PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कतार एयरवेजले डेढ सय नेपालीलाई निःशुल्क ल्याउँदै, पहिलोपटक नेपालमा ड्रिमलाइनर सेवा



वसन्तराज उप्रेती

कतार एयरवेजले डेढ सय नेपालीलाई निःशुल्क ल्याउँदै, पहिलोपटक नेपालमा ड्रिमलाइनर सेवा

काठमाडौं : कतारको ध्वजावाहक वायुसेवा कम्पनी कतार एयरवेजले बिहीवार बोइङ-७८७ ’ड्रिमलाइनर’मार्फत एक सय ५५ जना नेपाली नागरिक लिएर दोहा-काठमाडौँ उडान गर्ने भएको छ।

पहिलो पटक नेपालमा ड्रिमलाइनरमार्फत दुईतर्फी चार्टर उडान गर्न लागेको यो वायुसेवा कम्पनीले नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि ड्रिमलाइनर नै प्रयोग गर्ने योजना रहेको जनाएको छ।

‘यो कम्पनीले सार्क मुलुकभर हालसम्म दिल्लीमा मात्र ड्रिमलाइनर प्रयोग गर्दै आएको छ। नेपालमा अनुमति पाएको अवस्थामा सार्क मुलुकभर कम्पनीको ड्रिमलाइनर दुई वटा मुलुकमा सञ्चालनमा आउनेछ,' नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भने।    

बिहीवार दिउँसो २:०० बजे दोहा-काठमाडौं अवतरण हुन लागेको यो जहाजमा एक सय ५५ जना नेपाली नागरिक निःशुल्क आउन लागेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले जानकारी दिए। ‘यो जहाज दोहाबाट खाली आउन लागेको थियो। अहिले सरकारले विदेशमा रहेका नेपालीलाई विदेश फर्काइरहेको अवस्थामा कतार सरकारको पहलमा एक सय ५५ नेपालीलाई निःशुल्क ल्याइदिन लागेको जनाइएको छ’, प्रवक्ता क्षेत्रीले भने।

दिउँसो ३:३० बजे काठमाडौँ-दोहा उडान हुने यो जहाजमा अमेरिकी मुलुकमा लामो समयदेखि बसोबास गर्दै आएका दुई सय ५० नेपाली फर्कनेछन्।  

गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग रिह्याविलीटेसन भइसकेपछि यस किसिमको जहाज अवतरण गर्न सकिने प्राधिकरणले जनाएको छ। बोइङ ७८७-८०० सिरिजका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सहजै अवतरण हुन सक्ने प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell