काठमाडौः नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लागुऔषध कारोबारमा संलग्न भएको खुलेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले बुधवार काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ पुरानो सिनामंगलस्थित पेप्सीकोलामा रहेको सन्तोषकुमार शाहको कोठाबाट लागुऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेपछि प्रहरीको संलग्नता खुलेको हो।
बुधवार ब्युरोको टोलीले उदयपुर, त्रियुगा नगरपालिका वडा नम्बर ११ बोक्से घर भएका ३६ वर्षीय एलिसन बस्नेत, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ घर भएका ४३ वर्षीय सन्तोषकुमार शाह, काठमाडौँ महानगरपालिका वडा नम्बर १ नारायणचौर नक्साल बस्ने ४८ वर्षीय भुपेश शेरचन र काठमाडौँ महानगरपालिका वडा नम्बर ३० ज्ञानेश्वर बस्ने ४८ वर्षीय अभिनास थपलियालाई लागुऔषध कारोबारको योजना बनाई रहेको अवस्था नियन्त्रणमा लिएको थियो।
उनीहरूको साथबाट प्रहरीले ठुलो मात्रमा लागुऔषधसमेत बरामद गरेको थियो। त्यसपछि उनीहरूको बयानमा बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थायी घर भएका प्रहरी निरीक्षक रुद्रबहादुर शाही समेतको संलग्नता रहेको खुलेको थियो।
महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत शाहीलाई ब्युरोको टोलीले बिहीबार काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ स्थित आलोकनगर मिनभवनबाट नियन्त्रणमा लियो।
इन्स्पेक्टर शाहीको साथबाट विभिन्न लागुऔषधसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।