PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

वन्यजन्तु अपराधका मुख्य अभियुक्त १५ वर्षपछि सिआईबीद्वारा पक्राउ, इन्टरपोलको सर्वाधिक खोजी सूचीमा थिए



पहिलोपोस्ट

वन्यजन्तु अपराधका मुख्य अभियुक्त १५ वर्षपछि सिआईबीद्वारा पक्राउ, इन्टरपोलको सर्वाधिक खोजी सूचीमा थिए

काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई १५ वर्षपछि पक्राउ गरेको छ।

२०६२ साल भदौमा रसुवामा वन्यजन्तुको तस्करीमा संलग्न भई फरार रहेका मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६ वौद्ध बस्ने ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई बिहीवार कामपा ६ सिमलटारबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार तामाङको ५ जनाको समूह २०६२ साल भदौ १६ गते रसुवा (साविकको स्याफ्रु गाविस ९) मा पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको हड्डी ११३ केजी र आखेटोपहारसहित समातिएको थियो। तामाङ भने सुरुदेखि नै फरार थिए। पाँच जनाले भने दोषी ठहर भई कैद भुक्तान गरी सकेका छन्।

वन्यजन्तु सम्बन्धी विभिन्न अपराधमा संलग्न मुख्य अभियुक्त तामाङ सिआईबीसहित इन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा रहेका थिए।

तामाङलाई आवश्यक कारवाहीको लागि आजै लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवामा बुझाइएको ब्यूरोले जनाएको छ।

तामाङविरुद्ध राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बिरुद्धको अपराधमा मुद्दा चलाइने छ। ऐनको दफा २६ (१) अनुसार पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell