजेट कटौती गरेको छ। ‘महानगरबाट संचालित बिकास कार्यक्रमको सुनिश्चितताको लागि सुत्रमा आधारित बजेट प्रणाली, महानगरपालिकाको प्रशासनिक सुधार, मितव्ययिता र पारदर्शितापूर्ण कार्य प्रणाली, भ्रष्टाचारमा शून्य सहनशिलता जस्ता पारित नीति तथा कार्यक्रमहरुले महानगरले निर्धारित गरेका लक्ष्य हासिल हुने बिश्वास लिएका छौँ,’ बजेट प्रस्तुत गर्दै उपप्रमुख हरिप्रभा खड्की श्रेष्ठले भनिन्, ‘हामीबाट संचालित बिकासका गतिबिधीहरुले समयमा नै लक्ष्य हासिल गरी जनअपेक्षा पुरा गर्न हामी जनप्रतिनिधी, सम्बद्ध कर्मचारी सबैको उच्च निष्ठा, प्रतिबद्धता र सकारात्मक सोच आवश्यक छ भन्ने कुरामा कुनै शंका छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell