PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै, फेरि खोजियो ९३ करोडको हिसाब



एम बम

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षीको अवरोध कायमै, फेरि खोजियो ९३ करोडको हिसाब

कैलाली : गत बुधवार कोरोना नियन्त्रण र रोकथाममा खर्चेको ९३ करोडको हिसाब माग गरेर सदन अवरुद्ध पारेका सुदूरपश्चि प्रदेश सभाका प्रतिपक्षी दलले आज पनि बैठक अवरुद्ध पारेका छन्। बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाले उठेर विरोध जनाएका थिए।

सभामुख अर्जुनबहादुर थापाले एक जनालाई बोल्न समय दिएपछि जसपाका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले ९३ करोडको हिसाब सार्बजनिक नगरेसम्म बैठक चल्न नदिने बताए।

‘प्रदेश सभा गठन भएको ढाइ बर्षको अवधिमा सांसदहरुको भूमिका निकै राम्रो रहँदा रहँदै पनि सरकारका मन्त्रीहरुको भूमिका असफल देखिएको छ,’ उनले भने, ‘सरकार चौतर्फी रुपमा असफल भइसकेको छ। पछिल्लो समय कोरोना परीक्षण यसको रोकथाम तथा नियन्त्रणमा सरकारको भूमिका ज्वलन्त उदाहरण हो। सरकारले निर्णय गरेको २ महिना बित्दा पनि एउटा पीसीआर मेसिनसमेत भित्र्याउन नसक्नु दुखःद बिषय हो। सरकारले ९३ करोड कहाँ खर्च गर्‍यो त्यसको हिसाबकिताब चाहियो, अन्यथा सदन चल्नेवाला छैन।’

साथै उनले योजना बाँड्ने क्रममा जनतालाई ठग्ने र लुट्ने काम भएको भन्दै भ्रष्टाचारलाई सघाउने गरी सरकारले मनोमानी योजना अघि सारेको भन्दै आक्रोश पोखे। ‘योजना बाँडफाँडमा जनतालाई ठग्ने र लुट्ने काम भएको छ सभामुख महोदय।’ उनले भने, ‘त्यसैले यो सरकारको औचित्य समाप्त भइसकेको छ।’

योजना छनौंटका क्रममा मन्त्री भन्दा मन्त्रीका स्वकीय सचिवले दादागिरी देखाएर सांसदहरुको अपमान गरेको उनको आरोप छ। 

अर्को बैठक आइतबार ३ बजे बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell