
इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि फराकिलो जित निकालेको छ। एनफिल्डमा भएको खेलमा क्रिस्टल प्यालेसलाई ४-० को फराकिलो अन्तरले हराउँदै लिग उपाधि नजिक पुगेको हो।
खेलमा हाबि भएको घरेलु टोलीले खेलको २३ औं मिनेटमै ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको गोलमा अग्रता बनाएको थियो। त्यस्तै फ्याबिनोको पासमा मोहम्मद सलाहले खेलको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा लिभरपुल २-० ले अगाडि रह्यो।
दोस्रो हाफमा फ्याबिनोले गोल थपे। उनले खेलको ५५ औं मिनेटमा गोल गर्दा ६९ मिनेटमा साडियो मानेले लिभरपुलका लागि अर्को गोल थपे। र लिभरपुलले खेलमा ४-० को फराकिलो जित निकाल्यो।
अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आजराति हुने चेल्सीसँगको खेलमा पराजित भए लिभरपुलले स्वत: लिग उपाधि जित्नेछ। अन्यथा उपाधिका लागि लिभरपुललाई थप एक जितको आवश्यकता छ।
अंकतालिकामा ८६ अंकसहित लिभरपुल शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २३ अंक पछाडि छ। अर्थात सिटीको अंकतालिकामा ६३ अंक छ। त्यस्तै लिभरपुलसँग पराजय भोगेको क्रिस्टल प्यालेस ४२ अंकसहित ९ औं स्थानमा छ।