PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संक्रमित बढ्दै, खाली हुँदै क्वारेन्टाइन: दैनिक औसत ४७८ विना परीक्षण घर पठाउँदा समुदायमा संक्रमण फैलिने जोखिम



विधुर ढकाल

संक्रमित बढ्दै, खाली हुँदै क्वारेन्टाइन: दैनिक औसत ४७८ विना परीक्षण घर पठाउँदा समुदायमा संक्रमण फैलिने जोखिम

काठमाडौं : माघ ९  नेपालमा पहिलोपटक कोभिड-१९ को संक्रमण एक व्यक्तिमा पुष्टि भयो। पहिलो केस देखिएको चार महिनामा नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ।

पछिल्लो दुई सातादेखि संक्रमितको संख्या दैनिक औसतमा ४३५ ले बढिरहेको छ। पछिल्लो दुई साताको तथ्यांक हेर्दा नेपालमा दैनिक औसतमा पाँच हजार ७६३ जनाको थ्रोट स्वाब आरटी-पीसीआर पद्धतिद्वारा गरिँदै आएको छ।

यो तथ्यांक हेर्दा परीक्षण गरिएकामध्ये ७.५५ प्रतिशतमा दैनिक संक्रमण पुष्टि हुँदै आएको छ।

संक्रमण बढ्दै जाँदा पछिल्लो दुई सातामा ६ हजार ११४ संक्रमित थपिएका छन्। जेठ २९ गते संक्रमितको कुल संक्रमित संख्या चार हजार ६१४ रहेकोमा असार १० गतेसम्म आइपुग्दा संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ। अर्थत १३२.५ प्रतिशतले बढेको छ।

 

तीन सातामा संक्रमण लेभल २ देखि लेभल ४ मा

पछिल्लो तीन सातामा नेपालको संक्रमणको लेभल २ देखि ४ मा उकालो लागेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको 'स्वास्थ्य क्षेत्र आपतकालिन प्रतिक्रिया योजना: कोभिड-१९ पान्डेमिक' अनुसार नेपालको स्वास्थ्य क्षेत्रको विद्यमान स्रोतको उपलब्धता र स्वास्थ्य प्रणाली व्यवस्थापन क्षमताका आधारमा चार तहमा संक्रमणको अवस्थालाई विभाजन गरेको थियो। पहिलो तहमा दुई हजारसम्म संक्रमित जसमध्ये ८० प्रतिशतलाई अस्पतलाको आइसोलेसन १५ प्रतिशतलाई अक्सिजन सपोर्ट र ५ प्रतिशतलाई सघन उपचार सेवा आवश्यक पर्ने जनाइएको छ।

सोही योजनाअनुसार दोस्रो तहमा दुई हजारदेखि ५ हजार संक्रमित हुने र तेस्रो तहमा ५ हजारदेखि १० हजार र चौथो तहमा १० हजारभन्दा माथि संक्रमित हुने गरी सो योजनामा वर्गीकरण गरिएको छ।

सो वर्गीकरणको आधारमा चौथो तहमा पुगेसँगै योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागू गर्न सक्ने बाटो खुलेको छ।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ।

यसअघि नै संक्रमणको दोस्रो तहमा प्रवेश गर्दा नै स्वास्थ्य मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट स्वास्थ्य आपतकाल घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। तर यससम्बन्धी निर्णय भने भएको छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल त्यस्तो आपतकाल घोषण गर्ने तयारी नभएको बताए।

'अहिले आपतकाल घोषणाको कुनै तयारी छैन। अहिले देखा परेका संक्रमितहरु क्वारेन्टाइनमा रहेका हुन्,' उनले पहिलोपोस्टसँग भने, 'आपतकाल तत्कालका लागि रोकिएको छ।' प्रवक्ता डाक्टर गौतमले संक्रमितहरुमा लक्षण पनि नदेखिएको र अवस्था गम्भीर नभएको बताए।

संक्रमण बढ्दै क्वारेन्टाइन खाली हुँदै

पछिल्लो २ सातामा संक्रमणको दर बढ्दै गएको छ भने क्वारेन्टाइनहरु भने खाली हुँदै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार जेठ २७ क्वारेन्टाइनमा एक लाख ७२ हजार २६६ जना भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरु थिए। यो संख्या असार १० गतेसम्म आइपुग्दा १८ हजार ६३९ पुगेको छ। २७ गतेदेखि यता ९३ हजार ६२७ जना क्वारेन्टाइनबाट घर फर्किएका छन्। दैनिक औसतमा क्वारेन्टाइन छाड्नेको संख्या ६ हजार २४२ हो।

कोरोना भाइरसको संक्रमण रोक्न चैत १० गतेदेखि लागु भएको लकडाउन खुकुलो बन्दै गएको छ। अव्यवस्थित क्वारेन्टाइनमा मानिसहरु परीक्षण अभावमा लामो समय पर्खाइमै विताए। कतिपय क्वारेन्टाइनबाट भागेका पनि थिए। केही क्वारेन्टाइनमै परीक्षणको पर्खाइमा वा रिपोर्टको पर्खाइमै ज्यान गुमाए।

सरकारले पीसीआर परीक्षणको दायर बढाउने बताइरहेको छ। हाल औसतमा दैनिक पाँच हजार ७६४ जनाको पीसीआर परीक्षण भएको छ। एकातिर परीक्षणको दायरा बढ्न सकेको छैन भने दायरालाई साँघुरो बनाउँदै क्वारेन्टाइनमा बसेकालाई १४ दिन पछि आरडीटी परीक्षण गरेरै घर फर्काइएको छ। अर्कोतिर संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर लक्षण नभएकालाई पुन: परीक्षण नगरी घर पठाइएको छ।

हाल दैनिक परीक्षण गरिएकाभन्दा क्वारेन्टाइनबाट घर फर्किने बढी छन्। औसतमा हाल दैनिक ४७८ क्वारेन्टाइनमा रहेका व्यक्तिहरु परीक्षण विना नै घर फर्किएको तथ्यांकले देखाउँछ।

स्वास्थ्य मन्त्रालयले जेठ २० गते स्वीकृत गरेको नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९ ले क्वारेन्टाइनमा रहेकाहरूलाई पीसीआर परीक्षणको दायराभन्दा बाहिर राखेको छ। गाइडलाइनको परीक्षण मापदण्डको ५ औं बुँदामा क्वारेन्टाइन र होल्डिङ सेन्टरमा रहेका व्यक्तिको परीक्षणसम्बन्धी व्यवस्था छ। जसमा लक्षण नभएका व्यक्तिहरुलाई क्वारेन्टाइन गाइडलाइन बमोजिम छाड्न सकिने र परीक्षण गर्न आवश्यक नरहेको उल्लेख छ। 'तर, हाललाई क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको १४ दिनपछि आरडीटी परीक्षण गरिने छ,' गाइडलाइनमा भनिएको छ।

गाइडलाइनमा लक्षण देखिएका सबैको परीक्षण आरटी पीसीआरबाट गरिने उल्लेख छ। नेपालमा हालसम्म पुष्टि भएकाहरु मध्ये अधिकांश लक्षण विनाका संक्रमितहरु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बताउँछन्। संक्रमित देशको 'ट्राभल हिस्ट्री' भएकाहरु संक्रमणको जोखिममा रहेका व्यक्तिहरु भएको स्वास्थ्य मन्त्रालयको निर्देशिकामै उल्लेख छ। जोखिम पूर्ण समूहका यिनै व्यक्तिलाई लक्षण नदेखिएकै आधारमा परीक्षण विना नै समुदायमा पठाउँदा संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढ्दै गएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell