PahiloPost

Jan 9, 2025 | २५ पुष २०८१

वीरगंज महानगरको बजेट ३ अर्ब ८६ करोड : पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य प्राथमिकतामा



राधेश्याम पटेल

वीरगंज महानगरको बजेट ३ अर्ब ८६ करोड : पूर्वाधार विकास, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

वीरगंज : वीरगंज महानगरको सातौँ नगरसभा बुधवारदेखि वीरगंजमा शुरु भएको छ। नगर सभागृहमा सामाजिक दुरी कायम गरी शुरु भएको सभामा आगामी वर्ष २०७७/०७८ का लागि ३ अर्ब ८६ करोड ५१ लाख ९० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ।

महानगरकी उपमेयर शान्ति कार्कीद्वारा प्रस्तुत बजेटमा चालुतर्फ कुल बजेटको ४२.०९ प्रतिशत अर्थात १ अर्ब ६२ करोड ६९ लाख १८ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ कुल बजेटको ५६.२६ प्रतिशत अर्थात २ अर्ब १७ करोड ४६ लाख ७२ हजार विनियोजन गरिएको छ।

कुल बजेटको ६ करोड ३६ लाख वित्तीय व्यवस्था तर्फ, आर्थिक विकास क्षेत्रमा २५ करोड ९५ लाख २५ हजार, सामाजिक विकास क्षेत्रमा ८७ करोड ७७ लाख ३६ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ७७ करोड ६ लाख १२ हजार, सुशासन तथा अन्तर सम्बन्ध (वन, वातावरण तथा विपद्)तर्फ २३ करोड ७५ लाख १६ हजार र कार्यालयतर्फ ७१ करोड ९८ लाख १ हजार विनियोजन गरिएको छ।

महानगरमा सञ्चालित मुख्य योजनाहरु आरयूडीपी तथा एसटीआइयूईआईपीतर्फ १ अर्ब ४ करोड ४७ लाख, वडा स्तरीय योजनातर्फ २४ करोड ७० लाख, म्याचिङ फन्डतर्फ १६ करोड ७७ लाख २५ हजार, लक्षित कार्यक्रम २ करोड ३४ लाख, तराई मधेस समृद्धि कार्यक्रमतर्फ ३० लाख, सडक बोर्ड कार्यक्रम तर्फ १ करोड, रोजगार कार्यक्रम ४० लाख, पोषणतर्फ २० लाख, सामाजिक सुरक्षातर्फ ४५ करोड, भवन निर्माणतर्फ ३ करोड, उज्यालो कार्यक्रमतर्फ १२ करोड ३१ लाख रमक विनियोजन गरिएको छ।

यसैगरी, शैक्षिक विकास कार्यक्रमतर्फ ६२ करोड ६४ लाख, स्वास्थ्यतर्फ १४ करोड ६८ लाख, कृषितर्फ ८३ लाख, पशु सेवातर्फ ४३ लाख र जनसहभागितामा अधारित कार्यक्रममा ३ करोड बजेटको व्यवस्था मिलाइएको छ। अनुमानित कुल बजेटको खर्चमध्ये संघीय सरकारको वित्तीय समानिकरण तर्फ ४२ करोड ८८ लाख, राजश्व बाँडफाडतर्फ २१ करोड १२ लाख, सशर्त अनुदानतर्फ ७५ करोड १६ लाख, प्रदेश २ सरकारबाट पाइने अनुदानमा वित्तीय समानीकरण तर्फ १ करोड १६ लाख, सशर्त अनुदानतर्फ ३ करोड, राजस्व बाडफाँड ३ करोड १४ लाख, घर जग्गा रजिस्ट्रेसनतर्फ १५ करोड, नगर विकास अनुदान तर्फ १ अर्ब ३ करोड ५६ लाख, नगर विकास ऋणतर्फ ९१ लाख, सडक बोर्ड तर्फ १ करोड, यूनिसेफतर्फ ४५ लाख रकम प्राप्त हुने अनुमान गरेको छ।

त्यसैगरी, नगद मौज्दाततर्फ ३० करोड १८ लाख, आन्तरिक आयतर्फ ५९ करोड ७५ लाख अनुमान गरेको छ। चालू आव २०७६/०७७ को लागि आन्तरिक स्रोतबाट ४८ करोड ६६ लाख असुल्ने अनुमान गरिएकोमा लकडाउन र कोरोना महामारीले ५४.८७ प्रतिशत अर्थात २६ करोड ७० लाख मात्र असुल भएको छ भने असारमा २२ करोड असुल्ने लक्ष्य राखिए तापनि ५ करोडका हाराहारीमा संकलन हुने सम्भावना छ।

आगामी आवको बजेट हेर्दा विगत दुई वर्षदेखि वीरगंज महानगरको बजेट ओरोलो लाग्दै गएको देखिन्छ। यसअघि चालु आवमा ४ अर्ब ४८ करोड १३ लाख बजेट विनियोजन भएको थियो। अघिल्लो २०७५/०७६ मा ५ अर्ब ९ करोड २७ लाखको जम्बो बजेट आएको थियो। जसमा आन्तरिक स्रोतबाट उठाउने राजश्व निकै उच्च भएको चौतर्फी विरोध भएपछि महानगरले राजश्वको दरलाई घटाएको थियो।

यी योजनाहरु छन् प्राथमिकतामा

महानगरले आगामी वर्षमा ठाकुरराम बहुमुखी क्याम्पसलाई विश्व विद्यालय बनाउन तथा वीरगंजमा इन्जिनियरिङ तथा प्राविधिक कलेजको स्थापना गर्न प्रकृया अघि बढाउने, घना बस्ती भित्रको वीरगंज कारागारलाई स्थानान्तरण गर्ने, श्रीसिया पुलको निर्माणको लागि डीपीआर तयार गर्न श्रीसिया रिभर फन्ड आयोजना सञ्चालन गर्ने, अन्तर्राष्ट्रिय नगरसभा गृह निर्माण, व्यापारिक प्रदर्शन केन्द्र निर्माणलाई प्राथमिकतामा राखेको छ।

त्यस्तै, परवानीपुरमा कृषि मण्डीको स्थापना, अतिविपन्न गरिब तथा दलितको लागि आवास निर्माण, महानगरको लालपर्सामा रहेको सार्वजनिक जग्गामा ट्रान्सपोर्ट नगर निर्माण, वीरगंज-पथलैया औद्योगिक करिडोरको स्थापनाको लागि संघ तथा प्रदेश सरकारसँग पहल गर्ने, नगवामा माइधिया पोखरी सौन्दर्यकरण तथा अकाशे पुल निर्माण गरी दोस्रो बाइपास सडक सञ्चालनमा ल्याउने, वडा नम्बर ३२ चोर्नीको रामबनदेखि भेडहा खोलासम्म पिकनिक स्पट मनोरञ्जन पार्क निर्माण गर्ने योजना पनि महानगरको प्राथमिकतामा राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell