
काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुनातिलकाबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार भएको भेटमा दुई देशको सम्बन्ध, साझेदारी र सहकार्य लगायतका विषयमा कुराकानी भएको हो।
भेटमा अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त भएकोमा शुभकामना व्यक्त गरे।
'नेपाल र श्रीलंकाबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ,' उनले भने, 'नेपाल र श्रीलंकाबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देशबीच हुने उच्च स्तरीय भ्रमणले थप सहयोग पुर्या,उने र यसमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको छु।'
गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केही महिनाभित्र सम्पन्न हुन लागेकोले अब श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरु सिधै गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने बताए।
अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्यटकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पनि दर्शन गर्ने कार्यमा श्रीलंकेली नागरिकहरुलाई उत्प्रेरित गर्न महामहिमको कार्यकालमा महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गरे।
त्यसैगरी, राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलंकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताइन्।
दुई देशको सम्बन्ध सांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएको र आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो।
दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक कार्य अघि बढाउने बताए। राजदूत अरुनातिलकाले लुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकहरुलाई उत्प्रेरित गर्ने कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।