बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल वेचारा' प्रदर्शन मिति तोकिएको छ। फिल्म निर्माण युनिटले डिज्नी प्लस हटस्टारमार्फत् आउँदो जुलाई २४ देखि रिलिज गराउने भएको हो।
सुशान्तले छायाँकन पूरा गरेको यो अन्तिम फिल्म हो। उनले गत साता मात्रै मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरे। यसअघि उनी फिल्म 'छिचोरे'मा देखिएका थिए।
मुकेश छाब्रा निर्देशित 'दिल वेचारा' हलिउड फिल्म 'द फल्ट इन आवर स्टार्स'को रिमेक हो। फिल्ममा सुशान्तसँगै सञ्जना सांघीको केन्द्रिय भूमिका रहनेछ।
डिज्नी प्लस हटस्टारले इन्स्टाग्राममार्फत् फिल्मको डिजिटल रिलिज बारे जानकारी गराएको हो। फिल्मको पोस्टर सेयर गर्दै लेखिको छ, 'एउटा प्रेम र आशाको कथा। यो फिल्म स्वर्गीय सुशान्त सिंह राजपुतको सम्झना पनि हुनेछ। सधैंका लागि।'
सुशान्तका लागि श्रद्धञ्जली स्वरुप फिल्म प्ल्याटफर्म सब्सक्राइब गर्ने र सब्सक्राइब नगर्ने सबैका लागि उपलब्ध हुने समेत जनाइएको छ।