
कैलाली : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा मतदान गरे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सांसद नारदमुनी रानालाई जनकारबाही गर्ने चेतावनी दिएको छ।
कैलालीको अत्तरियामा रहेको मन्त्री भट्टको घरमा र देउवाको धनगढीस्थित घरमा पठाएको पत्रमा एमसीसीको पक्षमा मतदान गरे जनताबाट बहिष्कार देखि जनकारबाही गर्ने चेतावनी दिइएको छ।
नेपाल कम्युनिस्ट पार्टी कैलालीको छाप रहेको पत्रमा एमसीसी जस्तो पेचिलो विषयमा कैलालीबाट प्रतिनिधित्व गर्ने भट्ट र पूर्व प्रधानमन्त्री देउवाले यसको विपक्षमा मतदान गर्ने अपेक्षा कैलालीबासीहरूले लिएको उल्लेख छ।
‘राष्ट्रियता सम्बन्धी जनताको म्यान्डेटको कदर गर्दै सदनमा एमसीसी परियोजना सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नुहुनेछ भन्ने अपेक्षा आम राष्ट्र प्रेमी कैलालीबासीहरूको रहेको छ’ पत्रमा भनिएको छ, ‘यदि नेपाली जनताको राष्ट्रभक्तिको भावना, आवाज र अपिल विपरीत तपाईँद्वारा उक्त राष्ट्रघाती प्रस्तावको पक्षमा मतदान गरिएको खण्डमा जनस्तरबाट बहिष्कारदेखि जनकारबाहीको सामना गर्न तपाईँ तयार रहनुहुनेछ भन्ने कुरा पनि अवगत गराउन चाहन्छौँ।’