PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेकपाको स्थायी कमिटी : सरकारको काम प्रचार नभएको ओलीको गुनासो, आलोपालोको सहमति छाड्दा प्रचण्डलाई पछुतो



कुञ्जरमणि भट्टराई

नेकपाको स्थायी कमिटी : सरकारको काम प्रचार नभएको ओलीको गुनासो, आलोपालोको सहमति छाड्दा प्रचण्डलाई पछुतो
फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकको पहिलो दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा सरकार प्रमुखसमेत रहेका ओलीले सरकारले राम्रो काम गरिरहेको दावी गरेका थिए। सरकारले राम्रो काम गरिरहेको भए पनि पार्टी भित्रबाटै प्रचार नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

'सरकारले राम्रो काम गरिरहेको छ। पार्टीभित्र बाटै ती कामको प्रचार भइरहेको छैन,' ओलीले भनेका थिए।

बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी बैठकमा पार्टी र सरकारका सकारात्मक र कमजोरी पक्षमा छलफल गर्न अपिल गरेका थिए।

'अहिलेको समग्र परिस्थितिमा पार्टी, सरकारका सकारात्मक र कमजोर पाटाहरुमा समीक्षा गरौं। बैठकले सकारात्मक सन्देश दिने गरी स्वस्थ, आलोचनात्मक, जिम्मेवारीपूर्वक छलफलअघि बढऔं भन्नुभयो, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै श्रेष्ठले भने।

ओलीले सरकारले राम्रो काम गरेको दावी गर्दा अध्यक्ष प्रचण्डले सरकारले काम गरिरहे पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका थिए।

'सरकारले काम गरिरहेको त छ। राम्रो कामको त म समर्थन गर्छु। सरकारले गर्नुपर्ने काम धेरै छन्। तर, जनअपेक्षा अनुसार काम हुन सकेको छैन,' प्रचण्डको भनाइ उद्धत एक स्थायी कमिटी सदस्यले भने।

बैठकमा प्रचण्डले पार्टी एकताका बेला भएको आलोपालो प्रधानमन्त्रीको सहमति राम्रैका लागि आफूले त्यागे पनि त्यसले परिणाम दिन नसेको गुनासो गरेका थिए।

'पार्टी एकताका बेला आलोपालो सहमति भएको थियो। जुन राम्रो होस् भनेरै छोडिएको हो। यसले झन अन्तरविरोध चर्कायो। त्यसपछि हामी एकजुट भएर जानुपर्थ्यो। पार्टी फूटको अवस्थामा समेत पुग्यो। त्यसले राम्रो परिणाम दिन सकेन। आलोपालो सहमति छोडेपछिको नियत राम्रो देखिएन भन्नुभयो अध्यक्ष कमरेडले,' ती सदस्यले भने। पार्टी एकीकरणका बेला दुई अध्यक्षबीच साढे दुई वर्षमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो। गत मंसिर ४ गते बसेको सचिवालय बैठकबाट ओली नै पाँच वर्ष प्रधानमन्त्री बन्ने र प्रचण्डले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो।

यता प्रवक्ता श्रेष्ठले भने प्रचण्डले कम्युनिस्ट आन्दोलन, देशको परिस्थितिलगायतका बारेमा गम्भीर छलफल गर्न आग्रह गरेको बताए। बैठकमा ओली र प्रचण्ड कमकमजोरी सुधार गर्दै आत्मालोचना गर्दै अघि बढ्नुपर्ने बताएका थिए।

थप गृहकार्यका लागि एक दिनको समय

अर्को बैठक १२ गतेका लागि बोलाइएको छ। अध्यक्षद्वयले सहमतिका लागि थप गृहकार्यका लागि समय मागेको एक सदस्यले बताए।

'सहमति गरेरै अघि बढ्नुपर्छ। पार्टी फुटबाट जोगाएर यहाँ ल्याएका छौं। हामी थप गृहकार्य गर्छौं। मिलेरै अघि बढ्नुपर्छ भनेर अध्यक्षहरुले बैठक पर्सीका लागि बोलाइएको हो, ती नेताले भने। नेकपाले लामो समयदेखि विवादित एमसीसीलगायतका ७ बुँदे एजेन्डा स्वीकृत गरेको छ। उक्त एजेन्डाहरु सहमति जुटाउन एकदिन ग्याप गरिएको उनले बताए। 

यस्ता छन् बैठकका सात ‍एजेन्डा

१. वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको सम्बोधन।

२. कोभिड - १९ को नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा।

३.  नेपालको सीमा समस्या र समाधान सम्बन्धमा।

४. सरकारको कामको समग्र समीक्षा सम्बन्धमा।

५. पार्टी कामको समीक्षा र सांगठानिक एकतको बाँकी कामहरू सम्पन्न गर्ने सम्बन्धमा।

६. एममसीसीका सम्बन्धमा।

७. विविध।

क) रूकुम घटना

ख) नागरिकता विधेयक र

ग) संघीय संसदका सदस्यहरूको भत्ता।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell